कर्णाली प्रदेशमा पहिलो थारु होमस्टे, उद्घाटन नहुँदै पर्यटकको भीड

सवि थारु। सुर्खेत।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र थारु परिकारको स्वाद लिन चाहने आन्तरिक पर्यटकहरुको संख्या बढेको हो।

करिब ४० लाख लागतमा सञ्चालनमा ल्याइएको होमस्टेको निर्माण कार्य २०७५ जेठदेखि सुरु भएको थियो । दशैंमा औपचारिक उद्घाटन गर्ने योजना रहेपनि होमस्टेको भौतिक पूर्वाधार निर्माणको काम बाकीँ रहेकाले अब थारु समुदायको ठूलो पर्व माघीमा जिल्ला स्तरीय थारु नाच प्रतियोगितासहित भव्य कार्यक्रम गरेर होमस्टेको औपचारिक उद्घाटन गरिने होमस्टे सञ्चालक समितिका सचिव जितबहादुर चौधरीले जानकारी दिए।

होमस्टेको औपचारिक उद्घाटन माघीमा गरिने भएपनि होमस्टे अवलोकन गर्न आउने पर्यटकहरुको थारु संस्कृति, परम्परा र थारु परिकारप्रतिको झुकाव देखेर आफूहरुले होमस्टेबाट खाली नपठाएको सचिव चौधरी बताए। चौधरीले भने, ‘होमस्टे बनेको छ भनेर थाहा पाएपछि दैनिक जसो कम्तीम २० देखि ३० जनाको संख्यामा आन्तरिक पर्यटकहरु होमस्टेको अवलोकन गर्न आउनुहुन्छ। यहाँ आउनुभएका पाहुनाहरुलाई हामीले थारु गाउँमा उत्पादित अन्डीको भात, अनदीको झोल, सागसब्जीकोसँगै, ढिक्री, खरिया, घोङी, लोकल कुखुराको मासु, हाँसको मासु, बंगुरको मासु, बटैंईको मासु, स्थानीय खोला, तलाउको माछा, सिद्रागायत परिकारको स्वाद चखाएर पठाएकै छौं।’

थारु जातिले खेतL गर्ने धानमध्ये अन्डीको चामल र अन्डीको जाँरको झोललाई थारु समुदायको पहिचानकोरुपमा लिइन्छ। त्यसैले होमस्टेमा आउने पाहुनाहरुलाई सगुनको रुपमा अनडीको झोल दिने तयारी गरेको सचिव चौधरीले बताए। होमस्टेमा हरेक हप्ता शनिबारको साँझमा थारु सख्या नाच, झुम्रा नाच, हुर्डुग्यां नाच, मघौटा नाचको प्रत्यक्ष अवलोकन गर्न सक्ने ब्यवस्था गरिएको छ।

करिब ६ कठ्ठा खाली जग्गामा होमस्टे सञ्चालनकालागि दुई सयजना भन्दा बढी संख्यामा अट्ने सेमिनार हल निर्माण गरिएको छ। त्यस्तै होमस्टेमा हलसंगै थप ११ वटा खाना खानका लागि क्याविन निर्माण गरिएको छ। उक्त क्याबिनको नाम पनि थारु पहिचानकै आधारमा राखिएको छ। होमस्टेको वातावरण सफा र सुन्दर राख्न होमस्टे स्थानमा बगैंचा पनि निर्माण गरिएको छ भने होमस्टेमा आउने पाहुनाहरुको सवारी पार्किङकलागि पार्किङ क्षेत्र पनि छुट्टाइएको छ।

जीतबहादुरसँगै होमस्टे सञ्चालनक लागि वीरेन्द्रनगर नगरपालिकाका बाँधु थारु, रामचन्द्र चौधरी, कुल बहादुर चौधरी, बालकुष्ण चौधरी, राजु चौधरी, अनिल चौधरी, पुर्णबहादुर चौधरी र सुरेश चौधरी गरी ९ जनाको कूल ४० लाखको संयुक्त लगानी रहेको छ। थारु संस्कृति, परम्परा, भाषा र खानपिनको प्रबद्र्धन र संरक्षणसँगै कणार्ली प्रदेशभित्र न्युन संख्यामा सुर्खेतमा मात्र बसोबास रहेको थारु समुदायलाई कणार्ली प्रदेशका अन्य पहाडी जिल्लामा चिनाउन आफूहरुले होमस्टेमा लगानी गरेको लगानीकर्ताहरको भनाई छ ।

होमस्टे सञ्चालनसँगै सुर्खेतमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अनुमान करिएको छ। रारा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमै रहेको सुर्खेतमा देउती बज्यै मन्दिर,काँक्रे विहार, बुलबुले ताल, चमेरे गुफासंगै प्रसस्तै पर्यटकीय सम्भावना बोकेका अन्य थुप्रै स्थानहरु रहेका छन्। सञ्चालनमा ल्याइएको थारु होमस्टे कणार्ली प्रदेशको राजधानी वीरेन्द्रनगरको एयरपोर्ट देखि ५०० मिटरकको दूरीमा छ । होमस्टेबाट स्थानीयहरुको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published.