गणेश चौधरी/टीकापुर
टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे । ‘माछा मार्न मजा लाग्छ । गाउँका साथीसंगी सबै हुँदा त झन् रमाइलो, मेला नै लाग्छ,’ माछा मार्दै लौटीले भनिन् ।
वर्षे सिजन । खाल्डाखुल्डी, खोलानाला जताततै पानी छ । पानी भएपछि माछा हुने नै भए । थारू महिला आजकाल सडक किनारका खाल्डाखुल्डी होस् या झरन अथवा खोलानाला सबैतिर माछा मारिरहेका देखिन्छन् । टीकापुर नगरपालिका–१ वनगाउँका बडघर जितबहादुर चौधरी भन्छन्, ‘थारूसित सीप पनि छ, जाँगर पनि । त्यसै बस्नुभन्दा माछा मार्यो, मिठो तरकारी खायो ।’ रोपाइँ सकेर फुर्सदिला भएका थारू महिलाहरू पानी परेको दिन त्यसरी जम्मा हुँदा गाउँमा माछा मार्ने ‘मेला’ लाग्छ ।
थारूहरूले माछा मार्न विभिन्न थरीका आफैंले बनाएका औजार प्रयोग गर्दै आएका छन् । पानीको बहावअनुसार यी औजारको प्रयोग हुने उनीहरू बताउँछन् । बडघर जितबहादुरका अनुसार थारूहरूले माछा मार्न हेल्का, पखै, खोङघ्या, तापी, ढरिया, जाल, चिउढी, भुर्कालगायत प्रयोग गर्छन् । महिलाले विशेषगरी हेल्का, पखै र तापी प्रयोग गर्छन् भने पुरुषले खोङघ्या, ढरिया, जाल र चिउढी प्रयोग गरी माछा मार्ने गरेका छन् । यी औजारको प्रयोगबाहेक थारूहरूले बाँध बाँधेर स–साना तालतलैया सुकाउने पनि गर्छन् । स–साना तालतलैयाको पानी भाँडाले दिनभरि फालेर पनि माछा मार्ने उनीहरूको परम्परा छ ।
थारू समुदायले सबैजसो चाडपर्वमा माछालाई मुख्य परिकार मात्र नभई सगुन मान्दछन् । चाडपर्व आउँदा यो समुदायका सदस्यहरू आवश्यकताअनुसारको औजार बोकेर खोलानालातिर लाग्छन् । जानकी गाउँपालिका–३ का छोटेलाल चौधरीले भने, ‘माछा हामी थारूहरूको सगुन हो । चाडपर्वमा यो चाहिन्छ । विशेषगरी माघी, दसैंजस्तो पर्वमा त यो अनिवार्य नै हुुनुपर्छ । विवाहमा त सगुनका रूपमा माछा बोकेरै बरात जानुपर्छ ।’
उनका अनुसार दसैंमा आफ्ना पितृलाई चढाउन सुकाएको माछा नभई हुँदैन । छोटेलालले भने, ‘अष्टिम्की, अतवारीजस्ता व्रत पर्वमा दरखान पनि माछा चाहिन्छ ।’
बडघर जितबहादुरले पाहुनाको स्वागत/सत्कारमा पनि थारू समुदायमा माछा अनिवार्यजस्तै मानिने बताए । ‘पाहुनाका लागि पनि पहिलेपहिले थारूका घरमा माछा सुकाएर राख्ने चलन थियो,’ उनी भन्छन् ।
माछा मार्ने काम मनोवैज्ञानिक हिसाबले पनि महिलाका लागि महत्त्वपूर्ण मानिन्छ । अधिवक्ता सर्जुप्रसाद चौधरीले भने, ‘अक्सर घरबाट बाहिर निस्कन नपाउने महिलाहरू माछा मार्ने बहानामा पनि घर बाहिर जान पाउँछन् । गाउँका साथीसंगीसँगै माछा मार्दा उनीहरूबीच दु:खसुखका गफ पनि हुन्छन् । आफ्ना पीडा अरूलाई सुनाउँछन् । यसले उनीहरूको मन हलुको बनाउँछ ।’
माछाले थारूमाथि शासन
थारू समुदायको माछासितको लगाव थाहा पाएर विगतमा थारूहरूमाथि शासन गरिएको इतिहास पनि रहेको थारूहरू बताउँछन् । टीकापुर नगरपालिकाका पूर्वउपमेयर लालबहादुर चौधरीले भने, ‘पञ्चायतकालमा कोही थारू उम्मेदवारलाई हराउनु छ भने खोलानालामा विष हालिदिन्थे । विषले खोलानालाका माछा मर्ने भएकाले थारूहरू भोट हाल्न जानुको साटो माछा टिप्न जान्थे । पहाडी समुदायका उम्मेदवारले चुनाव जित्थ्यो ।’ विगतमा रोपाइँका बेला धानका गह्रामा प्रशस्त साना माछा पाइने गरेकोमा आजकाल गंगटा, भ्यागुतासमेत पाउन गाह्रो भएको लालबहादुर बताउँछन् ।
कान्तिपुरबाट साभार