हेभिवेट थारु उम्मेदवार बलदेव चौधरी भन्छन्- ‘७५ प्रतिशत मतदाता चिनजानकै’

एमालेको केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका बलदेव चौधरी आफ्नो जितप्रति निश्चिन्त छन् । कम्युनिष्टको किल्ला ठान्ने गरेको यस क्षेत्रमा अन्य पार्टीले कुनै उलटपुलट ल्याउन सक्छन, सक्दैनन् भन्ने त भविष्यले बताउनेछ । तर, उनी चुनावी दौडमा निकै सक्रिय छन् । बलदेव चौधरी एक पर्यावाची शब्द जस्तै सवैको जनजिव्रोमा झुण्डिएको छ । चाहे त्यो बुढा पाका होस्, चाहे त्यो तन्देरी किन नहोस्।

को हुन् बलदेव चौधरी ?
उदयपुर जिल्लाको साविक मोतिआर्दश गाँउ पंचायत हाल त्रियुगा नगरपालिका–११ मा २०२५ साल बैशाख १ गते जन्मेका हुन् चौधरी । उनका बुवा पनि समाजसेवी थिए । उनका बाबु भूमि सुधार समितिका सदस्य भएर काम गरेका थिए । परिवार मध्यमवर्गीय थियो । उनको बाल्यकाल सामान्यरुपमै बित्यो ।

बलदेव चौधरीले एसएलसी पास गरेलगत्तै सप्तरीको राजविराज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल फ्याक्लटीमा भर्ना भए । त्यही क्याम्पसबाट उनको औपचारिक र संगठित राजनीतिक यात्रा सुरु भयो । क्याम्पस पढ्दा पढदै उनको नजिकको दाई स्व. शुभनारायण चौधरीको प्रभावले अनेरास्ववियूप्रति आकषिर्त बने र विद्यार्थी आन्दोलनमा होमिएको बताउँछन् । कानूनका विद्यार्थी भएकाले उमेर कलिलै भए पनि उनी कम्तिमा बहुदल र निर्दलको भेद छुट्याउन सक्ने भएका थिए । उनको बालमष्तिस्क निर्दलभन्दा बहुदल ठीक हो भन्ने निक्र्यौलमा त्यतिबेलै पुगेको थियो ।

०४२ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी क्याम्पसको संगठन विभाग प्रमुख, सचिव हुँदै प्रा.क. अध्यक्षसमेत भए । त्यस समयमा अनेरास्ववियुलाई जिताउन उनले कैयौ पटक प्रहरीको फन्दामा परे, कहिले प्रहरीबाट पिटिए त कहिले प्रहरीलाई लखेटे । पढाइको हकमा उनले बीएलसम्मको अध्ययन पूरा गरेका छन् । क्याम्पसको राजनीति गर्दा एकातर्फ कुनै पनि बेला पक्राउ पर्नसक्ने र प्रहरीबाट छलिएर हिँड्नुपर्ने त्रासदी, अर्कोतर्फ अध्ययनको चिन्ताले । उनले आफूलाई तरवारको धारमा हिँडाउँदै लगे । डिग्री भर्ना भए पनि राजनीतिक व्यस्तताले गर्दा पूरा गर्न नसकेको उनी बताउँछन् ।
विद्यार्थी हुँदा बखतनै पहिलो जनआन्दोलन ०४६ मा सक्रिए भए । आन्दोलनको क्रममा पटक पटक प्रहरीको बुट र लाठी उनको टाउँकोमा बजारिए पनि उनले राजनीतिलाई व्याक गर्न सकेन फलस्वरुप उनी ०४६ सालको जनआन्दोलनको दौरानमा पक्राउ परे । पक्राउ परेपछि उनी ७ दिन प्रहरी हिरासतमा बस्नु पर्यो र अदालतको आदेशमा रिहा पनि भए । तर पनि आन्दोलनमा सहभागी हुन छोडेनन् उनले । लुकी छिपी प्रहरीलाई छलेर आन्दोलन गरि नै रहे र फलस्वरुप आन्दोलनको अगाडी सरकार जनताको अगाडी घुडा टेक्यो र पहिलो जनआन्दोलन सफल पारेरै छोडे ।

