देउखुरीमा बहुभाषीक कवि गोष्ठी

अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि विभिन्न किसिमका बिकृति देखिरहेको अवस्थामा देउखुरीका कविहरुले अबको सिर्जनाहरुमा समय, माटो र आफ्नो कला–संस्कृतिप्रतिको जिम्मेवारीबोध हुनुपर्ने कुरा बताएका छन् । हरि–सुनकेशरी फाउन्डेसनको आयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीको संयोजनमा असार ३ मा भएको काव्य–बिमर्श, बहुभाषिक कवि गोष्ठी तथा समीक्षा कार्यक्रमका सहभागीहरुले कविता एवम् मन्तव्य मार्फत सो कुरा बताएका हुन् ।

युवा साहित्यकार एवम् पत्रकार कृष्णराज सर्वहारीले कार्यक्रमलाई सम्बोधन गर्दै अन्य जिल्लाको तुलनामा दाङ जिल्लाको साहित्य, कला, संस्कृति सम्बृद्ध र प्रभावकारी रहेको बताए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सर्वहारीले सर्जकहरूले कलम चलाउँदा समयसापेक्ष र समाजलाई सम्बोधन गर्न सकिने खालको सिर्जनाले मात्रै साहित्यकारिताको उद्देश्य पूरा हुने बताए। उनले भने, ‘अहिले संस्कृतिको नाममा विभिन्न खाले बिकृति बढिरहेको छ, यसमा केही साहित्यकारहरुको सतही लेखन र चिन्तनले टेवा पुगिरहेको छ ।’ त्यसैले गम्भीर लेखन र जिम्मेवारीपुर्ण लेखनको आवश्यकता उनले औंल्याएका हुन्।

त्यसैगरी कार्यक्रममा वाचन गरिएका रचनाहरुको समीक्षा गर्दै प्राध्यापक हरेकृष्ण ज्ञवालीले अहिलेको पुष्टाले लेखनकला र शैलीमा परिवर्तनसंगै काव्यिक चेतनाको पनि सुधार हुँदै आएकोले वर्तमान लेखनको भविष्य राम्रो भएको बताए। उनले अबको लेखनमा समय, आफू टेकेको माटो र मौलिकता प्रमुख विषय बन्नुपर्ने बताए।

त्यसै अवसरमा साहित्यकार शेरबहादुर चौधरीले आम नागरिकलाई सचेत वा उत्प्रेरित गर्ने साहित्य एकदमै राम्रो विकल्प रहेकोले अगामी दिनहरूमा साहित्य मार्फत समाज परिवर्तनका विषय बन्नु पर्ने बताए। आयोजक संस्था हरि–सुनकेशरी फाउन्डेसनका अर्थ संयोजक उमाकान्त चौधरीले फाउन्डेसनको विभिन्न सामाजिक सेवासंगै साहित्य र संस्कृति पनि प्राथमिकतामा रहेको जानकारी दिए।

कार्यक्रममा शिवगढी सांहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुनकुमार पौडेल (अर्जुन शर), जंग्रार साहित्यिक बखेरी बर्दियाका अध्यक्ष सोम डेमनडौरा, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केबी चौधरी, हर्चाली त्रैमासिक पत्रिका कैलालीका प्रधान सम्पादक सागर कुश्मी, लावा डग्गर त्रैमासिकका सहसम्पादक रामप्रकाश चौधरी, गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्ट, थारु पत्रकार संघ कपिलवस्तुका जिल्ला सदस्य रामऔतार चौधरी, कञ्चनपुरका गजलकार सुनिल चौधरी, देउखुरी गजल अभियानकी कोषाध्यक्ष लक्ष्मी वाग्ले, बिष्णु कुसुम, नीमबहादुर थापा, बलराम ज्ञवाली, दीपक समीर, लब्लिन क्यानभास, अभि क्षेत्री समर्पण, प्रतीक संग्रामी, सन्तोषकुमार गुप्ता, बिदुर एम.सी., खुबीराम आचार्य, बालगोविन्द चौधरी, पुरन बियोग, केडी शर्मा, कृष्ण समर्पण लगायत तीन दर्जन बढी कविहरुले विभिन्न भाषामा थारु तथा नेपाली भाषमा कविता सुनाएका थिए ।

हरि–सुनकेशरी फाउन्डेसनका निर्देशक देवानजंग चौधरीको अध्यक्षतामा भएको कार्यक्रम संचालन थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङका अध्यक्ष छविलाल कोपिलाले गर्नु भएको थियो । कार्यक्रममा थारु भाषा तथा साहित्य मञ्च (लावा डग्गर त्रैमासिक) दाङमा आबद्ध आजीवन सदस्यहरुलाई प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.