अग्राशन र यसको महत्व

दिल बहादुर चौधरी।

धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको बिरुद्ध हुन्छ । धर्मबारे जानकारी लिंदालिंदै खोजी गर्दागर्दै धेरै धर्मबेत्ताहरु धर्तीलाई छाडेर गइसके, एक बनाउन सकेनन् । यतिबेला सबै धर्ममा मानवता सब भन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा अडिएको छ । धर्मको नाममा बोलेको बोली बचनले, गरिएको ब्यबहारले कसैको मन दुख्छ भने त्यो अधर्म भइहाल्छ । मुश्लिमलाई दुख पर्दा हिन्दूले नबोल्ने, हिन्दूलाई दुःख पर्दा ईशाईले नबोल्ने, ईशाईलाई दुःख पर्दा बौद्धले नबोल्ने कुरा धर्म हुन सक्तैन । मानव मानवबिचमा बिभेद गर्नु धर्म होइन, अहंकार हो, अज्ञानता प्रदर्शन हो । त्यसैले कुनै सम्प्रदायको होस्, दुःखमा परेको ब्यक्तिको लागि बोल्नु, सहयोग गर्नु, कसैलाई हेला होचो नगर्नु, दिल नदुखाउनु, मानवीय ब्यबहार गर्नु धर्म हो । सबै हिन्दू, बौद्ध, शिख, ईशाई, मुश्लिम सम्प्रदायको निचोड पनि यही हो । यही मानव धर्म हो ।

सत्य र मानवता थारुहरुको धर्म हो । गुर्बाबा थारुहरुको आदि पुरुष, सृष्टिकर्ता हुन् । थारु जति नजिक हिन्दूसँग छन्, उति नै नजिक बौद्धसँग छन् । अहिले त थारुकुलमै भगवान बुद्ध जन्मे भन्ने कुरा धेरैले पुष्ट्याई गर्दै पुस्तक पनि लेखिसकेका छन् । थारु मुश्लिमहरुका धार्मिक समारोहमा पनि पुगेकै हुन्छन् । मुहर्रममा ताजिया निकाल्दा थारुहरु सहयोग गरेकै हुन्छन् । त्यसैले प्रायः धर्मसँग थारुहरुको सम्बन्ध राम्रो छ ।
धर्म, संस्कृतिको मूलआधार हो । संस्कृति धर्ममा टेकेको हुन्छ । ब्रत र उपवासमा विश्वास गर्नु पनि थारुहरुको संस्कृति हो । पश्चिमा थारु समुदायमा ब्रत बस्दाखेरी अग्राशन छुट्याइन्छ र चेलीबेटीलाई दिने गरिन्छ । तर कतिपय गाउँमा अतवारीमा दिने अग्राशनलाई मात्रै महत्वका साथ हेर्छन्, तर सबै ब्रतको अग्राशन उत्तिकै महत्वपूर्ण हुन्छ । पूर्वका थारुहरुमा अग्राशन दिने चलन छैन । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता र बिश्वास थारु समुदायमा छ । तीर्थ गएकाहरु प्रसाद किनी ईश्वरमा चढाएर बचेका प्रसाद घर आएर जसरी ईष्टमित्र, चिनजान भएकालाई बाँडछन् । जुन प्रसादको अवमूल्यन कसैले गर्दैन, गर्नु हुँदैन, ग¥यो भने राम्रो हुँदैन भन्ने मान्यता छ । त्यसैगरी थारुहरुमा प्रायः सबै ब्रतमा अग्राशन निकाल्ने चलन छ । ब्रत उपवासमा खानु अगाडि हरेक ब्रतालु, ब्रतमा खाने सबै कुरा, एक टपरी वा भाँडोमा निकाली भगवानलाई चढाउँछन् र चढाइसकेपछि आफू खान्छन् । उनीहरु कृष्ण जन्म अष्टमीमा भगवान श्रीकृष्णको, अतवारीमा भीमको र अनत्तरमा अनन्त भगवानको ब्रत उपवास गर्दछन् । पूजा गर्ने आफ्नै तरीका छ । भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णलाई, अतवारीमा भीमलाई र अनत्तरमा भगवान अनन्तलाई चढाएको प्रसाद नै अग्राशन हो, जुन अग्राशन चेलीबेटीको घरमा मुख्य पहुराको रुपमा जान्छ, जसको अवमूल्यन गर्नु हुँदैन, अवमूल्यन गर्दा राम्रो हुँदैन भन्ने मान्यता छ ।