त्यसपछि पढाईको अन्तिम संगसगै अनेरास्ववियुको यात्रालाई विटमार्दै उदयपुर फर्केर पार्टीको राजनीतिमा प्रवेश गरे । ०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरे । पार्टीले ०४८ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवा संघ हाल युवा संघ नेपालको जिल्ला सदस्यको रुपमा रही काम गर्न जिम्मेबारी दिए । यसको साथ साथै वडा कमिटी, गाउँ कमिटी, नगर कमिटी संयोजक हुँदै इलाका कमिटीमा रहेर काम गरे ।

विएलसम्मको अध्ययन गरेर घर फर्केका चौधरी ल फर्मको साथै जिल्लाको राजनीतिमा सक्रिय हुन थाले । ल फर्मले गर्दा राम्रै नाम चल्यो चौधरीको । उनले नाम र दाम समेत कमाए । फलस्वरुप उनले ०५४ सालको स्थानीय निर्वाचनमा पार्टी भित्रको असन्तुष्टले गर्दा स्वतन्त्रबाट मेयरमा उम्मेदबार दिए । तर, सम्मान जनक मतले पराजित भएको बताउँछन् । पार्टी विभाजन पश्चात माले र एमालेको विचमा विभाजन हुन पुगे । त्यसपछि एकिकरण पश्चात उनी जिल्ला कमिटी सदस्य, हुँदै सचिवाय सदस्यसहित कानून विभाग प्रमुख, युवा विद्यार्थी इन्चार्ज, क्षेत्र नं. २ को क्षेत्रिय इन्चार्ज, सामाजिक सेवा विभाग प्रमुख, आर्थिक विभाग प्रमुख लगायतको विभागमा जिम्मेबारीमा रहेका काम गरेको बताउँछन् । साथ साथै ०४८ सालदेखि ४ पटकसम्म नेपाल बार एशोसियसन, उदयपुरको अध्यक्ष पदमा रही काम गरे ।

माघ १९ को शाही कदमका बेला चौधरी एमालेमा सक्रिय थिए । उदयपुरमा शाही कदमको विरुद्धको गतिविधिमा सक्रिय भएकाले गर्दा उनलाई झनै राजनीति उचाईमा पुग्न सजिलो भयो । सरकार विरोधी आन्दोलनमा खरो रुपमा उत्रिएपछि त्यसैले उनी प्रहरी–प्रशासनको आँखाको कसिंगर बन्न पुगे । कथित नगर निर्वाचनको बहिस्कारको समयमा उनलाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि राजविराज पुनरावेदन अदालतको आदेशले उनी छुटेका थिए ।

उनले जिल्ला कमिटीको साथै नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य, नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय कमिटी उपाध्यक्ष, प्रगतिशील पेशागत कानूनी व्ययवासयी संगठन जिल्ला कमिटी सदस्य समेत भएर काम गरे । यस्तै हाल उनको केन्द्रिय जिम्मेबारीमा नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रीय कमिटी महासचिव, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष र नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका छन् ।

मेयर टिकटको राज
यति लामो राजनीतिक जीवनमा चौधरी कहिल्यै लाभको पदमा पुगेनन् । पहिलो संविधान सभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट लडेका थिए, तर माओवादीका मणि खम्बुबाट थोरै मतको अन्तरले पराजित बन्न पुगे । दोस्रो संविधान सभाको चुनावमा चौधरीलाई टिकट दिने भनिएपनि पूर्वाञ्चलमा एक जना महिलालाई टिकट दिनु पर्ने अनिवार्य भएपछि मन्जुकुमारी चौधरीले टिकट पाउनु भयो, बताउँछन्।

यसपालि स्थानीय चुनावमा उठ्ने चौधरीको पूर्वयोजना नभएको बताउँछन् । एमालेको केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका चौधरीले जिल्लाको सवै गाउँपालिका र नगरपालिकामा पुगेर सूर्यध्वजा बहाक झण्डा फहराउने योजना थियो तर, प्रदेश नं.–१ प्रदेश कमिटीले उनैलाई मेयरको उम्मेदवार बनाई दिएपछि आज म मेयर पदको चुनावी मैदानमा उत्रिएको बताउँछन् । ‘मैले दौडधुप गरेर टिकट पाएको होइन, एमालेले चुनाव जसरी पनि जित्नै पर्ने पार्टीको धारणा रहेकोले केन्द्र र प्रदेशले मलाई त्रियुगा नगरपालिकाको लागि तपाईले नै उपयुक्त रहेको भन्दै टिकट थमाएपछि मैले केही भन्न सकिन’ चौधरी भन्छन् । उदयपुरमा मेयरको टिकटलाई लिएर पार्टीभित्र सामान्य विवाद भएपनि अहिले कोही पनि असन्तुष्ट नरहेको बताउँछन् । एक माना एकताका साथ एमाले जिताउने अभियानमा सबै लागेको छ ।

