बुलन्द विद्या

Bidha Balanएजेन्सी- अभिनेत्री विद्या बालनले बलिउडमा अभिनेत्रीको परम्परागत छवि (हिरोको वरिपरि रिङिरहने सुन्दर युवती) लाई  चुनौतीमात्र दिइनन्, यसलाई भत्काइ नै दिइन्। पुरुषप्रधान बलिउडमा ‘हिरोलाई छायामा पार्ने हिरोइन’को परिचय बनाइन् र पद्मश्रीजस्तो भारत सरकारले प्रदान गर्ने चौथो ठूलो नागरिक सम्मानबाट विभूषित भइन्।
विद्याले पद्मश्री पाउने घोषणा हुनुअगावै बलिउडका हस्तीहरूले उनलाई तारिफको चुलीमा चढाइसकेका थिए। बंगाली फिल्मबाट फिल्मी दुनियाँमा प्रवेश गरेकी उनी सन् २००५ मा फिल्म ‘परिणिता’बाट बलिउडमा उदाइन्। ‘परिणिता’बाट नयाँ अभिनेत्रीलाई दिइने फिल्मफेयर अवार्डका लागि मनोनीत भएकी थिइन् उनी।
‘सलाम–ए–इश्क’, ‘एकलव्य’, ‘हे बेबी’, ‘भुलभुलैया’जस्ता हल्काफुल्का फिल्मदेखि ‘किस्मत कनेक्सन’जस्तो ताई न तुईको फिल्ममा काम गरेर मसालादार ‘हिरोइन’हरूको भीडमा हराउन लागेकी विद्याले सन् २००९ देखि आफ्नो अभिनयको धारलाई पूरै बदलेकी थिइन्। अमिताभ बच्चनको आमा भएर उनले अभिनय गरेको फिल्म ‘पा’ले उनको करिअरलाई पूरै बदलिदियो। त्यसयता उनले ‘इस्किया’, ‘नो वान किल जेसिका’, ‘द डर्टी पिक्चर्स’, ‘कहानी’, ‘बम्बई टाकिज’, ‘घनचक्कर’जस्तो फिल्म समीक्षकहरूले मुक्तकण्ठले तारिफ गरेका फिल्ममा ‘लिडिङ’ रोल गरेर आफूलाई समकालीन अभिनेत्रीमा अब्बल साबित गरिन्। कतिसम्म भने उनको अभिनयबाट नसिरुद्दिन शाहजस्ता बलिउडका हस्तीसमेत प्रभावित भए। ‘इस्किया’ र ‘द डर्टी पिक्चर्स’मा विद्याले आफ्नो पात्रलाई नसिरुद्दिनको भन्दा कमजोर बन्न दिइनन्।
मुम्बई विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर विद्याले अहिलेसम्म एउटा नेसनल फिल्म अवार्ड, पाँच वटा फिल्म फेयर अवार्ड र पाँच वटा स्त्रि्कन अवार्ड पाइसकेकी छिन्। विद्याको करिअरलाई माथि उठाउने मुख्य फिल्म हुन्– ‘इस्किया’, ‘द डर्टी पिक्चर्स’ र ‘कहानी’। पद्मश्री पाएपछि उनी नसिरुद्दिन शाह, आमिर खान, ऐश्वर्या राय, इरफान खान, अमिताभ बच्चनजस्ता पद्मश्री पाएका बलिउडका उम्दा कलाकारका पंक्तिमा दरिन पुगेकी छिन्।
‘द डर्टी पिक्चर्स’मा विद्यासँग काम गरेका नसिरुद्दिनले उनलाई ‘जोखिम लिन सक्ने विलक्षण अभिनेत्री’ भनेका थिए। ‘आमिर खान नराम्रा कलाकार होइनन्’ भन्ने नसिरुद्दिनले विद्याको तारिफ गर्दै भनेका थिए, ‘अब विद्याका लागि नारीकेन्द्रित फिल्मको स्क्रिप्ट लेख्ने बेला भएको छ। उनीबाहेक अरूले यस्तो स्त्रि्कप्टलाई न्याय गर्नै सक्दैनन्।’
