राममनोहर मृत्यु प्रकरण : न्यायिक छानबिन समिति बनाउन सांसद उमाकान्त चौधरीको माग

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारले नागरिकको बोल्ने अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् । संसदको विशेष समयमा बोल्दै बारा क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएकै कारण राममनोहर यादवको हिरासतमा मृत्यु भएको बताए ।

राममनोहरलाई संविधानविपरीत, प्रशासनको बलमा पक्राउ गरेको र हिरासतमै मृत्यु भएको भन्दै सांसद चौधरीले न्यायिक समिति बनाएर निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न संसदसमक्ष माग गरे । उनले यसबारे सरकारको आधिकारिक धारणाको पनि माग गरे ।

उनले हालै सम्पन्न विमस्टेक बैठक सरकारले भनेजस्तो सफल नभएको बताए । बैठकले जारी गरेको घोषणा पत्रबाट बैठक असफल भएको उनले प्रस्ट पारे । सरकारले बैठकमा सरकारले आफ्नो धारणा स्पष्टरुपमा राख्न नसकेको उनको भनाई थियो ।

उनले बारामा भन्सार कार्यालय नभएको भन्दै त्यहाँका जनता सास्ती खेप्नुपरेको बताए । त्यहाँका जनताहरु कर तिर्न वीरगन्ज वा गौर जान बाध्य भइरहेको भन्दै उनले सिम्रैणगढस्थित छोटी भन्सार कार्यालयलाई स्तर उन्नती गरी सबै काम त्यहीबाट गराउन सरकारसँग माग गरे ।

Leave a Reply

Your email address will not be published.