ठाकुर सिंह थारु/नेपालगन्ज।
कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ ।
कार्यक्षेत्रमा खटिनुअघि प्रत्येक बिहान कार्ययोजना तयार पार्नु उनको दैनिकी हो । कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्न शैक्षिक योग्यता र क्रियाशीलता चाहिन्छ । तर, यसका लागि तय गर्नुपर्ने बाटो पक्कै सजिलो हुँदैन । मायाको विगत र वर्तमानमा पनि आकाश–जमिनको फरक छ । सानैमा आमाले कमलरी बस्न पठाएकी थिइन् उनलाई, त्यति बेला दूधसमेत छुटेको थिएन । त्यसपछि किताब बोक्नुपर्ने हातमा जुठा भाँडा थमाइए । खरानीले औँला खायो ।
कैलालीको जानकी गाउँपालिका–५ अमौरीकी बासिन्दा हुन् माया । छोरीलाई कमलरी पठाउनु आमा प्यारीको बाध्यता थियो । पति बिपतरामको असामयिक निधनपछि छोराछोरीको पेट पाल्न अरू कुनै उपाय देखिनन् ।
यति धेरै संघर्ष गरेकी पूर्वकमलरी माया अहिले सरकारले यहाँ सञ्चालन गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको संयोजक भएकी छन् । उनी नेपालगन्जस्थित युनेस्को क्लबमा कार्यरत छिन ।
कमलरी बस्दाको क्षण सम्झिँदा पीडाबोध हुने गरेको माया बताउँछिन् । ‘बुबाको मृत्युपछि आमा एक्लो पर्नुभो । परिवार पाल्न सहारा भएन । त्यसपछि मलाई कमलरी पठाउनुभयो,’ आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘बुबा भइदिएको भए त्यस्तो अवस्था आउँदैनथ्यो होला ।’
सानैदेखि विद्रोही स्वभावकी थिइन् उनी । विद्यालय जाने भन्दै जिद्दी गर्थिन् । आमाले कमलरी हुँदै बालबिहानी कक्षामा भर्ना गरिदिइन् । त्यहीँबाट अक्षर चिनेको उनले बताइन् । बालबिहानी कक्षा पास गरेपछि २ कक्षामा भर्ना भइन् । कक्षा ९ मा पुग्दासम्म कमलरी बसिरहेकै थिइन् । ०६२ मा काम गरिरहेका बालबालिकाका लागि शिक्षा कार्यक्रममार्फत उनको उद्धार भयो । त्यसपछि घर फर्केर नियमित विद्यालय जान थालिन् ।
एक वर्षपछि एसएलसी परीक्षा दिइन् । दुर्भाग्य, तीन नम्बरले गणितमा फेल भइन् । ‘फेल भएपछि पढाइ छोडेर आफूजस्तै बालबालिकाको उद्धारमा जुटेँ । बाल क्लबको नेतृत्व गर्न थालेँ । उद्धार गरिएका कमलरीलाई विद्यालय भर्ना गराउन थालेँ,’ उनले सुनाइन्, ‘तर, कसैले सहयोग नगरेपछि आफैं अप्ठेरामा परियो ।’ त्यति बेला करिब डेढ सय कमलरीको उद्धार गरिएको उनी सम्झिन्छिन् । पढाइमा सहयोग नभएपछि उनीहरू धमाधम विवाह गरेर जान थाले । मायाले भने हार खाइनन् । ‘कमलरी उद्धारका लागि थुप्रै छलफलमा सहभागी भएँ ।
कम्तीमा एसएलसी पास गरे मात्रै जागिर पाइन्छ भन्ने जानकारी पाएँ । त्यसपछि छुटेको पढाइलाई निरन्तरता दिएँ,’ उनले भनिन्, ‘त्यसयता कहिल्यै फेल हुनुपरेन । स्नातकोत्तर सक्दै छु । एमफिल पढ्ने सपना छ ।’ कुनै बेला छाक टार्न अरूको घरमा काम गर्न बाध्य उनी अहिले शैक्षिक अभियन्ता बन्दै छिन् । सयौं बालबालिकाको पढाइ सुधार्न रातदिन खटिरहेकी छन् ।
कान्तिपुर दैनिकबाट