रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन

लखन चौधरी/धनगढी।

नयाँशक्ति पार्टी नेपालले बुधवार कैलालीको टीकापुरमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइ र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

टीकापुरस्थित जेसिस हलदेखि खडक चोकसम्म विरोध प्रदर्शन गरिएको थियो । खडक चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नयाँशक्ति पार्टी नेपालकी हेडक्वाटर सदस्य हिसिला यमीले मुलुकमा दण्डहीनता र अराजकता मौलाएको बताइन् । जसकारण दुईतिहाईको बलियो सरकार भएपनि निर्दोष जनताले दुःख पाइरहेको उनले बताइन् ।

नेतृ यमीले भारी बहुमतले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ नगरेर सरकारले जनमतको अपमान गरेको आरोप लगाइन् । सांसद चौधरीलाई विजयी प्रमाणपत्रसहित शपथ ग्रहण तत्काल गराउनुपर्ने पनि उनको भनाई थियो । उनले महिनौं दिनसम्ममा पनि सरकारले निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न नसक्नुले नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको बताइन् ।

कार्यक्रममा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज कृष्णकुमार चौधरीलगायतले पनि सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.