थारु समुदायको लागि अग्‍नि परीक्षा

वीरभद्र थारु।
थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएपछि तत्कालीन सरकार र राष्ट्रिय राजनीतिमा रहेका नेताहरुले भनेका थिए । ‘आततायी घटना घटाउने, जो कोही होस, त्यो आतंककारी हो । यो राजनीतिक घटना हुनै सक्दैन । आपराधिक मानसिकताले घटाइएको घटनामा संलग्न व्यक्ति अपराधिमात्रै होइन । आतंककारी हो ।’

सरकार र सदन समक्ष ब्रिफिङ यही थियो । नेताहरुको भनाई भुसको आगो झैँ सञ्चार माध्यममा छायो । थरुहट आन्दोलनको क्रममा घटना घटेकाले सिंगो थारु समुदायलाई आतंककारीको नजरियाले हेर्न थालियो । कतिसम्म भने, सामाजिक सञ्जालमा थारु समुदायलाई नानाथरी अपशब्द प्रयोग गरेर गाली बर्सिन थाले । सामाजिक सञ्जालमा आएका त्यस्ता कुरा एउटा थारु समुदायका व्यक्तिले हेर्न आँट पनि गर्न सक्ने खालको थिएन । घटना भएको दुई वर्ष बितेको छ । त्यहि घटनामा संलग्नताको आरोपमा पक्राउ परेका २५ जना थारु नेता पुर्पक्षको नाममा दुई वर्षदेखि नै जेल जीवन जिउन बाध्य छन् ।

समयक्रम अगाडि बढेसंगै हिजो थारुलाई आतंककारी शैलीमा हमलावाल भन्नेहरु आज भोटका लागि थारु समुदायकै बस्तीमा हात जोड्दै आश्वसन बाँड्दै हिँडिरहेका छन् । टीकापुर घटनाताका थारुलाई आतंककारी देख्नेहरु भोटकै लागि आज थारु समुदायका व्यक्तिहरुलाई दाजुभाई, इष्टमित्र, संघारी, बाबादाई, बुदीबुदु देख्न थालेका छन् । थारु पहाडीबीचको सद्भावको मन्त्र जपेर जसरी पनि भोट कुम्ल्याउने खेल खेल्न थालेका छन् ।

हो, थारु समुदायका एक–एक व्यक्ति यो देशको सच्चा नागरिक भएकोले सबैले आ–आफ्नो मताधिकारको प्रयोग गर्नु आवश्यक छ । र, गर्नु पनि पर्छ । तर, कुन नेतालाई किन, भोट हाल्ने भनेर सोच्ने अत्यन्त महत्वपूर्ण समय पनि आएको छ । किनभने, अहिले हामीले आफ्नो पक्षमा बोल्ने नेतालाई जिताउन सकेनौं, वा हामीलाई आतंकारी भन्ने नेतालाई नै भोट दिएर जितायौं भने पछि फुर्सद्मा पछुताउने अधिकार पनि हामीलाई मिल्नेवाला छैन । हामी निर्धक्कसंग आफ्नो गुनासो राख्ने ठाउँ पनि पाउनेवाला छैनौ । किनकि, हिजो टीकापुरकाण्डताका हामीलाई आतंककारीको नजरियाले हेर्ने नेता भोली जितेर गएपछि संघारी, बाबादाई, बुदीबुदु देख्लान भन्ने कुनै ग्यारेन्टी छैन । हिजो हामीलाई आतंककारी देख्नेले भोली पनि त्यहि नै देख्न सक्छ । त्यस्तै व्यवहार गर्न रत्तिभर पनि पछुतो मान्न सक्दैन ।

