दुवै मृगौला फेल भएका विद्यार्थीलाई वडाअध्यक्षको सहयोग

चितवन- दुवै मृगौला फेल भएका एक विद्यार्थी लडाई सहनी अर्थात् जीवन सहनीलाई उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै खैरहनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष भूँमि प्रसाद कँडेलले विद्यालयमै उपस्थित भई व्यक्तिगत रुपमा रु २० हजार आर्थिक सहयोग गरेका छन् ।

त्यस वडामा रहेको कंकाली माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका लडाई (जीवन) सहनीको अचानक दुवै मृगौलाले काम नगरेपछि उनको पढाई प्रभावित भएको छ । उनले रत्ननगर अस्पतालमा डायलाईसिस गर्दै यसै वर्षको एसईई परीक्षा दिएका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका लडाई सहनीका बुबा माधो सहनीले सोहि वडामा केहि जग्गा भाडामा लिई तरकारी खेती गर्दै आएका छन् ।

उनले उपचारखर्च सहयोग जुटाउन सके आफैंले एउटा मृगौला दिन तयार रहेको बताए । लडाई (जीवन) सहनीका सहपाठी र छिमेकीहरुले स्थानिय गाउँघरमा घरदैलो गरी केहि सहयोग संकलन गरिरहेका छन् । सहनी परिवारलाई शान्त्वना दिनका लागि वडाध्यक्ष कँडेलले आफ्ना छोरा लेलिन कँडेलबाट पैसा मागेर जीवन सहनी र उनका बुवा माधो सहनीलाई नगद सहयोग गरेका हुन् ।

सहयोग हस्तान्त्रण गर्दै वडाध्यक्ष कँडेलले हाम्रो छरछिमेकमा परेको दुःख हामीमा हामी सबैले साथ दिनुपर्ने बताए । थोरै थोरै सहयोग रकमले मृर्गौला पिडितको उपचार खर्च जुटाउन सकिने भएकोले सबैले आर्थिक सहयोग गर्न उनले आह्वान गरेका छन् ।

सहयोग हस्तान्त्रण कार्यक्रममा उपस्थित हुनु भएका जन्मोत्सव तथा स्मृति छात्रवृत्ति कोषका अभियन्ता समाजसेवी मुरली प्रसाद गजुरेलले गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्थापित अक्षय कोषका लागि थोरै थोरै सहयोग रकमबाट आज ७८ लाख रकम संकलन भएको र यसरी नै किड्नी पिडित लडाई सहनीका लागि सहयोग संकलन गर्न सकिने बताए ।

कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जना आचार्यले मानव धर्म नै सबैभन्दा ठूलो धर्म भएकोले पिडितलाई सबैले सहयोग गर्न आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published.