कृष्णकुमार चौधरी, जो उत्पीडित वर्गको अधिकारका लागि लड्दै आए

इन्द्रेणी थारु।

‘राजनीतिलाई व्यवसायको रुपमा लिन थालियो । राजनीतिको यस्तो बिग्रिएको छबि अब युवाहरुले सुधार्नुपर्छ । त्यसका लागि उनीहरु आफैँ राजनीतिमा सक्रियता देखाउनुपर्छ,’ कैलाली क्षेत्र नम्बर ३’ख’ का प्रदेशसभा उम्मेदवार एवं युवा नेता कृष्ण कुमार चौधरी भन्छन् ।

वि.स. २०३५ भदौ १० गते प्यारीदेवी चौधरीको कोखबाट जन्मेका चौधरीको बाबुको नाम छोटुराम चौधरी हो । किसान परिवारमा जन्मेका उनको बाल्यकाल कैलालीको गदरीया गाउँमा बित्यो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी नेकपा एमालेको विद्यार्थी संगठनमा रहेर काम गरे । औपचारिक शिक्षा हासिल गरेपपछि सिबिआर प्रोजेक्टमा उनले जागिर पनि गरे । उक्त प्रोजेक्ट नेत्रविहीनहरुका लागि काम गथ्र्यो । त्यही बेला उनले ब्रेल लिपी पढ्न सिके । उनी अहिले पनि ब्रेल लिपी राम्ररी पढ्न सक्छन् ।

जनयुद्धकालको नेतृत्व
शोषक सामन्तका विरुद्ध लड्न उनी तत्कालीन नेकपा माओवदीले सञ्चालन गरेको जनयुद्धमा होमिए । शासकहरुविरुद्ध लड्न पाउँदा उनी गर्व महसुस गर्थे । उत्पीडित जाति वर्गकै लागि जन्मिएजस्तो हुन्थ्यो उनलाई त्यही भएर जनयुद्धमा सँगैका साथीहरुको गुमाउँदा पीडा हुने गरेको बताउँछन् । त्यसबेला बाँच्ने मर्ने ठूलो कुरा थिएन, जनवादी क्रान्ति सफल पार्ने र उत्पीडितहरुलाई अधिकार दिलाउने कुराले बढी महत्व राख्ने उनी सम्झिन्छन् ।

शसस्त्र युद्धमा होमिएको पार्टी नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधान सभाको चुनावमा कैलाली क्षेत्र नं ४ बाट उनी प्रत्यक्ष उम्मेदबार बने । २७ हजार ५ सय ९४ भोट ल्याएर उनी सभासद् पनि बने । संविधान सभा सदस्य भएर नेपालको संविधान लेखनमा सहभागी हुनु त छँदै थियो, त्यससँगै उनले आफ्नो क्षेत्रको विकासका लागि काम गरे । आफ्नो क्षेत्रमा एम्बुलेन्स ल्याए । शहिदहरुको सम्झनामा शहिद स्मृति विद्यालयको स्थापना गरे ।

डा. बाबुराम भट्टराईले माओवादीबाट राजीनामा दिएर आफ्नै पार्टी खोल्ने उद्घोष गरेपछि कृष्ण कुमारले पनि माओवादी परित्याग गरे । अहिले उनी नयाँ शक्ति पार्टी नेपालको केन्दी्रय महाधिवेशन आयोजक समिति सदस्य, केन्द्रीय सचिवालय सदस्य र प्रदेश नं ७ को प्रदेश संयोजकको जिम्मेवरी निभाइरहेका छन् ।

थरुहट आन्दोलनको नेतृत्व
थरुहट थारुवान आन्दोलनमा कैलालीबाट उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । टीकापुर घटनापश्चात थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक लाहुराम चौधरी पक्राउ परेपछि समितिको कार्यबाहक संयोजकको जिम्मेवारी पनि कृष्ण कुमारलाई थपियो ।

आफ्नो स्वार्थभन्दा समुदायको स्वार्थका लागि जनयुद्धकालदेखि नै समय खर्चिने उनी शसस्त्र युद्धका बेला भूमिगत जीवन बिताए । थरुहट आन्दोलनका बेला पनि आफ्नो सम्पूर्ण समय खर्चेर उनी होलटाइमर आन्दोलनकारी बने ।

मंसिर २१ गते हुन गइरहेको चुनावमा प्रदेश सभामा कैलालीको क्षेत्र नं ३‘ख’ बाट उम्मेदवारी दिएका उनी भन्छन्– ‘यो चुनावमा जोखिम लिएर उठेको छु । म समुदायको नेता हुँ । म हारे समुदाय हार्छ र जिते समुदायकै जित हुन्छ ।’
उनले उम्मेदवारी दिएको क्षेत्र थारु बाहुल क्षेत्र हो । तर बाम गठबन्धनबाट अमर साउद र नेपाली कांग्रेसबाट लक्ष्मण शाही उनका प्रतिद्वन्द्वी छन् । ठूला भनिएका यी पार्टीहरुले थारु बाहुल क्षेत्रमा थारुलाई उम्मेदवार बनाउन सकेनन् । नयाँ शक्ति पार्टीको तर्फबाट भने कृष्ण कुमारले आँखा चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् ।

‘चुनावको माहोल रहरलाग्दो छ । थारु बाहुल क्षेत्र रहेकाले यहाँका जनताले भोट दिएर सहयोग गर्नुहुन्छ,’ उनी भन्छन् । भेटघाट, छलफल, फोनमा उनी अत्यधिक व्यस्त हुन्छन् उनी । चुनावमा लोभ लालच, डरधाक धम्कीको गलत संस्कृति नै रहेका बेला उनी भने आफ्ना अजेण्डाहरु प्रष्ट रुपमा लिएर भोट माग्दै गरेको बताउँछन् ।

उनले विकास र समृद्धिलाई प्रमुख अजेण्डा बनाएका छन् । त्यस्तै उत्पीडित जाति, वर्ग, क्षेत्रको वकालत सधैं गर्दै आएका कृष्ण कुमारले त्यसलाई पनि आफ्नो अजेण्डा बनाएका छन् ।

कृषि, पर्यटन, भैतिक पूर्वाधार निर्माण, गरिबी, बेरोजगारी हटाउन सिर्जनशील कार्यक्रम पनि उनका अजेण्डाभित्र पर्छन् । नातावाद, कृपावाद, व्यापारीकरणमा अल्झिएको नेपालको राजनीति उदेकलाग्दो भए पनि युवाहरुले त्यसलाई परिवर्तन गनुपर्छ । देशको मूल नीति नै राजनीति भएकाले राजनीति सुधार नगरेसम्म देश नबन्नेमा उनी ढुक्क छन् । त्यसकारण युवाहरुको सक्रियतामा जोड दिनुपर्ने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published.