थरुहट आन्दोलन दबाउनका लागि धनगढीमा तैनाथ भएका सुरक्षाकर्मी ।

अधिकार प्राप्तीको आन्दोलनको क्रममा टीकापुरमा राज्यको असावधानीवश जुन घटना घट्यो त्यो अत्यन्त पीडादायी घटना हो । त्यो घटनाले कुनै एक जात, जाति, समुदाय, वर्गलाई मात्र नभइ सबैलाई दुःखी बनायो । र, यस्तो घटना कदापि घट्नु पनि हुन्न । टीकापुर घटनापछिको दोस्रो दिन अर्थात भदौ ८ गते कफ्र्युकाबीच टीकापुर र आसपासमा रहेका थारुका घर छानीछानी जलाउने काम भयो । थारुहरुको घरमा आगो दन्केको बेला ७ गतेको घटनाको प्रतिशोधमा ठिकै भएको छ, भन्नेहरु पनि भेटिए, देखिए । राज्य र गैरथारु समुदायबाट भौतिक, मानसिक आक्रमण जारी रह्यौ । यतिसम्मको दमन भयो कि गाउँ नै खाली हुने गरी थारु समुदायका युवाहरु भारततिर भाग्न बाध्य भए ।

हामीलाई आतंककारी भनियो । गाली गरियो । टीकापुर र सो आसपास बसोबास गर्ने थारु समुदायका कतिपयलाई कुटपिट गरियो, शारीरिक, मानसिक यातना दिइयो । कतिसम्म भने, थारुको जस्तो वर्ण, छाला, अनुहार देखिने पहाडी समुदायका व्यक्ति पनि कुटिए, पिटिए । यसले नै पुष्टि गर्दछ, टीकापुर घटनापछि थारु समुदायमाथि कुन खालको दमनभयो भनेर ।

त्यसैले हिजो हामीमाथि भौतिक, बौद्धिक रुपले आक्रमण गर्नेहरुलाई भोटले पाखा लगाउने बेला आएको छ । यो निर्वाचन थारु समुदायको लागि चुनावमात्रै हैन, अग्नी परीक्षा पनि हो । हाम्रो सांस्कृतिक पहिचान सहितको अधिकार, थरुहट आन्दोलनले उठाएको मागमुद्दा विरुद्ध बोल्नेलाई तह लगाउने सुनौलो अवसर हो । त्यसकारण, यो निर्वाचनमा थारु समुदायका मतदाता अत्यन्त सचेत र सतर्क हुन जरुरी भइसकेको छ । किनभने, अहिले चुक्यौं भने हामी कहिल्यै उठ्न नसक्ने गरी खाल्डोमा पर्नेवाला छौं ।

थरुहट आन्दोलन यतिबेला बिल्कुलै धरमराएको छ । आन्दोलनले उठाएको माग मुद्दा तुहिएका छन् । अब यो आन्दोलन र तुहिएको मागमुद्दालाई पुनःजीवन दिन सक्ने नेताको हामीलाई खाँचो भइसकेको छ । मुलुकमा पछिल्लो परिवर्तीत रानीतिक घटनाक्रम, सत्ता खेलबाजीको जोड घटाउँसंगै हिजोका दिन थरुहट आन्दोलनका आफूलाई मसिहा बताउने थारु नेताहरु पनि अहिले स्वार्थको दलदलमा सती गइसकेका छन् । थरुहट आन्दोलनका मुद्दा बोकेर केवल दुई÷तीन जना नेतामात्रै चुनावी मैदानमा छन् । कतिपय थारु नेता हामीलाई आतंककारी भन्नेहरुको गुलाम भइसकेका छन् । उनीहरु थारु आवरणमा मात्रै छन् । अन्धभक्त अरुकै भएकाले बोली उनकै बोल्ने गर्दछन् ।

अझ, मन त तब कुडिएर आउँछ, जब, हिजो हामीलाई आतंककारी भन्नेहरुका लागि मै हुँ भनाउँदा थारु नेता थारु बस्तीमा भोट माँग्दै हिड्दछन् । धिक्कार छ, त्यस्तालाई । कतिपय थारु नेताले आफ्नो इमान त बेचे बेचे अब आफ्नो स्वार्थ पूर्तिका लागि हाम्रो भोट पनि बेच्न खोजीरहेका छन् । यो भन्दा ठूलो बिडम्बना अरु कुनै हुन सक्दैन । हाम्रै थारु नेता भनाउँदाहरुले हामीलाई आतंककारी देख्नेको पक्षमा थारु समुदायको भोट पार्नका लागि विभिन्न लोभ लालच, प्रलोभन देखाइरहेका छन् । खबरदार ! थारु जातिको भावनामाथि खेलेर राजनीति गर्ने थारु नेता गद्दार हो । यदि, तिमीहरु आफ्नो समुदायको हित देख्न सक्दैनौ भने थारु बस्तीमा गएर अर्काको लागि भोट माग्ने अधिकार पनि छैन । यस्ता, अवसरवादीहरु थारु समुदायको लागि भाइरस हुन भनेर बुझ्न आवश्यक छ ।

