‘मान्छेका टाउका काट्दै हिँड्ने ओलीजीको आन्दोलन हुने, थारुको आन्दोलन घटना हुने ?’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले टीकापुर घटना नभएर राजनीतिक आन्दोलन भएको जिकिर गरेका छन् । नयाँ शक्ति पार्टीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका’ अन्तरक्रिया कार्यक्रममा महतोले यस्तो तर्क गरेका हुन् ।

“टीकापुर घटना हो भने झापा आन्दोलन किन आन्दोलन हो ? त्यो पनि घटना नै होला नि,” महतोले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, “बञ्चराले मान्छेका टाउका काट्दै हिँड्ने तपाईंहरुको चाँही आन्दोलन हुने, थारुको अधिकार र पहिचानका लागि रेशम चौधरीले आन्दोलन गर्दा चाँही त्यो कसरी घटना हुने ?”

वर्तमान सरकार सीके राउतको प्रवक्ता भएको महतोको आरोप छ। “अहिलेको सरकार सीके राउतको प्रवक्ता भएको छ,” विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे महतोले भने, “प्रतिबन्धले समस्या समाधान हुँदैन ओलीजी । ज्ञानेन्द्रले दम्भकै कारण नारायणहिटी छोड्नु पेरको हो । ओलीजीको अहिलेको व्यवहार हेर्दा उहाँमा आजीवन प्रधानमन्त्रीमा बस्ने दम्भ देखिन्छ, नेपाली राजनीतिको इतिहासमा दम्भ बोकेका कुनै पनि शक्ति धेरै समय टिक्न सकेका छैनन् ।”

संविधान संशोधनमा वर्तमान सरकार कठोर रहेको भन्दै महतोले मधेसी जनताको अधिकार र पहिचानको मुद्दा अझै नटुङ्गिएको बताए । “जनताको हक, अधिकार र पहिचानको मागमा सरकारले संविधान संशोधन गर्न नचाहेर भेदभाव गर्छ,” नागरिकता ऐन संशोधनमा सरकार असंवेदनशील बनेको आरोप लगाउँदै महतोले भने, “हुँदाहुँदा अब छोरा र छोरीलाई पनि सरकारले भेदभाव गर्न थाल्यो ।”

छोरीले विदेशी ज्वाइँसँग विवाह गरे तिनका छोराछोरीले वंशज नागरिकता पाउनुपर्ने तर्क गर्दै महतोले थपे, “यसका लागि घरमा श्रीमती र छोरीहरुले आन्दोलन गर्नुपर्छ, घरको दानापानी बन्द गर्नुपर्छ ।”

महतोले नेपालमा अहिले जनताको अधिकार र पहिचानको मुद्दा नटुंगिएको अवस्थामा आन्दोलन जारी रहेकाले यस्तो अवस्थामा लगानी सम्मेलनको वातावरण नभएको बताए । ०४६, ०६२-०६३ र ०५२ देखि ०६२ सम्मको सशस्त्र जनयुद्धजस्तै टीकापुर काण्डलाई पनि राजनीतिक आँखाबाट हेर्न महतोले सुझाए ।

“टीकापुर काण्ड पहिचानको लडाइँ हो, आन्दोलन हो, घटना होइन,” महताले भने । कार्यक्रममा महतोले नेपाली कांग्रेस दम नभएको कमजोर प्रतिपक्षी भएको दाबी गरे । “एउटा दल दुई तिहाइ बहुमतका साथ सत्तामा छ, उसमा धेरै दम्भ छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दम नै नभएर हराइरहेको छ,” महतोले भने ।

Leave a Reply

Your email address will not be published.