कानुनमन्त्रीले भने- ‘लाल आयोगको प्रतिवेदन ‘यथाशिघ्र’ सार्वजनिक गर्छौं’

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले सभामुखको रुलिङसमेत नमानेको बताए । तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।

उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्‍यो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाले आरोप लगाए ।

यो सँगै राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद लगातार अवरुद्ध गरेको तेस्रो पटक हो । राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए। कानुनमन्त्री भानुभक्त ढकालले जवाफ दिने भएपछि संसद दोस्रोपटक सुरु भएको थियो। मन्त्री ढकालले लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गरिने बताए। ‘राजपाले पटक पटक संसद अवरोध गरेकाले त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ। लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्ने प्रतबद्धता ब्यक्त गर्न चाहन्छु,’ उनले भने।

Leave a Reply

Your email address will not be published.