७५ प्रतिशत मतदाता चिनजानकै
स्थानीय चुनाव व्यक्ति–व्यक्तिबीचको मात्र नभएर पार्टी–पार्टीबीचको प्रतिस्पर्धा हो । राष्ट्रिय राजनीतिमा खेलेको नेतृत्वदायी भूमिका र अघि सारेका राष्ट्रवादी एजेन्डाले गर्दा एमाले जनताको प्यारो पार्टी बनेको छ । त्यसैले पार्टीगत भोट मेरो जितको पहिलो आधार हो ।

त्रियुगा नगरको नवनिर्माणका लागि मैले ठोस खाका र प्रतिवद्धता जनतासामु प्रस्तुत गरेको छु । यसका आधारमा पनि मलाई जनताले मत दिने विश्वास लिएको छु । राजनीतिक मात्र नभएर, कानूनी तथा सामाजिक र जनसरोकारका विषयमा प्रत्यक्ष–अप्रत्यक्ष त्रियुगा नगरपालिकाको जनतामात्र नभएर उदयपुरको जनतासंग संलग्न छु । म भोट माग्न पुग्दा ७० प्रतिशतभन्दा बढी मतदाता चिनजानकै हुन्छन् । त्यसैले मेरो व्यक्तिगत भोट जितको अर्को आधार हो ।

इतिहासलाई कोट्याउँने हो भने वामपन्थिहरुले यहाँ जितेका उदाहरण छ । त्यसैले आफ्नो जित सुनिश्चित छ । स्थानीय निकायको अघिल्लो चुनावमा एमालेबाट लालशेर राईले शानदार जित हासिल गरेको यहीँ नगरपालिका हो । विगतको संसदीय चुनावमा लक्ष्मी नारायण चौधरी, सुरेश कुमार कार्कीले जित्नु भएकै हो । पहिलो संविधानसभाको निर्वाचनमा प्राविधिक कमजोरीले म थोरै मतले पछि परे तर दोस्रो संविधानसभा चुनावमा एमालेबाट मन्जुकुमारी चौधरीले जितेकै हो । त्यसैले गर्दा त्रियुगाको लाल किल्ला कसैले हल्लाएर हल्लिने बाला छैन । तसर्थ आफ्नो जित सुनिश्चि हुने छ ।

यस्ता छन् चौधरीका चुनावी एजेन्डा
‘त्रियुगा हाम्रो सुन्दर नगर, हामी बनाउँछौं आधुनिक शहर’ भन्ने नारासहित आफ्नो चुनावी अभियान अघि बढाइरहेका छन् । यस नाराभित्र समेटिएका उनका प्रमुख एजेन्डाहरु यसप्रकार छन्।

त्रियुगा नगरपालिकाको गुरु योजना बनाई वडा नम्बर १ देखि १३ सम्मका वडालाई स्मार्ट सिटी बनाउने योजना आफ्नो रहेको चौधरी बताउँछन् । ‘म फिलिपिन्स, चीन, हंकङग, मलेसिया, सिङ्गापुर, कतार, बैङ्कक, ब्राजिल, अर्जिन्टेना, अफ्रिका लगायत देशहरुको समेत भ्रमण गरेको छु । स्मार्ट सिटी कस्तो हुनु पर्छ ? त्यस्तो मोडलहरु म संग छ ।’
विधिको शासनलाई अनुभुति दिलाउने काम तथा शान्ति सुरक्षालाई मजबुद बनाउन शहरी क्षेत्रमा सिसि क्यामेराको ब्यवस्था गरिने यो एउटा स्मार्ट सिटी परिकल्पना भित्रको पाटो हो ।

