जेलमै अनशन बसेका लक्ष्मण थारु अस्वस्थ, समस्या समाधान गर्न अपिल

कैलाली कारागारमै फागुन २० गते साँझदेखि आमरण अनशनमा बसेका थुनुवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थारु अगुवा र राष्ट्रिय मानव अधिकार आयोगबीच आज भेटवार्ता भएको छ। अनसनमा रहेका २४ जनामध्ये लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रले बताएका छन् । अर्का थुनुवा किसन चौधरीको प्रेसर बढेको जनाइएको छ ।

अनशनमा रहेका थारु नेता लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल पुर्याइएको हो। त्यसैगरी रेशम चौधरीको पनि स्वास्थ्य स्थिति कमजोर बन्दै गएको छ।

फागुन २० गतेदेखि तीन बुँदे माग राख्दै आमरण अनशनमा रहेका उनीहरू सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहाई गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । तर सरकारले हालसम्म उनीहरूको बारेमा बोलेको छैन ।

अनसनमा रहेका थुनुवाहरुको स्वास्थ्य अवस्था विग्रिदै गएकाले आयोगका मान्य सदस्य तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले उनीहरुको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताए।

उनले अनसनमा रहेका थुनुवाहरुको प्राण रक्षाको लागि गृहमन्त्री र प्रधानमन्त्रीसँग आयोग छिट्टै बैठक बस्ने बताए । उनीहरुले लामो समयसम्म यसरी भोकभोकै अनसन बस्दा स्वाथ्य अवस्था झनै विग्रनसक्ने वस्तीले बताए ।

चार दिनदेखि आमरण अनसनमा रहेका थुनुवाहरुको माग राज्यले सुनुवाई नगरेको र उनीहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेकाले बुधबार बसेको छलफलमा थारु अगुवा माधव थारुले आयोगलाई समस्या समाधानका लागि आग्रह गरेका थिए।

 

Leave a Reply

Your email address will not be published.