चन्द्रकिशोर।
सन्दर्भ – १
सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विशाल र्याली थियो, ७ भदौ २०७२ का दिन । त्यसमा विभिन्न जातीय संगठनसँगै मुस्लिम संगठनहरूको पनि सहभागिता थियो । शिवसागर चोकनजिक फोटो खिच्न एउटा घरको छतमा पत्रकारहरू बसेका थिए । माथिबाट तल सडक भएर गुज्रिएको भीडको फोटो खिच्दा बढी भीडका टाउकोहरूको नै फोटो आइरहेको थियो । यत्तिकैमा पत्रकार सन्तोष सिंहको क्यामेरामा एउटा घरेलु हतियारसहित दाह्रीवाल मुहारको फोटो आयो, उनले तुरुन्त त्यसलाई क्लिक गरे । किनकि त्यो अरूभन्दा भिन्न थियो ।
पत्रकार सिंहले त्यो फोटो त्यतिवेला राजधानीबाट प्रकाशित एक दैनिकमा पठाए । भोलिपल्ट छापियो, जसमा त्यो फोटो प्रथम पृष्ठमा पठाएकै क्याप्सनसहित थियो । तर कुरा यतिमै टुंगिएन । उक्त दैनिकको अनलाइन संस्करणमा उक्त फोटो प्रयोग गर्नुभन्दा पहिले नै काठमाडांैको डेस्कमा कार्यरत एक पत्रकारले त्यसलाई आफ्नो ट्विटरमा हाले । र, क्याप्सन यसरी लेखे, ‘यी हुन् टीकापुरका निहत्था आन्दोलनकारी’ । सोही दिन कैलालीको टीकापुरमा थारू आन्दोलनको क्रममा आठ जना मारिएका थिए । काठमाडाैँको डेस्कमा कार्यरत पत्रकारले असंलग्न जिल्लाबाट पठाएका फोटोलाई टीकापुर काण्डसँग जोडेर बदनियतवस् सामाजिक सञ्जालमा प्रयोग गरे । जुन फोटो सामाजिक सञ्जालमा भाइरल भयो । जिल्लामा कार्यरत पत्रकारले आफू कार्यरत राजधानीस्थित सञ्चारमाध्यममा पठाएको फोटो सम्बन्धित मिडिया प्रतिष्ठानको कुनै पनि माध्यममा छापिनुभन्दा पहिला नै त्यो फोटो सामाजिक सञ्जालमा प्रयाेग भयो ।
सन्दर्भ – २
भारतको गुजरातमा सन् २००२ मा भएको दंगाका चेहरा बनेका, हात जोडेका, आँखामा आँशु भरिएको र डराएको अनुहार, प्रहरीसँग गुहार माग्दै गरेको कुतबुद्दिन अन्सारीको तस्बिर । अर्को त्यही गुजरात दंगासँग जोडिएको अर्को तस्बिर, जसमा एउटा दाह्रीवाल मान्छे हातमा फलामको रड लिएको, टाउकोमा गेरुवा कपडा बा“धेको र अत्यन्त उग्र मुद्रामा रहेको अशोककुमार अर्थात् अशोक परमार (मोची) । यी दुइटै तस्बिर गुजरात दंगाबारे अलिकति पनि खोजबिन गरियो भने देखापर्छ ।
पहिलो फोटो फोटोग्राफर औरको दत्ता र दोस्रो सेवास्टियन डिसूजाले खिचेका हुन् । कुतबुद्दिन अन्सारी र अशोककुमारका यी तस्बिरले तिनका छवि जनमानसमा दुई विपरीत धारका रूपमा स्थापित गरिदिएका छन्, कुतबुद्दिनलाई गुजरात त्रासदीको चेहरा र अशोककुमारलाई एउटा हिंस्रक व्यक्तिका रूपमा । सन् २००५ मा त्यहा“को सेसन कोर्टले अशोकलाई दंगा सम्बन्धित मुद्दाबाट रिलिज पनि गरिदिएको छ ।
दलित जातिको अशोकको दैनिकी नै सडक हो र अत्यन्त सामान्य रूपमा उनको दैनिकी चल्छ । उनी लामो समयदेखि शाहपुर रोड अहमदावादमा जुत्ता मर्मतको काम गर्दै आएका थिए । तर जुन दिन त्यहा“ गोधराकाण्डलाई लिएर उग्र भीडले सडकमा उत्पात मचाउन थाल्यो । उनी र उनको पसल पनि भीडको चपेटामा करिब आइसकेको थियो । भनिन्छ, भीडको आक्रोशबाट जोगिन अशोकले आफूलाई भीडमा समाहित गराए । टाउकोमा गेरुवा कपडा बाँधे र हातमा रड लिएर उफ्रिन थाले । त्यहा“ तिनको भेट फोटो पत्रकार डिसूजासँग भयो र उनले तिनलाई अनुहारमा आक्रोश प्रदर्शित गर्न आग्रह गरे, जो फोटो गोधराको प्रतिशोधको प्रतिनिधि तस्बिर बन्न गयो । यसरी फोटोले कसरी मान्छेको जीवनमा असर पार्छ त्यसको उदाहरण बनेको छ, कुतबुद्दिन र अशोककुमार । एक पोज फोटोकै कारण उनीहरूले वैयक्तिक जीवनमा अनेकाैँ अवसर गुमाए, जोखिम र चुनौतीहरू व्यहोरे ।
