रुपन्देहीमा डर लाग्दो रुप लिँदै ‘सिकलसेल एनिमिया’

कमल चौधरी, बुटवल ।
रुपन्देहीमा सिकलसेल एनिमिया रोगले डरलाग्दो रुप लिँदै गएको छ । विशेषगरी थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगको कारण १४ जना मनिसहरुमा रुपन्देही जिल्लाका मात्रै यो रोग लागेको पुष्टि भैसकेको लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए ।

उनले सिकलसेल थारु समुदायमा देखिने बंशानुगत संक्रमण रहेको बताए । उनले भने – ‘थारु बाहुल्य पश्चिम तराईको लुम्बिनी अञ्चल अस्पतालमा पहिलो पटक यस्तो संक्रमणको परिक्षण प्रयोगशाला सञ्चालनमा आएपछि भयाबह रुपले यस रोगको संकेत देखिन थालेको छ ।’

अहिले लुम्बिनी अञ्चल अस्पतालमा नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग लगायतको जिल्लाबाट सिकलसेल एनिमियाको परिक्षण गर्न आउँने क्रम जारी छ । यस रोगको परिक्षण गर्न आउँदा अधिकांश रुपन्देही जिल्लाका थारु समुदायमा यस रोगको लक्षण देखिन थालेपछि रुपन्देहीका थारु समुदाय चिन्तित छन् ।

पछिल्लो समय लुम्बिनी अञ्चल अस्पतालमा सिकलसेल बिरामीहरुको तथ्याङ्क हेर्दा २१ जनामा यो रोग पुष्टि भैसकेको छ । जसमध्ये १४ जना रुपन्देहीका रहेका छन् । लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाईमा राखीएको रेकर्ड हेर्दा भाद्र १८ गते एक जना थप बिरामी फेला परेको सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए ।

सिकलसेल एनिमिया के हो ?
लुम्बिनी अञ्चल अस्पतालका फिजिसियन डा. दिनेश गौतमले सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग रहेको बताए ।
उनले भने– ‘यो रोगले शरीरमा रगत बनाउने रातो रक्त कोषिकाको संख्या घटाउँदै लैजान्छ । सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ ।’ उनले भने सिकलसेल एनिमिया बाल्यावस्था बाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुदाँ एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिने गरेको बताए ।
कस्तो रोग हो सिगलसेल एनिमिया

सिकलसेल एनिमिया आफैमा निको नहुने रोग हो । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने चिकित्सकहरु बताउँछन् । परिवारमा श्रीमान र श्रीमती दुबै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जन्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ ।

रोकथामका उपाय के हुनसक्छ ?
थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण कतिपय स्थानमा शुरु गरेको भएपनि यो प्रयाप्त हुन सकेको छैन । यसलाई थारु गाउँ बस्तीमा निःशुल्क रुपले सिकलसेल परीक्षणका लागि व्यवस्था मिलाइयो भने केही हद सम्म रोकथाम गर्न सकिने सामाजिक सेवा एकाई प्रमुख अच्युत भट्टराईले बताउँछन् ।
उनले भने– ‘प्रदेश सरकारले सिकलसेल बिरामीको लागी छुट्टाएको रकम खास बिरामी सामु पुगेको छैन । हामीले प्रत्येक थारु गाउँ बस्तीमा निःशुल्क सिकलसेल जाँच व्यवस्था गर्न सके केही हद सम्म यस रोगको रोकथाम हुनसक्छ ।’

कुण्डली तथा अन्र्तरजाति विवाह
सिकलसेल कुण्डली तथा अन्र्तरजाति विवाह गरेमा पनि नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिने अच्युत भट्टराईले बताए । लुम्बिनी अञ्चल अस्पतालका सामाजिक सेवा एकाई प्रमुख समेत रहेका अच्युतले – ‘थारु समुदायमा ज्ञानको कमी छ । यदी थारु समुदायमा कुण्डली हेरेर रोग भए, नभएको पहिचान गरेर मात्र विवाह ग¥यौं भने यो रोगको रोकथाम गर्न सकिन्छ ।’ उनले अन्य जातिका समुदायमा पनि यो रोग देखा परेको भए पनि अधिकांश थारु समुदायमा यो रोग देखिनुको कारण उनीहरुले सजातिय विवाह गरेको पनि हुनसक्ने बताए । उनले गोत्र परिवर्तन गरेर अन्र्तरजातिय विवाह गरेमा पनि यो रोग हुनबाट जोगिन सकिने जनकारी समेत गराए ।

थारु जातिमा मात्रै लाग्ने सिकलसेल एनिमियाको पहिचान उपचारका साथै त्यसको क्षतिपुर्तिको लागि सरकारले प्रयाप्त रकम नछुटएको थारु अगुवाहरु बताउँछन् । हुन त थारु समुदायको बहुल्यता रहेको यस प्रदेश नं. ५ मा सिकलसेल रोगको रोकथामका निम्ति छुट्टाइएको १ करोड बजेट प्रयाप्त हुँदै होईन । यसको लागि अझ थप रकम आवश्यक रहेको देखिन्छ तर पनि आगामी बजेटहरुमा रकम बढाएर यस रोग सम्बन्धी पूर्व जानकारी दिन सकिएमा पनि रोकथाममा ठूलो टेवा पुग्ने छ । आगामी समयमा सरकारी स्तरबाट अझ व्यापक रुपले थारु समुदायमा देखिएको यो भयाबह रोगबारे जनचेतना, पूर्व जानकारी, निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण लगायतका विषयमा चासो दिन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published.