अस्पताल परिसरमै गोली चल्यो, ३ घाइते

brj jhadap (1)

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ । चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

अस्पताल हाताभित्रै गोली चलेर मानिसहरु घाइते भएपछि वातावरण आतंकित भएको छ । अस्पतालका चिकित्सक, कर्मचारीहरु आक्रोशित भएका छन् ।

यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जस्थित कर कार्यालयमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका थिए । कर कार्यालयमा आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

वीरगञ्ज विहानैदेखि अशान्त
वीरगञ्ज विहानैदेखि अशान्त छ । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै आएका छन् । कर्फ्यू उलंघन गर्दै आन्दोलनकारीहरुले पिपरा, मुरली, गण्डक, नगवा लगायतका स्थानमा विहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले मंगलबार विहान गोली चलाउँदा वीरगञ्जको गण्डकमा एक बालक घाइते भएका छन् ।

नेपालको प्रमुख व्यापारिक नगर वीरगञ्ज सोमबार पनि दिनभर तनावग्रस्त भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.