खिचरा महोत्सवको तयारी अन्तिम चरणमा, १८ फिटको एलइडी स्क्रिन राखिने

कारी महतो/सन्तकुमार चौधरी।चितवन।

पाँचौ खिचरा महोत्सव २०७४ को मुख्य आकर्षण अठार फिटको दुईवटा एलइडी स्क्रिन हुने भएको छ। नेपालभरिको कुनै पनि महोत्सवमा प्रयोग नभएको एलइडी स्क्रिन स्टेजको दुवै साइडमा राखिनेछ। त्यस एलइडी स्क्रिनमध्ये एउटामा प्रायोजक तथा सहयोगीहरुको विज्ञापन प्रदर्शन र अर्कोमा स्टेजका कलाकार र परिसरका सम्पूर्ण दृष्यहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ।

पुस २८ देखि माघ ८ सम्म हुने महोत्सवमा मिलन लामा, प्रमोद खरेल, शिव परियार, पशुपति शर्मा, ज्योति मगर, रामजी खाँड, मिलन अमात्य, मीना निरौला, संजय चौधरी, मनोज महतो, सुरेश लामा, कमल खत्री, रमेशराज भट्टराई, भुवन प्यासी, मानस राज, अन्नु चौधरी, अन्जु कुश्मी लगायत ५० भन्दा बढी राष्ट्रिय गायक तथा कलाकारहरुको प्रस्तुति रहनेछ । हरेक दिन थारु साँस्कृतिक नाच गीतहरु जस्तै ठेकरा, झर्रा, लाठी, झमटा, झुमरा प्रस्तुति हुनुका साथै हरेक दिन रत्ननगर कला मन्दिर, रत्ननगर डान्स एकेडेमी, जिके डान्स ग्रुपको दमदार डान्स प्रस्तुति हुने कुरा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवनको खैरहनी नगरपालिकाले आयोजना गरिएको महोत्सव खैरहनी–५, जबकौली गौचरनको शान्तपूर्ण, रमणीय र ठूलो चौरमा ११ दिनसम्म चल्नेछ।

थारु खानाका परिकारहरुको प्रचारप्रसार, थारु संस्कृति र साँस्कृतिक सीपको संरक्षण तथा समग्र कृषि, पर्यटन, व्यापार­व्यवसायको प्रवद्र्धन, आपसी सदभाव, भाइचारा एवम् मेलमिलाप अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको मुख्य नारा ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ रहेको छ।

महोत्सवमा प्रवेश शुल्कका रुपमा रु.५० र विद्यार्थीका लागि (परिचयपत्रका आधारमा) रु.३० कायम गरिएको छ। रु ५० को प्रत्येक टिकटमा रु २५ को एउटा पल्पी जुस उपहार स्वरुप प्रदान गरिनेछ। महोत्सवको अन्तिम दिनमा बिक्री भएको टिकटबाट गोलाप्रथाबाट एकजनालाई ३५ हजार बराबरको बक्स पलङ्गको बम्पर उपहार प्रदान गरिनेछ।

महोत्सव आयोजनाका लागि १५१ सदस्यीय पाँचौ खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि ३१ वटा विभिन्न समितिहरु गठन गरिएका छन्। पाँचौ खिचरा महोत्सव २०७४ को संरक्षक खैरहनी नगरपालिका रहेको छ।

महोत्सवमा थारु खाना र फुड स्टलहरु, अटो परिसर, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, थारु परम्परागत साँस्कृतिक घर र मचान निर्माण, बाल उद्यानमा मनोरञ्जन गर्न पाउनुका साथै परिसरको तीनतिर बगेको बुढी राप्तीमा बोटिङको व्यवस्था रहेको छ। यसवर्ष थप गरिएको प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी, थारु जातिका मुख्य खानामध्ये घोङी र चिचरको विशाल मूर्ति प्रदर्शनी, महोत्सव स्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी, राष्ट्रियस्तरको नकआउट भलिबल प्रतियोगिता, हस्तकला, मूर्तिकला तथा चित्रकला प्रदर्शनी र फेसपेन्टको सुविधा, सेल्फी फोटो प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष बढी उमेर समूहको दौड प्रतियोगिता, थारु भेषभुषा लगाएर फोटो सेसन गरी पाँच मिनेट भित्रमा फ्रेम सहित फोटो उपलब्ध हुने व्यवस्था मिलाइएको आज पत्रकार सम्मेलन मार्फत पाँचौ खिचरा महोत्सव २०७४का संयोजक नारायण प्रसाद महतोले जानकारी दिएका छन्।

आन्दोलनका घाइते सन्जीत महतोलाई आर्थिक सहयोग र सम्मान, आन्दोलनका घाइतेलाई ४६ दिनसम्म हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था मिलाउने भरतपुर स्थित एलाइभ हस्पिटल एवम् ट्रमा सेन्टरका डा. प्रमोद लामिछाने र हस्पिटलका प्रबन्ध निर्देशक डा. बिएम खरेललाई समुदघाटन समारोहमा सम्मान गरिनेछ।