नेपाली शब्दकोषमा हेर्ने हो भने अग्राशनको अर्थ “खानु भन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा, देवताका लागि छुट्याइएको अगाडिको राशन भनिएको छ ।” त्यसैगरी हिन्दी शब्दकोषमा अग्राशनको अर्थ “देवता, ब्राम्हणको जीविका निर्वाह निकाला हुआ अन्न या भोजनका भाग” भनी अथ्र्याइएको छ । त्यसैले अग्राशन भनेको अग्र+राशन हो, आफू खानु अगावै देवताको लागि अगाडि राखिएको राशन हो । जसको सेवनले चेलीबेटीको कल्याण हुन्छ, मनोकामना पुरा हुन्छ, उनीहरु दीर्घायु हुन्छन् । त्यति मात्रै होइन, अग्राशनको सम्बन्ध, चेलीबेटीको आफ्नै घर र लैहर (माइती) बिचको घनिष्टता तथा दाजु–भाई, दिदी–बहिनी, फूपू–भतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसिएको हुन्छ । चेलीबेटी करोडपति किन नहोस्, माइती पक्षका आमाबाबु, दाजुभाई दिने सय पचास रुपैयाँ उनको लागि महत्वपूर्ण हुन्छ । मायामा लटपटिएको त्यो सय पचास रुपैयाँ, उनको आफ्नो करोडौं रुपैया भन्दा कम महत्वको हुँदैन । त्यसैले होला जब कृष्ण जन्माष्टमी, अतवारी, अनत्तर आउँछ, चेलीबेटीहरु माइतीको बाटो हेर्दै, कुर्दै बसेका हुन्छन् ।

कतिपय ब्यक्ति अज्ञानतावश बासी खानेकुरा भनी अग्राशनको खिल्ली उडाउने, अवमूल्यन गर्ने गर्दछन् । यस सम्बन्धमा समुदायमा घटेका केहि घटना राख्न मनासिव हुन्छ । एउटा घर थियो, जहाँ एक बाबुबाट १ दिदी र ४ भाई छोरा बस्दथे । उनीहरु ठूला भए, सबैको बिहाबारी पनि भयो । ४ भाई छोराहरुको विवाह नजिक नजिकका गाउँबाट भएको थियो । चाडपर्व आउँदा एक परिवार अर्को परिवारसँग समय समयमा भेट हुन्थ्यो । अष्टिम्की, अतवारी, अनत्तर आउँदा समयमै अग्राशन पनि आउने गर्दथ्यो । यद्यपि अग्राशनको महत्व उनीहरुलाई थाहा थिएन । समयमा नपुग्दा बासी भात आयो भनी अवमूल्यन गर्दथे । दिदीको बिहा ५ घण्टा पैदल दूरीमा थियो । अग्राशन पु¥याउन गार्हो । पहिले ३, ४ बर्षसम्म अग्राशन दिन गए, पाँचौ बर्ष गएनन् । कृष्ण जन्माष्टमीदेखि अनत्तर ब्रतसम्म पर्खिन्, अग्राशन आएन । सम्पर्कको कुनै माध्यम थिएन, यसपाली भाईहरु किन आएनन्, उनलाई थाहा भएन । असह्य भएर उनी एक दिन माइती आइन् । भाईहरुका छोराछोरी खुशी भएर फुपु आईन्, फुपू आईन् भनी कराउन थाले । तर दिदीको अनुहार मलिन थियो, आँखामा मायाको आँशु छचल्किरहेको थियो । उनी कसैसँग नबोली, अनुमति नलिई मोटरी (आफ्नो सरसामानको पोको) काखीमा च्याप्दै माइती आफ्नो पनि घर हो भन्ने हक जटाउँदै घरभित्र पसिन् । भक्कानो छोडेर रुन थालिन् । आमा बुवा के भयो ? के भयो ? भनी सोध्न थाले । सासु ससुराले गाली गरे कि ! ज्वाईंले कुटपिट गरे कि ? के भयो, छोरी भन न ! किन रोएको ! हामी छौं, भन्न थाले । भाईहरु पनि सोध्न थाले, किन रोएको दिदी ? भन न । सासु ससुराले केहि भने कि, भिनाजुले पिट्नु भयो कि ?

