रेशम चौधरीले किन धेरै भोट पाए? यस्तो छ कारण

थारु समुदायमा कैलालीको क्षेत्र नम्बर १ चर्चाको विषय बनेको छ। यहाँ टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी प्रतिनिधि सभा उम्मेदवार छन्। पछिल्लो परिणाम अनुसार उनी चार गुणा बढी मतले अगाडि देखिन्छन्। उसो भए रेशम चौधरी विजयी बन्छन्? आम थारुहरुको मनमा यही प्रश्नले जडा गाडेको छ।

गणितीय तथ्यांक केलाउँदा कैलाली क्षेत्र नम्बर १ मा कूल मतदाता ९३,६७२ छन्। प्रतिनिधिसभा चुनावमा यहाँ ६३ प्रतिशत मत खस्यो। जसको संख्या करिब ६० हजार आसपास हुन्छ। तीन स्थानीय तह अर्थात् टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकाको आधा र जानकी गाउँपालिकाको आधा भाग यस क्षेत्रमा पर्छन्। टीकापुर बजारमा ११ हजार मतदाताबाहेक यस क्षेत्रमा थारु मतदाताहरुको बाहूल्य छ। ‘सेन्टिमेन्ट्स मतदाता’को उपमा पाएका थारुहरुले यसपटक विचार गरेरै स्वस्तिक छाप हानेको जस्तो देखिन्छ। यही मतान्तरले जाने हो भने ३० हजार गनि नसक्दै रेशम चौधरीको जित सुनिश्चत हुने आँकडाले देखाउँछ।

गत स्थानीय तहमा जितको मुखमा पुगेर पनि थारु उम्मेदवारहरु पराजित भए। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र तत्कालीन लोकतान्त्रिक फोरमका उम्मेदवारबीच कडा टक्कर देखिएको थियो। माओवादी र लोकतान्त्रिक फोरमका थारु उम्मेदवार जित नजिक पुगेर झिनो मतले पराजित हुन पुगे। जसको प्रमुख फ्याक्टर थारु मत बाझिनु थियो। थारु थारु मत बाझिएर एमाले र कांग्रेसका उम्मेदवार क्रमशः मेयर र उपमेयरमा विजयी बनेका थिए।

यही सिन्यरियोले त्यहाँका थारुहरुमा चेत खुलेको अनुमान त्यहाँका अगुवाहरुले गरेका छन्। त्यसो त दुई वर्षदेखि टीकापुर घटनामा २५ जना थारुहरुलाई राज्यले कैदी बनाइएको छ। बिना कसुर उनीहरुको जीवन बर्बाद बनाएको छ। त्यस क्षेत्रका सयौं थारुहरुलाई प्रहरीले मुख्य अभियुक्त बनाएको छ। जसका कारण उनीहरु निर्वासित जीवन बिताउन बाध्य छन्। आफ्नै घर जलाइँदा, प्रहरी प्रशासनको दमनमा परिँदा पनि जेल जीवन बिताउनुपर्ने बाध्यताका कारण पनि परिणाम उल्टिनुको प्रमुख कारण हुनसक्ने अनुमान लगाउन सकिन्छ।

त्यस क्षेत्रका थारुहरु रेशम चौधरीलाई जिताएर टीकापुर घटनाले दिएको पीडा र विभेद् बिर्सन चाहन्छन्। त्यसैले ‘कैदी बनाइएका थारुहरु निर्दोष हुन्, फरार सूचीमा रहेकाहरु निर्दोष हुन्’ भनी साबित गर्न त्यहाँका थारुहरु रेशमको पक्षमा भोट हालेको अनुमान त्यहाँका थारु अगुवाहरुको छ। तर रेशमको जितसँगै उनीहरुले सोचेको जस्तो उनीहरुका घाउ निको होलान्? कैदी थारुहरु छुट्लान्? निर्वासित जीवन बिताउनेहरु घर फर्किने वातावरण बन्लान्? यी यावत् प्रश्नको जवाफ जनताले पाउने नै छन्।

Leave a Reply

Your email address will not be published.