जेलबाट रेशम चौधरीले पठाए बाबुरामलाई यस्तो चिठी [पत्रसहित]

टीकापुर हत्याकाण्डमा फसाइएका रेशम चौधरीले कारागारबाटै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । डिल्लीबजारमा रहेको सदरखोरमा बन्दी जीवन बिताइरहेका सांसदसमेत रहेका (सपथ लिन बाँकी) चौधरीले लेखक दिल निशानी मगरमार्फत् भट्टराईलाई पत्र लेखेका हुन् । 

एक पेज लामो पत्रमा चौधरीले आफूलाई आफ्नो समुदायको अधिकारका लागि आन्दोलन गर्दा फसाइएको बताएका छन् । ‘एउटै वर्ग र समूदाय आन्दोलनमा सहभागी भएकै आधारमा षड्यन्त्रपूर्वक घटनालाई गैरराजनीतिक बनाइयो’, उनले पत्रमार्फत् गुनासो गरेका छन् ।

कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाका २६ जना अभियुक्तलाई तीन वर्षदेखि अदालतले फैसला नगरी थुनेर राखिएको गुनासो उनले गरेका छन् । ‘टीकपुर घटना राजनीतिक हुन सकेन र बनाइएन पनि । हुन नसक्नु र नबनाइनुको पछाडि एउटै कारण हो–एउटै वर्ग र समूदाय मात्रै आन्दोलनमा सहभागी हुनु’, उनले पत्रमा भनेका छन् ।

चौधरीले आफूहरु शान्तिको पक्षमा रहेको बताएका छन् ।  ‘हामीले शान्ति र समृद्धि चाहेका छौँ’, उनले भनेका छन्, ‘न्याय नपाएर आक्रोशित जनतालाई बेवास्ता गरेर चमा मुलुक कसरी समृद्धितर्फ जान्छ ?’, उनले पत्रमा भनेका छन् ।

उनले पत्रमा डा. बाबुरामसँग भेट्ने इच्छा पनि व्यक्त गरेका छन् । ‘मलाई भट्टराईसँग भेट गर्ने इच्छा छ’, उनले भनेका छन्, ‘कारागारमा बाबुराम भेट्न आउने बाटो हेरिरहेको छु ।’

चौधरीले लेखेको पत्र मगरले आइतबार डा. भट्टराईलाई बुझाएका छन् । पत्र बुझेपछि भट्टराईले समय मिलाएर चौधरीलाई भेट्न जाने बताएकाे मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.