टीकापुर घटना जनताले अनुमोदन गरिसके, रेशम चौधरीलाई जेलमुक्त गरौं : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ । यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले एकातिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको र अर्कोतिर अखण्डता र सार्वभौमसत्ता पक्षधर, प्रदेश सीमाङ्कनबारे फरक मत राख्ने टीकापुर घटनाका विद्रोहीहरूलाई हदैसम्मको दण्ड गर्ने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको ठहर गरेका हुन् ।

“टीकापुर घटनामा शिशु र केही सुरक्षाकर्मीहरूको ज्यान जानु अत्यन्त दुःखद् कुरा हुँदाहुँदै पनि यो मूलतः प्रदेश रचनाको मोडलमा विमति राख्ने उत्पीडित थारू समुदायको राजनीतिक विद्रोह थियो । रेशम चौधरी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुले त्यो विद्रोह जनअनुमोदित भएको पुष्टि हुन्छ । विगत दशकमा देशका अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरू भए । अरू घटनालाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई मात्र शुद्ध आपराधिक घटनाका रूपमा व्यवहार गर्नु बिल्कुलै असङ्गत र अन्यायपूर्ण कुरा हो,” उनले भनेका छन् । उनले सांसद रेशम चौधरीलगायत टीकापुर घटनामा जेल गएका सम्पूर्ण अपराधीलाई रिहा गर्नसमेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.