खिचरा महोत्सवको समापन, थारु संग्राहलय बनाउन प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री

चितवन- प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् ।

पूर्वी चितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को आज समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा निर्यात भन्दा आयात बढी भएकाले यसलाई रोक्न आवश्यक रहेकोब बताए । उनले कृषि प्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती भएको बताए । उनले खेतबारीलाई बाझो रहन नदिन आफैले काम गरेर आत्मनिर्भर बन्नुपर्ने बताए । आयातलाई निम्ट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने मूख्यमन्त्री पौडेलको भनाई थियो ।

यस्तै मुख्यमन्त्री पौडेलले खिचरा महोत्सव पहिचानको मात्रै महोत्सव नभएको भन्दै यसलाई समृद्ध बनाउनतर्फ अघि बढाउन पनि कोशेढुंगा सावित हुने बताए । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोबार बढाउनुको साथै प्रबर्द्धन गर्न पनि महत्वपूर्ण हुने बताए । यस्तै उनले आफ्नो संस्कृति संरक्षणमा थारु समुदाय आफैँ लाग्नुपर्ने भन्दै चितवनमा थारु संग्राहलय निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा मुख्यमन्त्री पौडेललाई थारु समुदायको स्वागत सत्कारको परम्परा मेडेठा पहराएर स्वागत गरिएको थियो । यस्तै कार्यक्रममा बोल्दै महोत्सव आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का अध्यक्ष चुडामणि चौधरीले थारु समुदायको महान् पर्व खिचरा (माघी)को अवसरमा गरिएको यो महोत्सव पहिचानसँग जोडिएकोले थारु संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताए । उनले आगामि वर्ष महोत्सवलाई अझै परस्कृत गर्दै लैजाने प्रतिवद्धता जनाउदै महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, मख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, थारु अगुवा दुखाराम चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ माघी (खिचरा) पर्वको अवसरमार पुस २८ गतेदेखि सुरु गरेको छैठौं संस्करणको खिचरा महोत्सव आज (सोमबार)बाट सकिएको हो । समापन समारोहमा मुख्य प्रायोजक, प्रायोजकलाई मायाको चिनो वितरण गरिनुको साथै सेल्फी फोटो प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा मिनि थारु गाउँ, विभिन्न व्यापारिक स्टलहरु, होटेलका स्टलहरु, बालउद्यान, दश दिनसम्म राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुती र थारु नृत्य प्रस्तुतीहरु रहेको थियो ।

पत्रकार पौडेल नगदसहित सम्मानित

चितवनका पत्रकार रमेशकुमार पौडेल छैठौं खिचरा महोत्सव २०७५ मा नगदसहित सम्मानित भएका छन् । आज (सोमबार) खिचरा महोत्सवको समापन समारोहमा पत्रकार पौडेल नगद १५ हजार १५५ रुपैयाँसहित सम्मान पत्रले सम्मानित भएका हुन् ।

खिचरा महोत्सव मूलआयोजक समितिले खिचरा महोत्सव र थारु कला संस्कृति संरक्षणमा पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । समापन समारोहका प्रमुख अतिथि प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेल र खिचरा महोत्सव आयोजक संस्था थारु कल्याणकारिणी क्षेत्र नं.७ चितवनका अध्यक्ष चुडामणी चौधरीले पत्रकार पौडेललाई नगद र सम्मान पत्रले सम्मान गरे ।

वि.सं. २०५७ सालमा चितवन पोष्ट दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेल २० वर्षदेखि छापा माध्यममा क्रियाशिल छन् । करिव ९ वर्ष चितवन पोष्ट दैनिकमा पत्रकारिता गरेका पौडेल २०६६ सालदेखि नागरिक दैनिकमा क्रियाशिल थिए । ९ वर्ष नागरिक दैनिकमा काम गरेपछि हाल उनी कान्तिपुर दैनिकमा कार्यररत छन् ।

करिब २० वर्षको पत्रकारिताको दौरानमा उनले थारुलगायत आदिवासी जनजाति समुदायको क्षेत्रमा कलम चलाउँदै आएका छन् । थारु कल्याणकारिण सभा चितवन क्षेत्र नं.७ ले महोत्सव सुरु भएदेखि नै क्रियाशिल पत्रकारहरुलाई सम्मान गर्दै आईरहेको छ ।

अन्तिम दिनमा झुमे दर्शक

पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २८ गतेदेखी सुरु भएको छैठौं खिचरा महोत्सवको आज अन्तिम दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।

प्राय महोत्सवको अन्तिम दिन दर्शकको संख्या न्यून हुने गरेपनि खिचरा महोत्सवका अन्तिम दिन दर्शकहरुको ओइरो लाग्ने गरेको छ । आज पनि महोत्सवमा हजारौं दर्शकहरुको उपस्थिति रहेको थियो । आज अन्तिम दिन भोजपुरी चर्चित गायक सुनिल पण्डित, नेपाल आईडल गोल्डेन माइक विजेता मिनराज पौडेल, स्थानीय गायकहरु र थारु साँस्कृतिक नृत्यसंगै अन्य साँस्कृतिक प्रस्तुतीहरु रहेको थियो ।

उपस्थित दर्शकहरुलाई सुनिल पण्डित र मिनराज पौडेलले झुमाएका थिए । महोत्सवमा चर्चित गायकगायिकाहरु दीपक बज्रचार्य, हेमन्त शर्मा, पशुपति शर्मा, स्वप्न सुमन, अन्जु पन्त, निश्चल बस्नेत, मनोज महतो, श्रीनिवास चौधरी, अनु चौधरीलगायत स्थानीय गायकहरुले प्रस्तुती दिएका थिए ।

Leave a Reply

Your email address will not be published.