प्रहरीको यातनाबाट आँखाको ज्योति गुमाएकी मन्त्री विनिता चौधरी

लखन चौधरी/धनगढी।

प्रहरीको यातनाका कारण दायाँ आँखाको ज्योति गुमाएकी विनिता चौधरी प्रदेश नंं. ७ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन् । नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक प्रदेश सांसद बनेकी ३२ वर्षिया बिनिता चौधरी भजनी नगरपालिका–४ धनौराकी स्थानीय हुन् ।

पार्टीको केन्द्रीय आयोजक समिति सदस्य र जिल्ला सचिवालय सदस्य समेत रहेकी उनी २०५७ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेकी हुन् ।

२०५९ सालसा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धताका भूमीगत भई २०६२ सालमा प्रहरी प्रशासनको नियन्त्रणमा परिन् । उनलाई एक वर्षसम्म टीकापुरस्थित सशस्त्र प्रहरीको क्याम्पमा राखिएको थियो ।

जुनक्रममा प्रहरीबाट पाएको चरम यातनाकै कारण उनले दायाँ आँखाको ज्योति समेत गुमाइन् । पार्टी जिल्ला सदस्य पर्शुराम चौधरी र उनीबीच २०६१ सालमा जनवादी विवाह भएको हो । नवनियुक्त मन्त्री विनिता चौधरीको प्राथमिकतामा मुक्तकमैया पुनस्र्थापना परेको छ ।

आज पदभार ग्रहण गरेकी उनले आफ्नै कार्यकालभित्रै मुक्तकमैया, मुक्तहलिया पुनस्र्थापना, सुकुमवासी समस्यालगायत प्रदेशको समस्यालाई समाधान गर्ने नै आफ्नो प्रमुख कार्ययोजना रहेको उनले लोकान्तरलाई बताइन् ।

यो संगै वैज्ञानिक भूमि सुधारको काम पनि अगाडी बढाउने आफ्नो प्राथमिकताको योजना रहेको उनले सुनाइन् । त्यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण र सहकारी कार्यक्रममार्फत रोजगारी सिर्जनाको काम अगाडी बढाउने पनि मन्त्री चौधरीको पञ्च वर्षे कार्ययोजना रहेको छ ।

विनिता चौधरी प्रदेश नं. ७ बाट थारु समुदायवाट मन्त्री हुने एक्ली सांसद हुन् ।

Leave a Reply

Your email address will not be published.