मानव अधिकार आयोगको टोलीसमक्ष एक नर्सको बयान- ‘हो, उहाँको खुट्टामा नेल बाँधिएकै हो’

शुक्रबार दिउँसो ४:१५ बजे थारु अभियन्ता इन्दु थारुले फेसबुकमार्फत् रेशम चौधरीको नेल लगाएको फोटो सार्वजनिक गर्दै प्रश्न गरिन्, ‘यो देशमा माननीयलाई बाँधेर उपचार गर्ने दिन आएको हो?’ त्यही फोटो एक घन्टामै भाइरल बन्यो। बिहीबार दिउँसो वीर अस्पताल भर्ना भएका रेशम चौधरीको फोटो २४ घन्टापछि भाइरल भएको थियो। त्यसपछि बुद्धिजीवी, पत्रकार, नेता र सर्वसाधारणले फेसबुक वालमा उक्त फोटो सेयर गर्दै सरकारको चर्को आलोचना गरे। त्यही साँझ पूर्व प्रधानमन्त्री एवं समावपादी पार्टीका संयोजक बाबुराम भट्टराई रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगे। सांसद चौधरीको खुट्टामा नेल बाँधेको देखेर भट्टराई दिक्कमात्र भएनन्, आफूले भन्ने ठाउँहरुमा फोन गरेरै यस्तो ज्यादती नगर्न आग्रह गरे।

राति १० बजे उनले फेसबुकमा स्टाटससमेत लेखे, ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण!’

उनको यो स्टाटसले सरकारको माथिल्लो निकायमै चासो हुन थाल्यो र शनिबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले रेशमलाई लगाएको नेल फुकाल्न निर्देशन दिँदै नेल ठोक्ने प्रहरीलाई कारबाही गर्न निर्देशन दिए।

फेसबुकमा रेशमो फोटो भाइरल भइसक्दा पनि चुपचाप बसेका मानवअधिकार आयोगका पदाधिकारीहरु भने प्रधानमन्त्री निर्देशनपछि वीर अस्पताल पुगेका थिए। आयोगको एक टोलीले सांसद रेशम चौधरीसँग नेल बाँधेको हो वा होइन भनी बयान लिएका थिए। त्यतिमात्र होइन, खटिएका सुरक्षाकर्मी, डाक्टर र नर्ससँग पनि उनीहरुले बयान लिएका थिए। ड्युटीमा खटिएक एक नर्सले उनीहरुसमक्षा बयान दिइन्, ‘कसम खाएर भन्छु, झुटो बोल्नु हुँदैन। उहाँको (रेशम चौधरीको) खुट्टामा नेल बाँधिएकै हो। नेल बाँधिएकै अवस्थामा हामीले उपचार गरेका हौं।,’

त्यसपछि आयोगको टोलीले केही तस्बिर लिएर फर्किएको थियो। आयोगको टोली फर्किएपछि सांसद रेशम चौधरीले थारुवान प्रतिनिधिलाई प्रश्न गरेका थिए- मैले प्रहरीका साथीहरूलाई यसो नगर्नुस्, कानुनको सम्मान गर्नुस् भनेको थिएँ । तर, उनीहरूले ‘ह्या ! ठोकिदिऊँ, यो को हो र ? जाबो कैदी त हो’ भनेर नेल लगाए । अब त प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभयो रे। मानवअधिकार आयोगको टोलीले पनि बयान लिएर जानुभयो। के जनताको प्रतिनिधिलाई नेल ठोक्नेलाई कारबाही होला?

त्यतिमात्र होइन, बन्दुकधारी सुरक्षाकर्मी क्याबिनभित्रै बस्दा आफू त्रसित हुने गरेको सांसद रेशमले बताए। ‘कानुनअनुसार बन्दुक लिएर खटिएका सुरक्षाकर्मी बाहिर बस्नुपर्ने हो। तर क्याबिनभित्रै बसिरहनुभएको छ। यसले मानसिक आघात पुगेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published.