इन्दु थारु।
आफ्नो ज्यानै र सर्वस्व दिएर गरिएको थरुहट थारुवान आन्दोलन आज कता हरायो? थारुहरुको कठिन संघर्षले के थारुहरुको माग मुद्दा सम्बोधन भयो? या सम्बोधन गर्नमा अलिकति पनि सहयोग पुग्यो? थारुका माग मुद्दा सम्बोधन नभई आज थारुहरु फेरि किन विखण्डित भएका छन्? कमसे कम आफ्ना माग पूरा गराउनका लागि किन थारुहरु एक हुन सक्दैनन् या एक हुनका लागि के कुराले रोकेको छ? यस्तो परिस्थिति किन सिर्जना हुन्छ? आफ्ना हक अधिकारका लागि थारुहरुलाई एकै थलोमा ल्याउने प्रयास किन कहीँ कतैबाट भएको पाइँदैन? हुन त यस्ता गम्भिर प्रश्नहरु तेर्स्याउन कसलाई फुर्सद छ र!
थारु तिमी किन यति सोझो भएको? तिमी साँच्चै सोझो हो कि अरु सबैले सोझो भनि भनिकन तिमीलाई झन् सोझो हुन बाध्य बनाइदिएको हो? तिम्रो हदैको सोझोपनाले कहिले त मलाई आक्रोसले आफै भस्म हुन्छु झैँ बनाउँछ। कहिले विश्वास लाग्दैन कि के तिमी त्यही थारु हो जसको आन्दोलनले टीकापुर विष्फोट भएको थियो। आफ्नो त्यस्तो साहस प्रदर्शन गरेर, माओवादीको जनयुद्ध लडाइँ लडेर, आफ्नो पहिचानका लागि जे पनि गर्न सक्छु भन्ने दरिलो विश्वास रहेको थारु आज यति निरिह भएको देख्दा लाग्छ, थारु तिमीलाई कमैया कमलरी बनाउन कुनै गाह्रो थिएन शोसकलाई। हिजोका दिनमा अशिक्षित सोझा इमान्दार थारुहरु मालिकका घरमा कमैया बस्न बाध्य बनाइए भने शिक्षित भनिएका आजका थारुहरुलाई राजनीतिक कमैया बस्न बाध्य बनाइँदैछन् वा पदमा लिप्त केही थारुहरु रहरले कमैया बस्न चाहन्छन्। शंका गर्ने ठाउँहरु धेरै छन्।
दश वर्षेे जनयुद्ध, थारुहरुको २०६४–६५ को आन्दोलन र २०७२ को आन्दोलनले थारुहरुमा राम्रै खालको राजनीतिक चेतनाको विकास गरेको छ भन्ने आँकलन अहिलेको स्थानीय तहको चुनावी माहोलले गलत साबित गर्दैछ। यद्यपि सही र गलतको फैसला चुनावपछिको नतिजाले फेरि पनि गर्ने नै छ। चुनाव एउटा प्रणालीमा हुने कुरा हो, तर यहाँ प्रणालीभन्दा पनि दलीय स्वार्थका लागि गरिने चुनावमा जान थारुवान थरुहटका लागि जे पनि गर्न सक्छौ भन्नेहरु किन गए? अहिलेको प्रस्तावित ७ वटा प्रदेशमा चरम असन्तुष्टि जनाउने थारुहरु यही ७ वटा प्रदेशलाई नै संस्थागत गराउने चुनावमा फेरि किन रमाएरै भाग लिए? अर्काको झण्डामुनि नाच्ने थारुहरुलाई यी सब सोच्न कहाँ फुर्सद हुनु।
विज्ञानले भन्छ मानव तातो रगत भएको प्राणी हो। तर थारुहरु किन चिसै? चाहे थारुमाथि जतिसुकै ज्यादती किन नहोस् थारु चुसम्म बोल्न सक्दैन। चाहे उच्शृंखल जत्थाले जीवनभर कमाएको सम्पत्ति स्वाहा किन नबनाउन् फेरि पनि थारु चुप बस्छ। थारुका घर पसल व्यवसायमा आगो लगाउँदा किन थारुहरुको रगत उम्लिदैन। अहँ थारुको रगत उही फ्रिजमा राखिएझैँ चिसोको चिसै। कहीँ थारु चिसो रगत भएको प्राणी त होइन? धेरै क्षतिको थोरै क्षतिपूर्ति दिएर तिमीलाई फकाउन खोजिँदैछ, सदैव सचेत रहनु। थारुका घर जलाउनेलाई कानुन बमोजिमको कारवाही नभएसम्म चैनको सास कुनै पनि थारुले नफेरे हुन्छ। कतै थारुका घर केही जत्थाले जलाउने र त्यसको क्षतिपुर्ति सरकारले दिँदै जाने तर दोषीको खोजी नहुने न कुनै कारबाही हुने ट्रेन्ड नबसोस।
