कैलालीको थापापुर मधौलीका रामदुलारी चौधरी दुलाहाको भेषमा सजिएका थिए । जन्ती दुलहीको घर नजिक पुग्दै थियो । सगुन बोकेकाहरूको सोधीखोजी सुरु भयो । एक पाका थारूले सोधे, ‘पहुरा मछली बा की नाई बा ?’ (सगुनमा माछा छ कि छैन ?)
सगुन बोकेकाहरूको जवाफले पाका थारू झसंग भए । उनीहरूले सगुनमा माछा नभएको जवाफ दिएका थिए । जन्तीमा सहभागी थारू भलमन्सा (अगुवा) सीताराम चौधरी त उनीहरूसँग झोक्किए । जन्ती केहीबेर बाटामै रोकियो । सगुन लिन पुन: दुलाहाको घर गए । उनीहरूले माछाको सगुन ल्याएपछि मात्रै जन्ती अघि बढ्यो ।
यो दुई वर्षअघिको घटना हो । त्यसका साक्षी थिए, थारू बुद्धिजीवी गंगाराम चौधरी । उनी भन्छन्, ‘सगुनमा माछा नल्याएको भए दुलही पक्षले जरिवाना तिर्नुपथ्र्यो ।’ उनका अनुसार थारू समुदायको बिहेघरमा माछाको व्यवस्था दुई/चार दिनअघि नै गरिसक्नुपर्ने चलन छ ।
गएको दसैंमा रमाइलो माहोल थियो थारू बस्तीमा । हेरुलाल डगौरा पितृपूजा गर्ने तयारीमा थिए । ‘पितृलाई पित्तर दिन राखेको माछा अचानक कुकुरले लग्यो । आपत पर्यो,’ हेरुलालले घटना सम्झिए, ‘तुरुन्तै माछा खोज्न पठाएँ ।’ पश्चिम नेपालका थारू समुदायमा श्राद्ध अर्थात् पितृपूजा गर्दा माछा चढाउनु अनिवार्य छ । यसलाई उनीहरू पित्तर दिनु भन्छन् । ठूलो माछा नपाए सिद्राले भए पनि काम चलाइन्छ तर नभई हुँदैन । ‘थारू समुदायको धर्म र संस्कृतिसँग माछा जोडिएको छ,’ उनी भन्छन्, ‘जन्मदेखि मृत्युसम्मका संस्कारमा माछा नभई हुन्न ।’ त्यति मात्रै होइन, थारू र माछाको जीवनशैली अद्भुतको छ ।
‘थारूको सन्तानले माछासँग नखेल्ने, नखाने र मार्न नजान्ने भन्यो भने सबै छक्क पर्छन्,’ हेरुलाल भन्छन्, ‘माछाका परिकार खान थारू समुदायले चाडपर्वको मुख ताक्नु पर्दैन । सदाबहार भोजनभित्रै पर्छ माछा ।’ उनका अनुसार थारू समुदाय माछाको सिकार एक्लैभन्दा पनि समूहमा गर्न बढी रुचाउँछ । घरघरमा माछा मार्ने थरीथरीका जाल हुन्छन् । त्यस्तो घर बिरलै हुन्छ, जहाँ माछा मार्ने जाल नहोस् । उनीहरू आफैं बुन्छन् जाल । तन्नेरीदेखि पाकासम्मले थरीथरीका जाल हान्छन्, त्यसका लागि ठूलो खोला–नदी नभए पनि चल्छ । बर्खामा जमेको पानीमै किन नहोस्, हुल बाँधेर ‘बठनिया’ हरू हातमा जाल र टाउकामा ढडिया बोकेर निस्कन्छन् । उनीहरूमा रहेको सामूहिकताको भावना पनि यसमा प्रतिबिम्बित हुन्छ ।
माछाको सिकार
‘थारूको माछा मार्ने तरिका आफ्नै मौलिक परम्परामा आधारित छ,’ बुद्धिजीवी गंगाराम चौधरी भन्छन्, ‘रजगज्जा र महाजाल थारूका परम्परागत माछा मार्ने शैली हुन् ।’ राति सामूहिक रूपमा माछा मार्न जानुलाई ‘रजगज्जा’ र दिउँसो जानुलाई ‘महाजाल’ भनिन्छ ।
रजगज्जा
सूर्यास्तको समय । कैलालीकै थापापुरको मधौलीस्थित थारू बस्ती । अरू दिनको तुलनामा निकै चहलपहल थियो । बालकदेखि वृद्ध, महिला र पुरुष सबै । हरेक घरका एक वा दुई जना ‘रजगज्जा’ खेल्न जाने तयारीमा थिए । सूर्यास्तसँगै माछा मार्न प्रयोग हुने ठूलठूला जाल र माछा राख्ने भाँडो ‘दिलिया’ ठिक्क पारिएका थिए । उज्यालाका लागि टर्च र राँको (बाँसको चिराक) सहित माछा मार्न जानेहरू भलमन्साको घरमा एकत्रित हुँदै थिए ।
सबै जम्मा भएपछि टर्च र राँको बालेकाहरू अगाडि र पछाडि लागे । अरू सबै बीचमा । उनीहरू बस्ती नजिककै नदीछेउ पुगे । जाल हान्नेहरू नदीको दायाँबायाँ किनाराबाट जाल फिँजाउँदै पानी बगेको विपरीत दिशातर्फ अघि बढे । पछिपछि थिए, माछा बोक्नेहरू । खोलामा ६ घण्टाजति माछा मारेर उनीहरू बिहानीपख घर फर्किए । भलमन्साको घरमा उस्तै रमाइलो थियो । कुरेर बसेकाहरू परम्परागत नृत्यको रमझममा थिए । माछा मार्ने समूह पुगेपछि सबै चुप भए । एक छिनपछि भागबन्डा सुरु भयो, माछाको । केही माछा सामूहिक रूपमा भलमन्साको भान्छामा पकाएर भोज गरे ।
महाजाल
महाजाल हान्न जाने दिन पनि बेग्लै रौनक हुन्छ, थारू बस्तीमा । महाजाल माछा मार्ने ठूलो जाल मात्र होइन, फरक तरिका पनि हो । खोलाको मुहानै फर्काएर वा तालको एक छेउबाट माछा सोहोर्ने र सबै माछा एउटै जालमा फसाउने तरिकालाई महाजाल भन्ने गरिएको छ ।
यस्ता छन् माछा मार्ने जाल
हेल्का, सेउखा, टापी, बटाउ, पखै, महाजाल, घाघी, चेउधी, डोडिया, धरिया, बरेरवा, पहाउ, खोघिया, बन्सी, बन्सा, भुर्का, सुर्का, डिलिया, टुम्रा, झप्ता, गेदली, खोच र छराछ
माछाका परिकार
तरकारी, चटनी, मिझनी (दिउँसोको खाजा), सिद्रा
-मोहन बुढाऐर/कान्तिपुर दैनिक