मिति सारेर भए पनि सार्थक चुनाव गर : लेखी

Rajkumar Lekhiकाठमाडौं- राष्ट्रिय नागरिक पार्टीले निर्वाचनको मिति केही दिन पछाडि सारेर भए पनि सार्थक चुनावको वातावरण बनाउनुपर्ने माग गरेको छ। अध्यक्ष राजकुमार लेखीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ४ को चुनावको तिथिलाई चाडपर्वको तिथिजस्तो अपरिवर्तनीय मान्न नहुने बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै लेखीले विपक्षी दलहरुको ठूलो तप्कालाई बाहिर राखेर गरिने चुनाव परिणामुखी नहुने भनेका छन्।

उनले त्यसरी गरिने चुनावले मुलुक नयाँ किसिमको द्वन्द्वमा फस्ने चेतावनी उल्लेख गरेका छन्। ‘जुन उद्देश्यका लागि चुनाव गर्न लागिएको हो सो उद्देश्य प्राप्ति नहुने चुनाव पूर्व नै निश्चित भएकाले चुनाव गर्नु कुनै हालतमा उपयुक्त हुन सक्दैन, विज्ञप्तीमा उनले लेखीले भनेका छन् ‘चार नेता नेतृत्वको प्राइभेट लिमिटेड रुपी उच्चस्तरिय राजनीतिक संयन्त्रले मंसीर ४ को चुनावको तिथिलाई चाडपर्वको तिथिजस्तो अपरिवर्तनीय बनाउन खोज्नाले सार्थक चुनावको सम्भावना टर्दै गएको स्पष्ट छ।’

प्रेस विज्ञप्ति
राष्ट्रिय नागरिक पार्टी केन्द्रीय कार्यसमितिको काठमाडौंमा बसेको वैठकले विगत साउन १८ गतेको केन्द्रीय भेलाले संविधानसभाको चुनाव बहिष्कार नगर्ने तर सहभागी पनि नहुने भनी गरेको निर्णय दूरगामी महत्वको भएको ठहर गरेको छ । संविधान सभाको चुनाव सम्पन्न गर्नका लागि खबरदारी गर्ने र संविधान निर्माण र असल राजनीतिक संस्कृति निर्माणका लागि योगदान दिने पार्टी निर्णयलाई दह्रोसँग आत्मसात गर्ने निर्णय पनि केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ ।
केन्द्रीय कार्यसमितिले गरेका मुख्य निर्णयहरु :

(१)  संविधानसभाको दोस्रो निर्वाचन सहमतिको वातावरणमा हुन गइरहेको छैन । विपक्षी दलहरुको ठूलो तप्कालाई मूलधारमा ल्याएर निर्वाचनमा सहभागी नगराउने हो भने संविधानसभाको आगामी चुनाव परिणाममुखी हुन सक्दैन भन्नेराष्ट्रिय नागरिक पार्टीको ठहर छ ।
विपक्षी दलहरुलाई निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण नबनाइ चुनाव गरिएमा मुलुक नयाँ किसिमको द्धन्द्धमा फस्न सक्छ । जुन उद्देश्यका लागि चुनाव गर्न लागिएको हो सो उद्देश्य प्राप्ति नहुने चुनाव पूर्व नै निश्चित भएको स्थितिमाचुनाव गर्नु कुनै हालतमा उपयुक्त हुन सक्दैन ।
यद्यपी राष्ट्रिय नागरिक पार्टी मुलुकका यावत समस्याको समाधान चुनावको बाटोबाट मात्र सम्भव छ भन्ने दृढ धारणा राख्दछ ।
अहिलेको सन्दर्भमा निर्वाचनको मिति केही दिन पछाडि सारेर भए पनि सार्थक चुनावको वातावरण बनाइनुपर्छ भन्ने राष्ट्रिय नागरिक पार्टीको धारणा रहेको छ। चार नेता नेतृत्वको प्राइभेट लिमिटेड रुपी उच्चस्तरिय राजनीतिक संयन्त्रले मंसीर ४ को चुनावको तिथिलाई चाडपर्वको तिथिजस्तो अपरिवर्तनीय बनाउन खोज्नाले सार्थक चुनावको सम्भावना टर्दै गएको स्पष्ट छ ।
केही दिन चुनाव पर सार्दा आकाश खस्दैन बरु निर्धारित मितिमै चुनाव गराउने ढिपी गरिरहने हो भने चाहिँ राजनीतिक आकाश खस्न सक्छ भन्ने राष्ट्रिय नागरिक पार्टीको धारणा रहेको छ ।
(२)
केन्द्रीय कार्यसमितिको बैठकले नागरिक केन्द्रीत आन्दोलनका विभिन्न कार्ययोजनाहरु पारित गरेको छ । अहिले पार्टीले निर्माण गरिरहेको युवा विद्यार्थी सेलहरुलाई व्यवस्थापन गर्ने र संगठनात्मक स्वरुप दिने कार्ययोजना केन्द्रीय कार्यसमितिले पारित गरेको छ ।
वैठकले आगामी तिहार तथा छठ पर्व लगत्तै युवा विद्यार्थीका मागहरुलाई लिएर आन्दोलन गर्ने रणनीतिक तथा संगठनात्मक योजना पनि तय गरेको छ । त्यसैगरि विद्यार्थीका अभिभावकका माग र शैक्षिक समस्यालाई लिएर रचनात्मक आन्दोलन गर्ने रणनीतिक कार्ययोजना पनि तय गरेको छ ।

राजकुमार लेखी (९८४१_४३७४००)
अध्यक्ष
राष्ट्रिय  नागरिक पार्टी

Leave a Reply

Your email address will not be published.