२०७० को आन्दोलनका क्रममा सुरक्षाकर्मीको कुटाईबाट घाईते भएका लक्ष्मण थारु ।

त्यसैले, कैलालीका थारु समुदायका आमाबुवा, दाजुभाइजु, इष्टमित्र, दिदीबहिनी लगायत सबै मान्यवरहरु, यो चुनावमा हामी कसैको प्रलोभनमा परेर हैन आफ्नो विवेक प्रयोग गरेर आफ्नो अधिकारको पक्षमा बोल्नेलाई जिताऔं । कतिपय थारु नेता अब हाम्रा रहेनन् । उनीहरुलाई पनि चिनौं र सच्चा थारु नेता पनि चिनौं । यदि, सानोतिनो प्रलोभनमा परेर हामीले हामीलाई नै आतंककारी भन्नेहरुलाई भोट दियौं भने, हाम्रा अधिकारको पक्षमा बोल्ने व्यक्ति कहिल्यै केन्द्रसम्म पुग्नेवाला छैनन् ।

विक्रम सम्वत २०६८ सालको जनगणनानुसार ७ लाख ७५ हजार ७०९ जनसंख्या रहेको कैलालीमा सबैभन्दा बढी थारु जातिको ३ लाख २२ हजार १२० जनसङ्ख्या छ । यो कैलालीको कुल जनसंख्याको ४१.५३ प्रतिशत हो । यसपछि दोस्रो स्थानमा रहेको क्षेत्रीको जनसङ्ख्या यहाँ कुल जनसंख्याको २१.१३ प्रतिशत रहेको छ । अर्थात, १ लाख ६३ हजार ८८४ क्षेत्रीको जनसंख्या छ । तेस्रो स्थानमा रहेको बाहुनको ९६ हजार २५९ जनसंख्या छ । यो जिल्लामा अरु जातको तुलनामा झण्डै दोब्बर बढी जनसंख्या रहेको थारु समुदायका मतदाता नै यहाँ निर्णायक हो । आफ्ना्े जातिय जनसंख्या धेरै रहेकै जिल्लामा थारु उम्मेदवारले जितेनन् वा हामीले उनीहरुलाई जिताउन सकेनौं भने भोलीका सन्ततिले हामीलाई सराप्नेछन् ।

कैलालीको क्षेत्र नम्बर १, २, ३ र ५ मा थारु उम्मेदवार जित्ने प्रबल सम्भावना छ । तर, यसका लागि थारु समुदायको भोट एक ठाउँमा पर्न जरुरी छ । किनभने, टीकापुर घटनाकै कारणले कतिपय पार्टीका थारु उम्मेदवारलाई पहाडी समुदायको भोट आउने सम्भावना छैन । कुरा टीकापुरकै गरौं, लोकतान्त्रिक वा वाम जुनसुकै गठबन्धनमा उठेका थारु समुदायका उम्मेदवारले पहाडी समुदायको भोट पाउने अवस्था छैन । बाहिर प्रचारमा जे भनिए पनि निर्वाचनमा यहि हुनेवाला छ । त्यसैले अब हाम्रै काँधमा जिम्मेवारी आएको छ । अब हामीले, हाम्रो हक अधिकारका लागि लडिरहेका सच्चा थारु नेतालाई जिताउने वा, थारुलाई आतंककारी भन्नेहरुलाई ? स्मरण रहोस, हामीलाई आतंककारी देख्ने नेताहरुको मतियार पनि कतिपय थारु नेता भनाउँदाहरु नै छन् । थारुको खोल ओढेका त्यस्ता मतियारलाई पनि यो निर्वाचनमा पाखा लगाउन आवश्यक छ । यो चुनाव स्थानीय तहको जस्तो होईन । केन्द्र र प्रदेश सरकारसम्म पुग्नको लागि हो । त्यसैले विवेक प्रयोग गरौं । सच्चा थारु नेतालाई जिताऔं ।

Leave a Reply

Your email address will not be published.