दश कक्षामा पढ्ने विद्यार्थीको दुवै मृगौला फेल

कारी महतो/चितवन।
फागुन १, खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित कंकाली माध्यमिक विद्यालय कक्षा दशमा पढ्ने १७ वर्षीय विद्यार्थी लडाई सहनीको दुवै मृगौला फेल भएको छ । उनको नाक र कानबाट रगत बग्न थालेपछि पर्सा बजारको चौधरी पोलिक्लिनिकमा सामान्य चेकजाँच गर्दा मृगौला खराब भएको रिपोर्ट आएपछि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा थप परीक्षण गर्दा दुवै मृगौला फेल भएको थाहा भएको लडाई सहनीका आमा रुपिया सहनीले बताइन् । अहिले उनको काठमाडौको सुमेरु अस्पतालमा उपचार भईरहेको छिमेकी सीता विकले बताइन् ।
धेरै लामो समयसम्म ज्वरो आउने र कहिलेकाही नाकबाट रगत निस्किने गरेको थियो । ज्वरो आउँदा स्थानीय मेडिकलबाट औषधी किनेर खाई स्कुल जाने गरेका आमा रुपिया सहनीले बताइन् । परीक्षाकै समयमा च्यापेपछि लडाई सहनीले दश कक्षाको प्रवेशिका ल्याकत परीक्षाको अर्थशास्त्र र लेखा विषयको परीक्षा दिन नपाएको सहनी परिवारले बताए ।

खैरहनी नगरपालिका वडा नं. २ को ऐलानी जग्गामा घर बनाई बसेका सहनी परिवारले अरुको जग्गा भाडामा लिई तरकारी खेती गर्ने गरेका छन् । आफ्नो तरकारी खेतमा काम गरेर बाँकी रहेको समय अरुको खेतमा गई कृषि मजदुरी गर्ने गरेका बुवा माधो सहनीले छोराको उपचार गर्न आर्थिक अभाव भएको बताए । तीन लाख रुपैयाँ ऋण लिएर काठमाडौं उपचार लिएर गएकोमा सबै रकम खर्च भई बेखर्ची भएको बुवा माधो सहनीले बताए । तीन छोरा र एक छोरी मध्ये जेठो छोराको स्वास्थ्य खराब भएपछि सहनी परिवार निकै चिन्तित छन् ।

अध्ययनसँगै घरायसी कामकाजमा उत्तिक्कै सक्रिय रहने विद्यार्थी लडाई सहनी विद्यालयको जुनियर रेडक्रस सर्कलमा पनि सदस्य पदमा रहेर समाजसेवा गर्दै आएका शिक्षक नायक सकुन्तला अधिकारीले जानकारी दिएका छन् । खेलकुद लगायत विद्यालयको अतिरिक्त कार्यक्रममा सहभागी भई पुरस्कृत हुने गरेका जेहेन्दार विद्यार्थी लडाई सहनीको उपचारका लागि विद्यालय अन्तर्गतको जुरेसबाट अर्थिक संकलन अभियान चलाउने कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यपक अन्जना आचार्यले बताइन् ।

Leave a Reply

Your email address will not be published.