हेभीवेट उम्मेदवार आरजु होइन, म हुँ : नारदमुनि राना

दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी आरजु राणा देउवा मैदानमा छिन्। राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा समेत सक्रिय उनी युवाहरुमाझ विकासप्रेमी नेताका रुपमा चिनिन्छन्।

प्रधानमन्त्री-पत्नीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ?
म संयुक्त वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएकाले मलाई चुनाव लड्न कुनै किसिमको अप्ठेरो महसुस भएको छैन। मैले आफूलाई आरजुभन्दा हेभीवेट उम्मेदवारको रुपमा हेरिरहेको छु।

बहालवाला प्रधानमन्त्रीकै पत्नी तपाईंसँग भिड्दै हुनुहुन्छ, उनको जितका लागि सत्ताको प्रयोग/दुरुपयोग हुन सक्ने सम्भावना कस्तो देख्नुहुन्छ?
चुनावको बेला सत्ताको दुरुपयोग गर्ने नेपाली कांग्रेसको चरित्र हो। अहिलेसम्मका चुनावमा नेपाली कांग्रेसले सत्ताको गलत ढंगले उपयोग गरेको इतिहास छ। उनीहरुले चुनाव आयो कि सत्ता खोजी हाल्ने र सत्तामा गइसकेपछि सत्ता प्राप्तिका लागि राज्यको साधन, स्रोत र सबै कुराको चरम दुरुपयोग गर्ने गरेका छन्।

चुनावी अभियान कस्तो चलिरहेको छ त?
चुनाव प्रचार–प्रसारको साझा अभियनालाई तीव्रता दिएका छौं। गाउँ–गाउँमा, टोल–टोलमा प्रचारप्रसार कमिटी बनेका छन्। उम्मेदवार र मतदाताको सम्बन्धलाई नजिक बनाउन भेटघाट कार्यक्रम पनि गरिरहेका छौं।

आफूले चुनाव जित्ने आधार केके हुन्?
सबभन्दा बलियो आधार भनेको दुई वटा ठूलो पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक ठाउँमा उभिएका छौं। एकै प्लेटफर्मबाट चुनाव लडिरहेका छौं। हिजो फरक–फरक नामबाट चुनाव लड्दा प्राप्त गरेको उपलब्ध अहिले सँगै लड्दा निश्चित रुपमा दुई गुणा भएको छ। म यहाँको स्थानीय भएको नाताले यहाका दाजुभाइ, दिदिबहिनी, उद्योग व्यवसायी, बुद्धिजीवी, पेसाकर्मी, किसानहरु सबैले राम्रोसँग चिन्छन, माया गर्छन्। यसैले पनि मेरो उत्साह बढिरहेको छ। उहाँहरुको माया र सद्भाव नै मेरो जितको आधार हो।

साबिक धनगढी नगरपालिकाको उपमेयर हुँदा र २०६४ सालमा सामानुपातिकतर्फबाट यस निर्वाचन क्षेत्रबाट सांसद हुँदा मैले जनतालाई देखिनेगरी केही उल्लेखनीय काम गरेको छु। शिवनगर खानेपानी आयोजना, शिव निमावी, मुक्त कमैया शिविरमा एउटा विद्यालय, बेलीको विद्यालयमा भवन निर्माण गर्न लगायत मैले गरेका काम हुन्। गरिब बस्ती, पछाडि परेका ठाउँमा र शिक्षा क्षेत्रमा मेरो योगदान जनताले भुलेका छैनन्।

घरदैलो अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो?
मतदाताहरुले हामीलाई खबरदारी गरिरहेका छन। २०४८ सालदेखि यो क्षेत्रमा पटक–पटक नेपाली कांग्रेसलाई जिताए पनि केही पनि गर्न नसकेको गुनासो गरिरहेका छन् उनीहरु। अब दुई वामपन्थी एकै ठाउँमा आएपछि आम मतदाताले पनि वामपन्थी सरकार बनाउनुपर्छ भन्ने गरेका छन्। वामपन्थी सरकार नबनेकै कारण देशमा शान्ति, सुरक्षा, आर्थिक अवस्था कमजोर, विकासका मुद्दा ओझेलमा परिरहेको, गरिब, सुकुम्बासी, मुक्त कमैयाहरुको अहिलेसम्म उचित व्यवस्था हुन नसकेको मतदाताहरुले गुनासो गरेको मैले पाएँ।

यस क्षेत्रका मुख्य समस्या केके हुन्?
कैलाली जिल्ला विकासको सम्भावना बोकेको क्षेत्र भए पनि औद्योगिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको समस्याको पहिचान गर्न नसक्दा जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिएको छैन।

कैलालीका वास्तविक रुपमा थुप्रै समस्या छन्। जुन हिसाबले सहरी विकास हुनुपर्थ्यो त्यो भएको छैन। सबै गाउँबस्तीमा शुद्ध खानेपानी पुग्न सकेको छैन। शिक्षामा अझै पनि धेरै मान्छेको पहुँच छैन।

निर्वाचित भएपछि यस क्षेत्रमा तपाईंले गर्ने कामहरु केके हुन्?
कैलाली-५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागि नै म खट्नेछु।कैलालीको धनगढी विमानस्थल र गौरिफन्टा नाकाको स्तरोन्नति पहिलो प्राथमिकता हुनेछ। कैलाली ७ नम्बर प्रदेशको व्यापारिक नाका भएकाले यसलाई औद्योगिक क्षेत्र बनाउन पहल गर्नेछु। यस क्षेत्रको कृषिलाई आधुनिकीकरण बनाउने, शिक्षा क्षेत्रको विकृति अन्त्य गरी कैलालीलाई शैक्षिक हब बनाउने, हरेक घरमा शुद्ध खानेपानी पुर्याउन रणनीतिक योजना तयार गर्नेछु। पर्यटनको प्रवर्द्धन, लोपोन्मुख जातिहरुको सूचीकरण, मुक्त कमैया, मुक्त कम्लरीको पुनःस्थापना गर्ने योजना छ।

शेरबहादुर ऐरसँगको कुराकानी

 

Leave a Reply

Your email address will not be published.