मृगौलाका विरामीलाई महिला समूहले गरे आर्थिक सहयोग

कारी महतो/खैरहनी।
१७ वर्षकै उमेरमा दुवै मृगौला फेल भएका खैरहनी नगरपालिका वडा नं. १ का लडाई (जीवन) सहनीलाई सोहि वडाका शिवपार्वती महिला समूहले ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आफ्नै छिमेकका होनहार युवा लडाई सहनीको कक्षा १० मा पढ्दा पढ्दै अचानक दुवै मृगौला फेल भई उपचारका लागि आर्थिक अभाव भएपछि समूहले आर्थिक संकलन गरी सहयोग गरेको कुरा समूहका अध्यक्ष पार्वती विकले बताईन् । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिका रुपमा आमन्त्रित खैरहनी नगरपालिका वडा नं. १ का वडाध्यक्ष भूमिप्रसाद कँडेलले आफ्ना छरछिमेकका सदस्यलाई दुःख पर्दा सहयोग गरेकोले महिला दिदीबहिनीहरुलाई धन्यवाद दिएका छन् ।

कलिलो उमेरमै दुवै मृगौला काम नलाग्ने भएपछि लडाई सहनीलाई उनका बुबा माधो सहनीले मृगौला दिने बताएका छन् । तर आर्थिक अभावका कारण उपचार गराउन नसकेको हुँदा सहयोग गर्नका लागि अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.