त्रियुगा नगरपालिकाको १६ नम्बर वडालाई सिमेन्ट उत्पादनको हबको रुपमा बिकास गरिने योजना रहेको छ । सिधालीमा भएको सिमेन्ट खानीले ह्वायट सिमेन्ट देखि लिएर ७ प्रकारको सिमेन्ट उत्पादन गर्न सकिन्छ । ह्वायट सिमेन्ट बेचेर नै त्रियुगाको विकास गर्न सकिन्छ । विकास बजेटको लागि केन्द्रको मुख ताकि रहनु पर्दैन् । त्रियुगा नगरपालिकाको १५ नम्बर वडा खाँबुको रानीबासलाई नगरकोटको जस्तै रुपमा बिकास गर्ने योजना आफ्नो रहेको छ । त्यहाँको वातावरण झण्डै नगरकोट संग मेल खाने भएकोले गाईघाटमा २५ सय ३ हजारको एसी रुम लिएर बस्नु भन्दा ४०–४५ मिनेटको बाटो हुँदै रानीबास पुग्न सकिन्छ । जसले गर्दा बाह्य र आन्तरिक पर्यटक समेत भित्र्याउन सकिन्छ ।

यस्तै त्रियुगा नगरपालिका– १४ साउनेलाई जलयात्रा ¥याफटिङ र पहाडी शहरको रुपमा बिकास गरिने योजना रहेको छ । बेलदोभानदेखि रौता सम्म केबलकार सञ्चालन गरिने लगायतको विकासे योजनाहरु आफुसंग रहेको छ । यस्तै वडा नम्बर १ र २ लाई सांस्कृतिक शहर, विमान स्थल निर्माणपछि आन्तरिक पर्यटन प्रर्वद्धनको क्षेत्रका रुपमा बिकास गर्ने योजना आफ्नो रहेको छ ।

त्रियुगा नगरपालिकालाई हरित नगरको रुपमा बिकास गरिने फोहोर मैला ब्यवस्थापन गर्न ल्यान्डफिड साईट खोजि गरि ब्यवस्थित गरिने, नगर भित्र रहेको नदि तथा खोलानालालाई गुरु योजना बनाई नियन्त्रण गरिने यसरी नदि नियन्त्रणपछि नदि तथा खोला किनाराको बाँधहरुमा सोलार जडान गरी १२० मेघावाट सम्म बिद्युत उत्पादन गरि उदयपुरलाई लोड सेडिङ्ग मुक्त जिल्ला घोषणा गरिने योजना आफ्नो रहेको छ ।

जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाको रुपमा दिदै आएको भत्तामा बृद्धि गरि मासिक ५ हजार रुपैया पु¥याउने योजना आफ्नो पार्टीको रहेको छ । गरिब तथा विपन्न दलित परिवारहरुलाई जनता आवास कार्यक्रम मार्फत १ हजार घर परिवारलाई घर बनाएर हस्तान्तर गरिने योजना समेत रहेको बताउँछन् । नगर क्षेत्र भित्रका युवाहरुलाई स्वारोजगार मुलक कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिए ।

धरान– चतरा– गाईघाट– नेपालटार– सिन्धुली– हेटौडा सम्मको लोकमार्गलाई २४ घण्टा यातायात सञ्चालन गर्ने योजना, त्रियुगा नगरपालिका– ११ नम्बरको मुख्य बजारलाई २४ घण्टा खुल्ने शहरको रुपमा विकास गरिने योजना समेत रहेको बताउँछन् ।

पशुपालनको ब्यवसायिकरण गरिने जसमा स्वच्छ मासुको उत्पादन गरि गोठ देखि ओठ सम्मको योजना बनाउने, वनलाई जनताको धनको रुपमा विकास गरि त्यसको संरक्षण र उपयोगको निति बनाउने योजना रहेको स्वास्थ्य क्षेत्रमा सबै नगरबासीको ३÷३ महिना स्वास्थ्य परिक्षण गरिने ब्यवस्था मिलाउने एक घर एक रोजगारको ब्यवस्था गरिने जानकारी दिए ।

शिक्षाको क्षेत्रमा सबै वडा तहमा माध्यामिक विद्यालय पुर्याउने र गाईघाट बजारमा रहेको बरुवा क्याम्पसलाई स्नाकोत्तर तहको बनाउने र त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडालाई विश्व विद्यालय बनाउने योजना रहेको बताए ।
अन्त्यमा उनले भने, ‘म त्रियुगा नगरपालिकामा कुनै नयाँ नाम होइन । परिचित मान्छे हुँ । राजनीतिक र सामाजिक क्षेत्रमा त्रियुगाको मात्रै होइन उदयपुरवासीको समेत सेवा गरेको छु । मलाई निर्वाचित गर्नुस, धोका दिन्न । म समृद्ध, आधुनिकस्तरको शहर तपाईंहरुलाई दिनेछु ।’

प्रस्तुती सुखिलाल चौधरी

Leave a Reply

Your email address will not be published.