थाकसको जिल्ला अधिवेशनमा तीव्र विवाद, सप्तरीमा पनि बन्ने भयो समानन्तर कमिटी

असोज २३ र २४ गते थारु कल्याणकारिणी सभा सप्तरीको जिल्ला अधिवेशन तोकिएको थियो। सोहीअनुसार २३ गते सप्तरीको पोतामा भव्य समारोहबीच अधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भयो। २४ गते भएको बन्द सत्रमा सर्वसहमति नजुटेपछि निर्वाचन अधिकृतले भदौ २५ गते १० बजेसम्मका लागि बन्दसत्र स्थगन गरेको सूचना टास गरे। त्यसपछि कुनै बन्द सत्र गरिएन र भदौ २८ गते राजविराजबाट नयाँ कार्यसमिति घोषणा भयो। यही कुरालाई लिएर अध्यक्षका आकांक्षी राज थारुले कडा विरोध जनाएका छन्।

बन्दसत्रका कुनै प्रतगि विवरण प्रस्तुत नगर्नु, आर्थिक प्रतिवेदनमा थाकसको छाप नहुनु र केही राजनीतिक दलका मान्छेले आफूअनुकुल कार्यसमिति बनाउन खोजेको उनको आरोप छ। उनले निर्वाचन अधिकृत वीरेन्द्र चौधरी र सदस्य मानपुर चौधरीले मनोमानी ढंगले आकांक्षी उम्देवारहरुलाई अवैधानिक भनी निर्णय गरेको बताए।

उनले बन्दकोठाबाट बनाइएको कार्यसमितिलाई जिल्लाबासीले नस्वीकार्ने बताए। हामीले थाकसमा नयाँ नेतृत्व खोजिरहेका छौं। युवाहरुको सहभागिता खोजिरहेका छौं। सिस्टमको कुरा गरिरहेका छौं। तर केही ब्यक्तिहरुले यसलाई राजनीतिक अखडा बनाउने प्रयास गरिरहेका छन्। थारुहरुको धरोहर थाकसलाई बचाउन सबैजना आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी रहेको उनले बताए।

उनले सप्तरी जिल्लाको अधिवेशन भदौ ३० गते पुनः राखिएको जानकारी गराए। ‘थारू कल्याणकारिणी सभा, सप्तरीको सातौं अधिवेशनको बन्द सत्र मिति २०७५ भाद्र २५ गते १० बजे गर्ने भनिएको जानकारी अनुसार हालसम्म निर्वाचन अधिकृत विरेन्द्र चौोधरी, निर्वाचन समिति सदस्य पूर्व सभासद मानपुर चौधरी र निर्वाचन सदस्य थाकस केन्द्रीय सल्लाहकार बौली चौधरी बेपत्ता रहेको हुँदा पूर्व घोषित कार्यक्रम अनुसार बन्द सत्रलाई सुचारू गर्न तपसिलका मिति तथा स्थानमा सहभागी हुन थाकस गाउँ समिति, नगरसमिति, क्षेत्रीय समितिका पदाधिकारीहरू, अाजीवन सदस्यहरू, कृयाशील सदस्य, थारू वुद्धजिवी, समाजसेवी, महिला, युवा, अग्रजहरूलाई सहभागी हुन हार्दिक अनुरोध छ,’ उनले आह्वान गरेका छन्।

यस्तै अवस्थारहे अब सप्तरीबाटै थारु कल्याणकारिणी सभाको समानन्तर कमिटी गठन गरिने उनको चेतावनी थियो। ‘थाकसमा जुझारु र युवाहरुलाई बर्जित गर्ने हिसाबले केही ब्यक्ति लागिपरेका छन्। यदि त्यस्तो हो भने हामी सप्तरीबाटै थारु कल्याणकारिणी सभाको समानन्तर कमिटी बनाएर देखाउँछौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published.