आइसा चौधरीको हत्या भएको भन्दै ३ जनाविरुद्ध किटानी जाहेरी

आर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिएकी छन्। मोरङ प्रहरीमार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो। मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दबाबपछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलका बिनय दाहाल र लिना सिलवाल (दाहाल) को घरमा घरेलुकामदारको रुपमा काम गर्दै आएकी १७ वर्षकी आइसाको चार दिन अघि शंकास्पद ज्यान गएको थियो। ललितपुरको सातदोबाटो प्रहरी वृतले आत्मा हत्या भएको भन्दै आइसाकी आमा गुलजारीदेवी चौधरीलाई शनिबार शव बुझाएको थियो। मंगलबार मोरङ प्रहरीले गुलजारीको जाहेरी लिएर ललितपुर प्रहरीलाई पठाएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटना ललितपुरमा भएको कारण छानबिनलगायतको प्रक्रिया त्यहीको प्रहरीले गर्ने भएकाले महानगरिय प्रहरी परिसर ललितपुरलाई किटानी जाहेरी पठाएको जानकारी दिए। सुकुम्बासी परिवारका गुलजारीले काठमाडौं जानआउन खर्चको अभाव भएकोले जिल्ला प्रहरी मोरङमार्फत जाहेरी पठाएको बताए।

जाहेरीमा आइसालाई बलत्कार गरेर हत्या गरेको उल्लेख छ । उक्त घटनामा बिनय र उहाँका सासुससुरा विराटनगर–७, का गीता सिलवाल र केशब सिलवाल विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कर्यालय मोरङमार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

आइसासँग होली पर्वको दिन १७ गते अपरान्ह फोनमा कुरा भएको थियो त्यसपछि कुरा नभएको गुलजारीले बताए। पारिवारिक स्रोतका अनुसार होलीपछि २५ गते शुक्रबार गीता र केशवले कटहरीको खोरियाका जयप्रकाश राजबंशीमार्फत आइसाले सुनको गहना र नगद चोरी गरेको खबर पठाएका थिए ।

‘जयप्रकाशसँगै विराटनगर–७, स्थित सिलवालको घरमा जाँदा तिम्रो छोरी प्रहरीमा रहेकोले तत्काल नागरिकता लिएर काठमाडौं जान भन्यो,’ गुलजारीले भने, ‘अनि गीतासँग प्लेन चढेर काठमाडौं गएँ । एउटा किराना पसलमा एकछिन बसेर बिनय र गीतासँग छोरीलाई छुटाउन सहीछाप गर्ने ठाउँमा गएर सहीछाप लगाई दिएँ।’

सहीछाप गरेर बिनयको घरमा रातिको खाना खाने बेलामा आफ्नी छोरीसँग भेटाइदिन अनुरोध गर्दा गीताले भोलि बिहान मात्रै भेट्न सकिने बताएको उनले सुनाए। गुलजारी थारु भाषा बाहेक अन्य भाषा कमै बुझ्छिन्। ‘बिहानको खाना खाएपछि लास भएको ठाउँमा लगेर यही हो तिम्रो छोरी भनेर उनीहरुले देखाइदियो,’ गुलजारीले दुखेसो गरे। ललितपुरको सातदोबाटो प्रहरी वृतका प्रहरी नायव उपरीक्षक बिनोद सिलवालले गुलजारी चौधरीले आफ्नी छोरी आफैँ झुण्डिएर आत्महत्या गरेको भन्दै जाहेरी दिएपछि पोष्टमार्डम गराएर सदगतका लागि शव बुझेर गएको बताए।

उनले घटना भएको २ वर्षभित्र कुनै प्रमाण भेटिए कारबाही प्रक्रियामा जाने कानूनी व्यवस्था रहेको बताए। आफूहरुले अहिले पनि छानबिन गरिरहेको उनको भनाइ छ। पीडित पक्षले बिनयको सासु–ससुराको नाता पर्ने प्रहरी उपरीक्षक सिलवालले पीडकसँगको मिलेमतोमा हत्यालाई आत्महत्यामा परिणत गरेको आरोप लगाएका छन्।

घटना सार्वजनिक भएपछि मिलाउने षड्यन्त्र
घटनाबारे पत्रपत्रिकामा समाचार छापिएपछि घटनालाई अगाडि नबढाउन सोमबार बिनयले वडाअध्यक्ष कपुरलाल माझीमार्फत ३५ हजार नगद पीडित परिवारलाई बुझाएका छन् । बिनयले गुलजारीलाई घटना अघि नबढाए अन्य छोरीछोरीको पढाउन र परिवार पाल्न खर्च उपलब्ध गराउने प्रलोभन दिँदै आएको पीडित परिवारले बताएका छन् । घटना मिलाउन स्थानीय मनोज भुजेललगायतका केही राजनीतिक दलका नेताहरुले समेत दबाब दिँदै आएको गुलजारीदेवीले गुनासो पोखिन्। उनले आफ्नी छोरीको हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।

सुमन तिमल्सिना/उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published.