थारु पत्रकार संघको कार्यक्रममा ओनसरी घर्ति मगर

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन, शान्ति र विकास अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताएकी छन्। सौडियारस्थित सिसहनियामा थारु पत्रकार सङ्घले आज आयोजना गरेको आफ्नो छैठौँ वार्षिक उत्सव तथा माघी मिलन कार्यक्रममा उनले संविधान कार्यान्वयन, शान्ति र विकासको मार्गमा उत्साहित भएर अघि बढ्न सबैमा आग्रह गरिन्।

सभामुख घर्तीले संविधान कार्यान्वयनमा सहजता ल्याउनका लागि असन्तुष्टको मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँदै अहिले संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसमा सबैको सहयोग अपरिहार्य रहेको बताए।

सभामुख घर्तीले अब मुलुक आर्थिक समृद्धितर्फ लाग्ने बताइन्। दाङको विजौरी–६ स्थित असहाय बालविकास केन्द्र नेपालको कार्यालय भवन उद्घाटन गर्दै उनले अहिले राजनीतिक तहमा केही मत मतान्तर भए पनि नयाँ संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताइन्।

सभामुख घर्तीले संविधानको कार्यान्वयनसँगै राजनीतिक अन्यौलता पनि अन्त हुने र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै संविधानले आम नागरिकको जीवनयापनको अधिकार सुनिश्चित गरेकाले अब कोही पनि भोकभोकै मर्नु पर्ने अवस्था आउँदैन भनिन्।

मानवीय सेवा सबैभन्दा उच्च कार्य भएको उल्लेख गर्दै उनले असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासका लागि स्थापना गरिएको असहाय बालविकास केन्द्र आफ्नो लक्ष्यमा पुग्न सकोस् भनी शुभकामना व्यक्त गरिन्।

असहाय बालविकास केन्द्र नेपालका अध्यक्ष विष्णु चौधरीले आफ्ना लागि बाँच्नुभन्दा पनि अरुका लागि बाँच्दा आउने आनन्दले नै आफूले असहाय बालवालिकाको विकासका लागि जनस्तरबाट सहयोग लिई यो भवन निर्माण गरिएको बताइन्।

Leave a Reply

Your email address will not be published.