धेरैबेरपछि आफूलाई सम्हाल्दै रुँदै उनले प्रश्न गरिन्, यसपाली अग्राशन किन गएन ? जेठानी, देउरानीको अग्राशन पुग्यो, मेरो घरबाट किन पुगेन ? भाईहरुले भने ‘धेरैले बासी खानेकुरा दिन जान लागेको’ भनी गिज्याउने गर्दछन् । त्यसैले यसपाली दिन गइएन दिदी । दिदीले भनिन् ‘बर्षमा एक दुई पटक ब्रत बस्छौ, दिदीको घरमा बर्षको एक दिन आउन गार्हो हुन्छ है तिमीहरुलाई ! तिमीहरुलाई अग्राशनको महत्व अहिलेसम्म थाहा छैन है ! अग्रासन बासी भात होइन, भाई ! यो भगवानको प्रसाद हो, यसमा दाजु–भाई, दिदी–बहिनीको माया लुटपुटिएको हुन्छ, सम्बन्ध गाँसिएको हुन्छ, जसका ब्रत उपवास बस्छौं, उनीहरुको कृपा मिसिएको हुन्छ, अरुको लागि जस्तो होस्, मेरो लागि अग्राशन महाप्रसाद हो, यसको ग्रहणले मलाई निकै शान्ति र सन्तुष्टी मिल्छ भाई, अग्राशन नपुग्दा मलाई मनमा अशान्ति हुन्छ, के के नपुगे जस्तो भान हुन्छ, दिदी भाईबिचको निर्मल, कञ्चन, सरस मायामा अपमान र बिभेदको गन्ध महशुश हुन्छ । किन बुझ्दैनौ भाई चेलीबेटीको माया ? प्रश्नको बौछार गरिन् । अन्तमा भाईहरुले गल्ती स्वीकार गरे, आगामी बर्षमा आउने बाचा गरे, दिदी खुशी भइन् भन्ने घटना छ ।

