वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

एमालेको प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनी मन्त्री बनेका हुन्।  प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्।

उनीसँगै माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा नियुक्त भए। चौधरी र केसीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

थरुहट आन्दोनबाट बिच्किएका थिए वैजनाथ
थरुहट आन्दोलनमा थारु समुदाय विरुद्ध बोलेर अलोकप्रियता कमाए पनि नवलपरासीको प्रभावशाली नेताको रुपमा चिनिन्छन् वैजनाथ चौधरी । थरुहट आन्दोलनको क्रममा उनको घरमा तोडफोड पनि गरिएको थियो । २०७० मा चुनाव जित्दा थारु समदायका अधिकांशले भन्थे, अव उनले कहिल्यै चुनाव जित्ने छैनन् । तर नवलपरासी (पश्चिम) बाट उनी अहिलेको चुनावमा प्रदेश सभामा चुनिए । अझ उनको चर्चा भावी मुख्यमंत्रीको रुपमा समेत भएको थियो ।

थरुहट/मधेश आन्दोलन उत्कर्षमा पुग्दा सदनमा वैजनाथले मधेसीया र पहाडिया बीचमा सामाजिक सद्भाव खल्बल्याउनु हुन्न, जातीय अहंकारमा जानु हुँदैन भनेर आवाज उठाइ आफ्नो पार्टी एमालेको मन जितेका थिए ।

उनको जन्म तेत्तर प्रसाद थारु र फूलमती थारुको कोखबाट २०२२ साल असार १४ गते नवलपरासीको बर्दघाट सुस्ता पश्चिम सरवल गाउँपालिका २ मगर मुडाहामा भएको हो । सामान्य किसान परिवारमा जन्मेका उनका श्रीमती द्रौपदी सहित २ छोरी वर्सा र निसा अनि१ छोरा विजय छन् । उनी अहिले पनि ३२ जनाको संयुक्त परिवारमा बस्छन् । भन्छन्, ‘हामी अहिले पनि सबै जना मिलेर बसेका छौँ, आपसी मेलमिलाप राम्रो छ ।’

पुल्चोक इन्जिनियिरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेका उनले समाजशास्त्र तथा राजनीति शास्त्रमा स्नातक पनि गरेका छन् । उनले २०३८ सालबाट पूल्चोक क्याम्पसमा भर्ना भएपछि त्यहाँबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए । अनेरास्ववियुको प्रारम्भिक कमिटिबाट राजनीतिक यात्रा सुरु गरी २०४७ सालमा राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य भएका थिए, उनी । त्यही वर्ष एमाले जिल्ला कमिटि सदस्य पनि भए । ६ वर्षसम्म जिल्ला कमिटीको उपसचिव भएका चौधरी २०४९ देखि १० वर्ष जिल्ला विकास समिति, नवलपरासीको पहिलो जिल्ला सभापतिको पद सम्हालेका थिए । उनी हाल एमालेको बैकल्पिक केन्द्रिय सदस्य छन् । आठौँ अधिवेशनबाट केन्द्रिय सदस्य पदमा रहेका उनी २०७० सालको चुनावमा सभासद बनेका थिए र अहिले उनी प्रदेश सभाबाट जितेका छन् ।

‘म थारु भएको नाताले हाम्रा माग मुद्धाहरु सम्बोधनको कोसिसमा लाग्नेछु, ’ उनी भन्छन् । ‘नवलपरासीदेखि बर्दियासम्म थारु बहुल क्षेत्र हो । पाँच नं. प्रदेशको सदस्य भएकोले थारुहरुको उत्थानका लागि विशेष कार्यक्रमहरु ल्याउने उनी बताउँछन् । हामीसँग स्रोत साधन थुपै्र छ तर राम्ररी उपभोग गर्न जानेका छैनौं । म आफ्नो प्रदेशको सम्भावनालाई राम्ररी पहिचान गरी सही सदुपयोग गराउनेछु ।’

Leave a Reply

Your email address will not be published.