बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ : सांसद चौधरी

नेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमणि चौधरीले मन्त्रीहरूले बजेटमा फिक्सिङ गरेको भन्दै ती मन्त्रीहरूलाई जेल हाल्न माग गरेका छन् ।

बिहीबार बसेको संसद बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा भाग लिँदै चौधरीले मन्त्रीहरूले आ–आफ्ना क्षेत्रहरूमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल हालिन्छ’, उनले भने, ‘बजेट फिक्सिङ गरेर बजेट आफ्नो क्षेत्रमा लैजाने मन्त्रीलाई जेल हाल्नु पर्छ कि पर्दैन ?’ आफूले पटक पटक आग्रह गर्दा पनि मन्त्रीहरूले वजेट र कार्यक्रमहरू कटौती गरेको भन्दै उनले आपत्ति जनाए ।

सांसद चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा तत्कालीन नेकपा (एमाले)कोत र्फबाट निर्वाचिन भएका हुन् ।

सांसद चौधरीले भने, ‘खेलाडी जेल जानुपर्छ भने मन्त्रीहरू पनि जेल जानुपर्छ । जेलमा हाल्नुपर्छ । म्याच फिक्सिङ गर्ने खेलाडी देशद्रोही हुन् भने बजेट फिक्सिङ गर्ने मन्त्रीहरू पनि देशद्रोही नै हुन् ।’

सांसद चौधरीले खेलकुद मन्त्रालयको कार्यक्रमहरू सन्तोषजनक रहे पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालयको कार्यक्रममा दाङ जिल्लाको नामै फेला नपरेको बताए । ‘विनियोजन विधेयकको कितावमा पढ्न भुलेकी भनेर पटक–पटक पढे’, उनले भने, ‘कतै पनि दाङ जिल्लाको शब्द भेटिन । यसरी पनि बजेट बन्छ ?’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले दाङ जिल्लामाथि ठूलो अन्यय गरेको बताए । ‘अनेरास्ववियुको कोषाध्यक्ष हुँदा नै रविन्द्र अधिकारी दाङमा गएर हामीलाई प्रशिक्षण दिनुभएको थियो’, सांसद चौधरीले भने, ‘रविन्द्रजीले दाङलाई एउटा पनि कार्यक्रम दिनुभएन । उहाँले सबै कार्यक्रमहरू आफ्नो क्षेत्रमा केन्द्रित गर्नुभयो । बजेट असन्तुलित छ ।’

दाङ दक्षिण एसियाकै महत्वपूर्ण जिल्ला रहेको बताएका सांसद चौधरीले भने, ‘ग्वारखोला, गोरक्ष रत्नानाथ बाबा, रामजानकी मन्दिर, बाह्रकुने दह, कौरव र पाण्डवको कथा जोडिएको संस्कृति दाङमा छ । तर, बजेट कतै पनि दिइन ।’ मन्त्री अधिकारीको यो कार्यशैलीको आफूले घोर निन्दा र भर्त्सना गरेको सांसद चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.