टीकापुरबाट अर्को थरुहट आन्दोलनको उद्घोष

लखन चौधरी/धनगढी।

थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलबारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन्। आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारबाही गर्ने चेतावनी दिए।

थाकसका केन्द्रीय पार्षद एंव नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले थरुहटले उठाएको माग मुद्दाको सुनिश्चिता तथा टीकापुर घटनाका आरोपीहरुको रिहाईको लागि सशक्त आन्दोलनको विकल्प नरहेको बताए। थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजकसमेत रहेका चौधरीले भने, ‘राजबन्दीहरुको रिहाईको लागि आन्दोलनको विकल्प छँदैछैन। टीकापुर घटनालाई भर्‍याङ बनाएर सत्तामा पुगेका, मन्त्री बनेकाहरुलाई नै कारबाही गर्दै आन्दोलन अगाडि बढाउँछौं।’

विगतमा भएको थहरुट आन्दोलनको मोर्चा सम्हालेर चर्का नाराबाजी गरेको र तर हाल निष्क्रिय बसेका नेताहरु पुनः आन्दोलनमा सक्रिय नभए ‘कारबाही’ गर्ने उनको चेतावनी थियो। थाकसका अर्का केन्द्रीय पार्षद एवं पूर्व जिल्ला सभापति प्रभात कुमार चौधरीले अधिकार प्राप्तीको लागि भएको थरुहट आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको दाबी गरे।

आन्दोलनको क्रममा घटेको टीकापुर घटनाका २७ जना थारुहरुलाई विभिन्न झुठा मुद्दा लगाएर राज्यले थुनेर अन्याय गरेको उनले दोहोर्‍याए। वास्तवमै राज्यले थारु समुदायलाई नागरिकको दर्जा दिएको भए सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द लालको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पूर्वसभापति चौधरीको धारणा थियो।

त्यस्तै, थाकसका अर्का केन्द्रीय पार्षद पुरन चौधरीले कैदी बन्दीको रिहाई र थरुहट माग मुद्दाको लागि सबै स्थानीय तहमा जनजागरण अभियान लिएर गइरहेको बताउँदै आन्दोलन तार्किक निस्कर्षमा पुर्‍याउन पुनः सडक संघर्ष गर्नुपर्ने उल्लेख गरे।

थाकस कैलालीका सभापति माधव चौधरीले आन्दोलनलाई निश्कर्षमा पुर्‍याएरै विश्राम लिने दाबी गरे। जसको लागि सबै पक्षसँग समन्वय गर्दै सबै स्थानीय तहहरुमा जनजागरण अभियान सुरु गरेको उनले जानकारी दिए।

यसैबीच टीकापुर घटनाको आरोपमा जेल चलान गरिएकाहरुको परिवारजनले राज्य र आफ्नै नेताहरुप्रति आक्रोश व्यक्त गरे। घरको अभिभावक नै जेलमा परेपछि आफूहरुको बिचल्ली भएको दुखेसो पोख्दै उनीहरुले रिहाईको लागि कुनै कसर बाँकी नराख्न नेतृत्वकर्ताहरुलाई दबाब दिए। उनीहरुले वर्तमान सरकार थारुविरोधी रहेको भन्दै आक्रोशसमेत पोखे।

थारु बाहुल क्षेत्रलाई अलग्गै प्रदेश बनाइनुपर्ने भन्दै थरुहट आन्दोलन २०७२ सम्ममा उत्कर्षमा पुगेको थियो। त्यसताका अर्को विरोधी अखण्ड सुदूरपश्चिम आन्दोलन पनि उत्कर्षमा पुगेको थियो । २०७२ भदौ ७ गते १ नाबालकसहित ८ प्रहरीको टीकापुर घटनामा ज्यान गयो। त्यसको भोलिपल्ट भदौ ८ गते सयौं थारु समुदायको घर, पसल, एफएममा आगजनी भएको थियो। सोही घटनाको आरोपमा सांसद रेशम चौधरीसहित २७ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। तर हालसम्म सो मुद्दाको फैसाला हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published.