त्यसैगरी एक गरिब घरकी छोरीको बिहा धनी घरमा भयो । बिहा अगाडि दाजु बहिनीबिच निकै प्रेम थियो । घरको गरिबीसँग दाजु, बहिनी मिलेर लड्थे । बिहा भएपछि केहि बर्षमा उनको आनीबानीमा परिबर्तन आयो । बाताबरणले पनि मान्छेमा प्रभाव पर्ने रहेछ । सीधासादा मान्छेलाई कसैले ईज्जत, सम्मान दिन चाहँदैन । शुरुका बर्षहरुमा बहिनीले दाजुहरुसँग राम्रै ब्यबहार गर्थिन् । अग्राशन दिन जाने क्रम जारी थियो । तर एक बर्ष दाजु अग्राशन दिन जाँदा बहिनीको बानी ब्यहोरा परिबर्तन भैसकेको थियो । दाजु आँगनमा पुगिरहेको बेला, बहिनी घर नजिकैको कुवाँमा थिइन् । दाजुलाई देख्दा देख्दै उनी घरभित्र पसिन् र अर्को ढोकाभित्र निस्किइन् । दाजु धेरै बेरसम्म छिरुवा (गोरु बाँध्ने, लडिया, डन्लप राख्ने घर) मा बसे । बहिनी निस्किनन् । दाजु निराश र दुःखी भए । मनमनै नआउनु पर्ने थियो, गल्ती गरियो, अब अग्राशन लिएर घर फर्किनु पनि राम्रो होइन, घरकाले के भन्लान् ? उनलाई पीर प¥यो । उनी मनमनै सोच्दै थिए, अब कसैलाई बहिनी मानेर दिदिनु पर्ला । उनी भारी (अग्राशनको भारी) उठाएको बेला छिमेकमा रहेको बहिनीको साथीले कहाँ जान लागेको दादु (दाजु) ? पानी खाएर त जानुस् भनिन् र पानी ल्याइदिइन् । सोधपुछ भलाकुसारी गरिन् । दाजुको मन पग्लियो, उनी खुशी भए । उनले भनिहाले आजदेखि तिमी मेरो बहिनी भयो, म तिमीलाई बहिनी मानें । यो अग्राशन लिएर जाऊ ।

त्यो अग्राशनले दाजु बहिनीको सम्बन्ध गाँसिदियो । दाजुले नयाँ आत्मिय बहिनी र बहिनीले दाजु पाइन् । धनी घरमा पुगेपछि, धनको घमण्ड गर्ने ज्वाईहरुको संगत र दवावले शायद बहिनी अग्राशनको महत्व नै बिर्सिन् । उनले बिर्सिन् कि धनले माया, ममता किन्न सकिन्न भन्ने कुरा । त्यसैले त उनी गरिब दाजुको बेवास्ता गरिन्, अपमान गरिन् । फलस्वरुप साक्कै बहिनीसँगको सम्बन्ध टुट्यो र पराया बहिनीसँगको सम्बन्ध कायम भयो । त्यसैले बुझ्न जरुरी छ कि ‘माया, ममता, मानवता धनले खरिद गर्न सक्ने चिज होइन ।’

त्यसैले सारमा के भनौ. भने पश्चिमा थारुहरु प्रायः बस्ने ब्रतमा, घिउ मुछिएको सल्लोको धूलोको धूप र खानेकुरा अग्निदेवमा चढाएकै हुन्छन् । फेरी पनि मूल रुपमा कृष्ण जन्म अष्टमीमा कृष्णको, अतवारीमा भीमको र अनत्तरमा अनन्त भगवानको पुजा आराधना, गर्दछन्, ब्रत बस्दछन् । त्यसैले ब्रतमा जसको पुजा, उपासना गरिन्छ, कामना गर्दै ब्रत उपवास बसिन्छ, खाने समयमा आफूले उपभोग गर्ने हरेक चिज बस्तु एक भाग, आराध्य देव (कृष्ण, भीम, अनन्त) का लागि छुट्याइन्छ, निकालिन्छ, त्यही निकालिएको, छुट्याइएको खानेकरा, त्यही प्रसाद नै अग्राशन हो । जुन अग्राशनमा भगवान÷देव (कृष्ण, भीम, अनन्त) को कृपा मिसिएको हुन्छ, दाजुभाई, आमाबुवा, परिवारका अन्य सदस्यहरुको माया लुटपुटिएको हुन्छ । जो चेलीबेटीहरुलाई उपहारको रुपमा दिने गरिन्छ । जुन चेलीबेटीहरुका लागि अति महत्वपूर्ण हुन्छ । जसलाई सामान्य खाना, खानेकुरासँग दाँज्न मिल्दैन, दाँज्नु हुँदैन । बासी खानेकुरा भनी अवमूल्यन गर्नु हँदैन, अवमूल्यन गर्नु भारी अज्ञानता हो, आस्थामाथिको घिनौना प्रहार हो ।

Leave a Reply

Your email address will not be published.