टीकापुर घटनाका आराेपीहरुलाई फागुन १५ गते अदालतमा उपस्थित हुन भनियो

काठमाडौं।

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा पक्राउ परेका राजपा सांसद रेशम चौधरी, राजपा नेता लक्ष्मण थारुसहित ५८ जनालाई अदालतमा उपस्थित हुन पत्र काटेको छ । अदालतले फागुन १५ गते पेसी तोक्दै टीकापुर घटनामा अभियुक्त बनाइ विभिन्न करागारमा राखिएका आरोपीहरुलाई उपस्थित हुन पत्र काटेको हो ।

आरोपित ५८ जनामध्ये २३ जना कैलाली जिल्ला कारागार, लक्ष्मण थारुलाई केन्द्रीय कारागार, रेशम चौधरीलाई सदर जेल र करण र श्रवण चौधरीलाई पोखरास्थित बाल सुधारगृहमा राखिएको छ ।
२०७२ भदौ ७ गते घटेको घटनामा एक बालक र ७ जना प्रहरीको ज्यान गएको थियो ।

सो सम्बन्धमा केन्द्रीय कारागारमा रहेका लक्ष्मण थारुले जिल्ला कारागार कैलाली पठाउन निवेदन दिएपनि त्यसोको सुनुवाइ भएको छैन । लक्ष्मण थारुका अनुसार केन्द्रीय कारागारले पठाउन अनुमति दिएपनि कैलालीका प्रमुख जिल्ला अधिकारी र कैलालीका जेलरले आफूलाई कैलाली नपठाउन दबाब दिएका छन् । लक्ष्मण थारुलाई कैलाली ल्याउँदा शान्ति सुरक्षा खल्बलिने भन्दै जेलरले लक्ष्मण थारुलाई नपठाउन दबाब दिएको बताइएको छ ।

‘यतिका दिन कैलाली कारागारमा रहँदा कुनै समस्या भएन । अब म जाँदा शान्ति सुरक्षा खल्बिलिन्छ रे,’ लक्ष्मणले सुनाए । उनले आफूहरुलाई जेलमै कोचिरहन प्रपञ्च रचिएको बताए ।

यता वकिल खर्च नपुगेर थारु कल्याणकारिणी सभा कैलालीले सहयोगको अपिल गरेको छ । टीकापुर घटना सम्बन्धको मुद्दामा धेरै खर्च भइसकेको अहिले रकम अभाव भइरहेकाले विभिन्न व्यक्ति संस्थासँग रकम जुटाइदिन पहल गरेको थाकस कैलालीका सभापति माधव थारुले जानकारी दिए । उनले देश तथा विदेशमा बस्नुहुने थारुहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published.