कैलाली पुगेर उपेन्द्रले भने- ‘राज्यले थारू र मधेसीलाई एक अर्काविरुद्ध उचाल्न खोज्याे’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जनताले आफ्ना अधिकार प्रत्याभूत गर्न संविधान संशोधनको विकल्प नभएको बताउँदै यादवले सत्ताले जनताको पीडा नदेखेको आरोप लगाए ।

कैलालीको जोशीपुरमा भएको सभामा बोल्दै यादवले राज्यको विभेदकारी नीतिको विरोध गर्न नसक्दा देशमा असमानता, गरिबी र विभेद बढेको बताए । राज्य ‘फुटाउ र शासन गर’ को नीतिमा चलेको आरोप लगाउँदै उनले भने, ‘अहिलेको राज्य सत्ताले कहिले थारु र पहाडी, कहिले पहाडी र मधेसी त कहिले मधेसी र थारुलाई एक अर्काविरुद्ध उचाल्न खोजेको छ ।’

यादवले धेरै मुलुकका जातीय द्वन्द्वबाट पाठ सिक्नुपर्ने भन्दै जातीय द्वन्द्वबाट बच्न सबैखाले विभेदकारी नीति हटाउनुपर्ने तर्क गरे । ‘जातीय द्वन्द्वबाट बच्ने उपाय भनेकै सबैखाले विभेदकारी नीति हटाउने हो, एउटै भाषा एउटै भेषको नीतिलाई त्यागेर सबै भाषा सबै भेषको नीति अङ्गाल्नुपर्छ ।’

विविधताले सम्पन्न देशमा सबै समुदाय बीच एकता कायम भए आर्थिक उनन्ती, समृद्धि र विकास हुने यादवले बताए । ‘सबैको प्रतिनिधित्व, सहभागिता र साझेदारीमा काम गरे जनताले आफ्नो अधिकार प्रत्याभुत गर्न सक्छन्, त्यसले गर्दा भावनात्मक एकता भइ राष्ट्रिय एकता सम्भव हुन्छ र सबै खालका धार्मिक, वर्गीय, जातीय र लैङ्गिक विभेद अन्त्य हुन्छ’, उनले भने ।

टीकापुर घटनाको प्रसंग कोट्याउदै यादवले टीकापुर घटनाको रहस्य आफूले बुझ्न नसकेको बताए । ‘टीकापुर घटनाको रहस्य पत्ता लगाउन आयोग बन्यो तर प्रतिवेदन सार्वजनिक भएन । घटनाका नाममा निर्दोष व्यक्तिलाई जेलमा हालिराख्न हुन्न । घटना दबाउन अस्त्रको रुपमा टीकापुर घटनालाई लिएर काम गरे त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.