थरुहट/थारुवान पक्षधरले टीकापुर घटना राजनीतिक भएको दाबी गर्दै यसलाई राजनीतिकरूपमै सम्बोधन गर्नुपर्ने माग गरेको छ। सोमबार साँझ धनगढीनजिकै केही पत्रकारमाझ वितरित प्रेस विज्ञप्तिमा टीकापुरको घटनालाई राजनीतिक रूप दिँदै भनिएको छ, ‘यो राजनीतिक घटना भएकाले राजनीतिक रुपमै समाधान गर्न माग गर्दर्छौं।’
थरुहट/थारुवान प्रदर्शन क्रममा भदौ ७ गते उच्च प्रहरी अधिकृतलगायत ८ जना सुरक्षाकर्मी र एक नबालकको आततायी किसिमले हत्या भएको आरोप लागिरहेको अवस्थामा आन्दोलनरत पक्षले राजनीतिक रुप दिन माग गरेको हो।
‘टीकापुर आन्दोलनक्रममा प्रहरी–प्रशासनले अनायसै गोली प्रहार गरेपछि भएको झडप र त्यसको प्रतिफलस्वरुप भएको दुःखद् घटनाप्रति हामी स्तब्ध छौं,’ विज्ञप्तिमा भनिएको छ। टीकापुर घटनामा १८ महिने बालकको अत्याधुनिक गोलीबाट मृत्यु भएको दाबी गरिएको छ। आन्दोलनकारीले बालक मारेको आरोप निराधार रहेको भन्दै त्यसको छानबिन गर्न आग्रह गरिएको छ।
टीकापुरमा थारु समुदायमाथि प्रहरी–प्रशासनको आडमा केही उच्छृंखल तत्वले तोडफोड र आगजनी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरी–प्रशासनको आडमा अखण्डपक्षले थारु समुदायसँग सम्बन्धित संस्था र व्यक्ति गरी १६ स्थानमा आक्रमण, आगजनी र तोडफोड गरेको दाबी गरिएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक लाहुराम चौधरी र राना थारु संयुक्त संघर्ष समितिका संयोजक मालमती राना थारुले हस्ताक्षर गरेको विज्ञप्तिमा राज्यलाई असहयोग अभियान चलाउने, थरुहट/थारुवान भित्तेलेखनलाई निरन्तरता दिने, मसाल जुलुस प्रदर्शन गर्नेलगायत नयाँ कार्यक्रम घोषणा गरिएको छ।