इतिहास प्रमाण छ, यसमा कुनै दुईमत छैन कि थारुहरु तराईका आदिबासी हुन्। पश्चिम तराईको उद्गम स्थल मानिने दाङमा बसाइसराइ गरिआएका गैर थारुहरुको शोसन सहन नसकी दाङ छारा (छाडी) गरी बुरहान बाँके, बर्दिया, कैलाली, कन्चनपुरतिर बसाइ सरेको, मानिसलाई दण्ड दिनका लागि कालापानीको नामले परिचित त्यस ठाउँमा त्यहाँको मलेरिया औँलौसँग लड्दै, त्यहाँको वनजंगल फडानी गरी मानवबस्तीको सुरुवात गरेको इतिहास प्रमाण छ। तर आज त्यही थारु भूमिमा अन्तैबाट बसाइ सरिआएका अन्यले थारुहरुमाथि हैकम जमाएर शानसँग बसेका छन्। यो सब हैकमवादले तिम्रो आत्मसम्मान थोरै पनि चोट पुग्छ कि पुग्दैन थारु? कहिले त लाग्छ त्यो आत्मसम्मानको अर्थ पनि तिमीलाई थाहा छ कि छैन? सधैँभरि दास मानसिकतामा बाँचेको तिमीलाई के चोट लाग्दो हो र? लाग्थ्यो भने आफ्नै भूमिमा तिमीले कोही अर्कोलाई हैकम जमाउने अवसर कहिल्यै पनि दिँदैनथ्यो होला। कोही अर्को आफैँ हैकम जमाउन लायक भएको होइन, केवल तिम्रो कमजोरी, तिम्रो दास मानसिकता, आफैँमा भएको विखण्डनले त्यो अवसर जुराइदिएको हो। आज तिम्रै दाङमा खुमबहादुर खड्का तिम्रा मालिक छन्। बर्दियामा बामदेव गौतमले तिमीमाथि हैकम जमाएर बसेका छन्। कैलाली कञ्चनपुरमा शेर बहादुर देउवा, भिम रावल, लेखराज भट्टहरु राजा भएर बसेका छन् र तिमीमाथि राज गरिरहेका छन्। आज पनि तिमी तिनकै गुलामि गरिरहेका हुन्छौँ। तर तिनका दासताका विरुद्ध आफ्नो जीवन अर्पण गर्ने तिम्रो आफ्नै गुमराहा थारु, राधाकृष्ण थारु, जोखन रत्गैया, मंगल चौधरीहरुको इतिहास तिमीले जोगाउन सकेनौँ।
तिम्रा लागि घातक रहेको स्थानीय चुनावमा उत्साहका साथ तिमी लाग्यौ। तर यसबाट तिम्रो समुदाय र स्वयं तिमीले के प्राप्त गर्नेछौं, कहिले सोचेका छौं। नवलपरासीदेखि कन्चनपुरसम्मको थारुवान थरुहट प्रदेशको नारा लगाएका थियौं र त्यो पूरा नभई आज तिमीलाई टुक्रा टुक्रा पारी विभाजित गरेर त्यही टुक्रालाई संस्थागत गर्नका लागि भइरहेको यो षड्यन्त्र बुझ्न सक्नु तिम्रो वसको कुरा कहाँ? या बुझेपनि केही गर्न सक्ने कुरा तिम्रो वसमा कहाँ? तिमी त राजनीतिक कमैया न हौं, तिम्रा मालिकका हो मा हो र ना मा ना मिलाउन सकने भन्दा बढीको क्षमता नभएको।
अखण्ड सुदूरपश्चिमको नाममा बनाइएको प्रदेशमा अल्पमतमा रहेका कैलाली कन्चनपुरका थारुहरु, भोलि गौरालाई त्यस प्रदेशको प्रमुख पर्व भनि घोषणा गर्दा पश्चताप नगर्नु। तिम्रा भोलिका सन्तानले पनि तिमीसँग कुनै गुनासो राख्ने छैनन् किनभने तबसम्म तिम्रो संस्कार परम्परा भाषा संस्कृतिमाथि यति कुठाराघात भइसक्ने छ कि तिनलाई हाम्रो पनि छुट्टै भाषा संस्कृति थियो भन्ने पनि हेक्का रहने छैन। उता बर्दिया, बाँके, दाङको हालत त्योभन्दा धेरै फरह हुनेछैन भने कपिलवस्तु नवलपरासीका थारु पनि यसबाट मुक्त रहनेछैनन्। दश वर्षे युद्ध लडेर, त्यसपछिको दश वर्षसम्म पुनः पहिचानको लडाइँ लडेर पनि तिमीले आफ्नो मित्र र शत्रुको पहिचान गर्न सकेनौं। आज सुन्छु थारु विरोधीहरुका लागि ‘सखिय हो’ को तालमा तिनका लागि नाच प्रदर्शन गर्दैछौं। तिनका थारुविरोधी अभिव्यक्तिसँगै तिम्रो मादलको ताल मिलाउदैछौं। तिम्रो खेतको थोरै पनि आली मिचिए, तिमी आफ्नो गोतियारलाई शत्रु देख्न थाल्छौं। तर तिम्रो जमिन, संस्कृति, तिम्रो जिन्दगी अनि सबथोक मिच्ने तिम्रो विरोधीलाई आज पनि पहिचान गर्न नसके कहिले पहिचान गर्छौ?