मध्य तराईको थारु समुदायमा दाइजो प्रथाले विकराल रुप लिएको छ। बारा, पर्सा र रौतहटमा दाइजोमा मोटरसाइकल अनिवार्यजस्तै भएको छ। यस्तैमा करैयामाइ गाउँपालिकाका कार्यकारी अधिकृत आमोद चौधरीले सबैको ध्यानकृट हुनेगरी विवाह गरेका छन्।
फागुन २८ गते सम्मपन्न विवाहमा उनले कुनै दाइजो नलिइकनै विवाह गरेका छन्। विवाहमा उनले दाइजो एक समाजिक तथा सांस्कृतिक अपराध भएको ब्यानर झुन्ड्यारै विवाह सम्पन्न गरे। नेपाली, अंग्रेजीमा दुबैमा यही भाव झल्किने ब्यानर लगाएर उनले दाइजो प्रथाविरुद्धको अभियानको सुरुवात गरेका छन्।
बारा पाथराका आमोदले बारागढीकी सरिता चौधरीसँग लगनगाँठो कसेका हुन्। अहिले सो क्षेत्रमा नगद, जिन्सी किटान गरेरै दाइजो लिने प्रचलन बढ्दो छ। तर आमोदले बेहुलीतर्फ कोसेलीको रुपमा दिइने सम्पत्ती पनि लिन तयार भएनन्। आमोदले दाइजो माग्नुभन्दा दाइजो लिँदिन भनेर सम्झाउन धेरै गाह्रो भएको बताए। ‘मान्छेहरु जसरी सिधै दाइजो माग्छन्, बार्गेनिङ गर्छन्, त्योभन्दा धेरै गाह्रो मलाई मलाई केही चाहिँदैन भनेर सम्झाउन लाग्यो। जेहोस् मैले उहाँको परिवारलाई यो कुरा सम्झाउन सके। यस्ता कूरीतिहरुविरुद्ध सबैले आ-आफ्नो ठाउँमा आवाज उठाउन जरुरी छ,’ आमोदले भने।
उनले मुलुक २१औं शताब्दीमा प्रवेश गरिसक्दा पनि १८औं शताब्दीको कूसांस्कृतिक नीति नियम अन्त्य गर्नुपर्ने सन्देशसहित लेनदेन बिनै विवाह सम्पन्न गरेको बताए। उनले आफू प्रशासकीय अधिकृतको नाताले करैयामाई गाउँपालिकाको नीति तथा कार्यक्रममासमेत दाइजो प्रथा र बालविवाह न्युनीकरण गर्ने योजना राखेको बताए। त्यसको सुरुवात पनि आफैँबाट गरेको आमोदले सुनाए।
आमोदले दाइजो इन्कार गर्दा भने केटी पक्षकाले केही नदिँदा आफूहरुको बेइज्जत हुने बताएका थिए। त्यसमा बेहुली सरिताको पनि साथ थियो। उनले पनि केही न केही कोसेलीको रुपमा लैजान आग्रह गरेकी थिइन्। तर आमोदको अभियानलाई साकार पार्न सरितासँगै उनको परिवारै केही नदिने कुरामा सहमत भए।
नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, समाजिक तथा राजनीतिकरुपमा समान हुनुपर्ने परिकल्पना गरेको छ। यसरी लैंगिक समानताको बाटोमा हिँडेका समाजलाई विवाहको समयमा भने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु राम्रो होइन। आमोदजस्तै आजका शिक्षित युवापिढीले यसको विरोध गर्न जरुरी रहेको अगुवाहरु बताउँछन्। युवापिढीले नै यसको विरोध गरे अगामी दिनमा दाइजो प्रथालाई जरैबाट फाल्न सकिने उनीहरुको बुझाई छ।