यो पटक
प्रचार प्रशारको शैली– पाँचौ खिचरा महोत्सवको प्रचार प्रसार तीब्र पारिएको छ। प्रचार प्रसार समितिले चितवनको गाउँ गाउँमा पुगेर खिचरा महोत्सवको बारेमा माइकिङ गर्ने, पम्पलेट टास्ने कामलाई तीब्रता दिएको छ। राजमार्गदेखि भित्रि राजमार्ग भएर गाउँ गाउँसम्म पुग्ने माइक्रो बस, म्याजिक बसलगायत अन्य सवारी साधनहरुमा खिचरा महोत्सवको व्यानगर टास गरेर प्रसार प्रसार गरिरहेको छ।

कृषि तथा सांस्कृतिक– यो पटक कृषिलगायत सांस्कृतिक सामग्रीको प्रतियोगितात्मक प्रदर्शनीलाई उच्च प्राथमिकतामा राखिएको छ। उत्कृष्ठ कृषि प्रदर्शनी गर्नेहरुमध्ये २० वटा विद्यामा पुरस्कार वितरण गर्ने तयारी छ। कृषिमा मात्रै १ लाख रुपैयाँ पुरस्कारका लागि रकम विनियोजन गरिएको छ। यस्तै सांस्कृतिक सामग्री प्रदर्शनीतर्फ ४६ हजार रुपैयाँ पुरस्कारका लागि विनियोजन गरिएको छ।

रनफर हेल्थ– स्वास्थ्यका लागि दौड भन्ने नारा दिएर यो पटक ४० वर्ष भन्दामाथि उमेर पुगेकालाई लक्षित गरेर दौड प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगीतामा सहभागी भएकामध्ये उत्कृष्ट तीन जनालाई नगदसहितको राशिले पुरस्कार प्रदान गरिनेछ। यसका लागि ६० हजार रुपैयाँ पुरस्कारकै लागि विनियोजन गरिएको छ।

भलिबल– योपटक महोत्सव परिसरमै राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगितामा चितवन, नवलपरासी लगायत अन्य जिल्लाका भलिवल खेलाडीहरुले सहभागिता जनाउँदैछन्। भलिवल प्रतियोगीताका लागि ९० हजार रुपैयाँ पुरस्कार राशि विनियोजन गरिएको छ।

जंगल सफारी– खिचरा महोत्सवले यो पटक जंगल सफारी गर्ने अवसरसमेत जुराउने भएको छ। खिचरा महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको इच्छाअनुसार कुमरोज सामुदायिक वनमा जिप सफारी गर्न सक्ने व्यवस्थापन गरेको छ। निश्चित रकम तिरेर सामुदायिक वनमा जीप सफारी गर्दै जंगली जनावर हेर्न सक्नेछन्। यस्तै थारु समुदायकै रहन सहन अनुसार बास बस्न खोज्नेहरुका लागि कठार क्षेत्रमा निर्माण भएको होमस्टेमा बास बस्ने व्यवस्था समेत गरेको छ।

सेल्फी प्रतियोगिता- खिचरा महोत्सव अवलोकन गर्न आउनेहरुले सेल्फी फोटो खिचेर पनि पुरस्कार जित्न सक्ने अवसर छ । महोत्सव भित्र पुगेका दर्शकले आफ्नै मोबाइल वा क्यामेरा मार्फत सेल्फी फोटो खिचेर खिचरा महोत्सवको आधिकारीक फेसबुक पेजको इन बक्समा पठाएपछि आयोजकले त्यसलाई पेजमा प्रकाशीत गर्नेछ । प्रकाशित फोटामा लाइक र शेयरका आधारमा नगद १५ हजार मूल्य बराबरको मोबाइल २ जनाले जित्नेछन्।

टिकटमा जुस फ्रि– खिचरा महोत्सवमा दुईवटा मुल्य बराबरको टिकट लिन पाइने व्यवस्था गरिएको छ । विद्यार्थीलाई २५ रुपैयाँ र अन्यलाई ५० रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ । ५० रुपैयाँको टिकट खरिद गरेवापत प्रत्येक १ वटा टिकट सँगै एउटा पल्पी जुस सित्तैमा पाउनुहुनेछ । यस्तै टिकट खरिद कर्ताहरुका लागि बम्पर उपहार स्वरुप ३० हजार मूल्य बराबरको काठको पलङ राखिएको छ । महोत्सव समापनको दिन समापन सँगै बम्पर उपहार विजेताको नाम सार्वजनिक गरिनेछ । वम्पर उपहारमा विद्यार्थीहरुको टिकट सहित विक्री भएका सबै टिकट समायोजन हुनेछन ।

Leave a Reply

Your email address will not be published.