‘द डर्टी पिक्चर्स’ रिलिज भएपछि धेरैले विद्यालाई आमिर खानसँग तुलना गरेका थिए। फिल्म ‘कहानी’ हेरेपछि निर्देशक अनुराग कश्यपले विद्यालाई आमिरको उत्तराधिकारी घोषणा गरिदिएका थिए। फिल्मको स्त्रि्कप्ट छनोट गर्ने र पात्रमा आफूलाई चुर्लुम्म डुबाउने कला विद्याले आमिरबाट सापटी लिएको चर्चा सर्वत्र चलेको थियो। विद्या स्वयम्ले ‘आमिरको धेरै कुराबाट आफू प्रभावित भएको’ बताउँदै घुमाउरो पाराले आमिरसँग काम गर्ने इच्छा सार्वजनिक रूपमै व्यक्त गरेकी थिइन्। आफूसँग विद्याको तुलना हुन थालेपछि आमिरले विद्यालाई ‘प्रतिभावान् र अद्वितीय अभिनेत्री’ भन्दै उनलाई आफूसँग तुलना नगर्न आग्रह गरेका थिए। साथै, उनले विद्यासँग काम गर्न आफू पनि इच्छुक रहेको बताएका थिए। बलिउडका यस्ता उम्दा अभिनेताबाट तारिफ बटुलिसकेकी विद्याले पद्मश्री पाएपछि भारतीय सञ्चारमाध्यमले ‘प्रतिभाको सही कदर भएको’ टिप्पणी गरेका छन्। पद्मश्री कला, साहित्य, शिक्षा, उद्योग, खेलकुद, समाजसेवा, स्वास्थ्य र सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यादउने भारतीय नागरिकलाई प्रदान गरिन्छ।
‘गद्गद् छु’
पद्मश्री पाएपछि कस्तो अनुभव भइरहेको छ?
कहिलेकाहीँ त होइन जस्तो पनि लाग्छ। सुरुमा खबर पाउँदा म मुम्बईमा फिल्म ‘बबी जासुस’को छायांकनमा व्यस्त थिएँ। टिमका सबै मिलेर हल्का ‘सेलिब्रेट’ गर्यौँा। घर फर्किएपछि परिवारसँग पनि ‘सेलिब्रेट’ गरेँ। मैले पुरस्कार पाउने थाहा पाएपछि घरका सबै भावुक भएका रहेछन्। सबै खुशी छन्, मक्ख छन्। मलाई पनि धन्य महसुस भइरहेछ। गद्गद् छु।
पद्मश्री पाउने सपना कहिल्यै देख्नुभएको थियो?
कहाँ देख्नु? फिल्म अवार्ड पाउनुअघि ‘नोमिनेसन’ प्रक्रियाबाट गुज्रनुपर्छ। यस्तोमा ‘मैले पनि अवार्ड पाउन सक्छु’ भन्ने थाहा हुन्छ। तर, यसपल्ट चकित भएँ। सबै कुरा हठात् भयो।
सरकारी अधिकारीबाट पहिलो खबर पाउनुभयो कि सञ्चारमाध्यमबाट?
उनीहरूले सबैभन्दा पहिले सिद्धार्थ (श्रीमान् सिद्धार्थ राय कपुर)लाई खबर गरेछन्। खबर पाउनसाथ सिद्धार्थले मलाई फोन गरेका रहेछन्। तर, छायांकनमा व्यस्त भएकाले उठाउनै पाइनँ। एकछिनपछि मोबाइलमा ‘मिस्ड कल’ देखेपछि फोन गरेको त उनी असाध्यै खुशी भएका रहेछन्। केही सेकेन्डसम्म त म के सुन्दै छु भन्ने मलाई अत्तोपत्तो नै भएन।
अरू कुनै अवार्ड पाउने इच्छा छ?
चिताएभन्दा ठूलो पुरस्कार मैले पाइसकेकी छु। मप्रति ईश्वरको ठूलो कृपा रहेछ। म धन्य भएकी छु। सबै सपना पूरा भएका छन्। योभन्दा बढ्ता मलाई केहीको पनि चाहना छैन।
ठूलो पार्टी दिने योजना छ कि?
‘सेलिब्रेट’ गर्ने इच्छा त छ। पार्टी चाहियो भनेर सबैले भनिरहेका पनि छन्। तर, अहिले म सुटिङमा व्यस्त छु।
(‘हिन्दुस्तान टाइम्स’बाट)

Leave a Reply

Your email address will not be published.