नेपाल सन्दर्भ
धन्य पत्रकार सन्तोषले खिचेको फोटोमा अनुहार प्रस्ट नहुँदा सर्लाहीका ती संघर्षशील नागरिकलाई टीकापुरको सन्दर्भसँग जोडिएर कुनै जोखिम व्यहोर्नु परेन । तर थारू आन्दोलनलाई कलंकित गर्न त्यो फोटोलाई दुरुपयोग गर्ने मनसाय राखेकाले केही समयका लागि हिट भए । यहीँनेर जोडिन पुग्छ, विभिन्न समुदाय र क्षेत्र विशेषको आन्दोलन र नेपाली मिडियामा संलग्न जमात तथा तिनका माध्यमको भूमिकाको लेखाजोखा ।
नेपाली समाजमा विभिन्न समुदायबीच सामञ्जस्यभन्दा ध्रुवीकरण ल्याउन पत्रकार र पत्रकारिताले के भूमिका खेलेका हुन् ? नेपाली मिडियाको एउटा हिस्साले आफ्नो मुख्य कार्यभार खबर दिनु होइन, खबर बेच्ने ठान्छन् । खबर दिनु भनेको एउटा जिम्मेवारीको काम हो । त्यससँग केही मूल्य र मानवीय क्रिया गा“सिएको हुन्छ । खबर बेच्नु भनेको एउटा निर्वैयक्तिक क्रिया हो । विभिन्न पहिचानधर्मी जनताका संघर्ष जोडिएका पक्षहरूबारे मिडियाले खबर दिनुभन्दा पनि खबर बेच्ने बाटो रोज्यो । तिनले आन्दोलनभित्र तिनै पक्षहरूको खोजी गर्थे, जसमा तेल–मसला छर्किएर एउटा फरक समुदायमा स्वादिलो परिकारको रूपमा बेच्न सकोस् । भनिन्छ, खबरमा यदि एउटा मानवीय सूचना छैन भने, त्यो व्यावसायिक उत्पादन बन्छ र त्यसको सीमा त्यसलाई बेच्ने र किन्नेहरूको स्वार्थद्वारा निर्धारित हुन पुग्छ ।
मिडियाको यही हिस्साले समाजलाई दुई भागमा विभाजित गर्छ । एउटा त्यो जसको बारे लेखिन्छ र अर्को त्यो जसका लागि लेखिन्छ । मिडियाको नियति नै यस्तो भएपछि त्यहा“ कार्यरत जनशक्तिको बाध्यता र प्रवृत्ति समाचार बनाउने र बेच्नुमै सीमित हुन पुग्छ । उनको रोजीरोटी नै यस्तै बदनियतपूर्ण कामहरूलाई पूर्णता दिनमा हुन्छ । त्यहाँ कार्यरत जनशक्तिको भूमिका यस्तो हुन्छ, उसले यस्तो एउटा भ्रमको दुनियाँ खडा गरिदिन्छ, जहाँ यो फिजाइएको हुन्छ कि जे/जुन कुरा थाहा पाउन योग्य हो, त्यो कुरा पूरै इमानदारीका साथ प्रस्तुत गरिने गरिएको छ । जबकि यथार्थ फरक हुन्छ, जे कुरा थाहा दिन योग्य हो, त्यसलाई लुकाइएको हुन्छ ।
मधेशका सामान्य मानिसबारे पहाडमा वा पहाडका मानिसबारे मधेशमा जुन अनेकौं भ्रम छरिएका छन्, अनेकौं आशंका निर्माण गरिएका छन् र मधेशको अनुहार अशोककुमारको जस्तै गलत मनसायको बनाइएको छ, त्यसका पछाडि यिनै खबर बनाउने र बेच्नेहरूको जादुगरी खेल हो । यसैले त मधेशमा काठमाडौंका मिडियाबारे भनिन्छ, ‘पकती खबरमें अधकचरे सच्’ अर्थात् ‘पाक्दै गरेको खबरभित्र अधकल्चो सत्य ।’ दलनियन्त्रित पत्रकारहरूको कोशिस नै ‘पोलिटिकली अपरुब्ड’ सत्यलाई पस्किनु हुन्छ । यसले ती पत्रकार वा तिनी कार्यरत मिडियाको स्वार्थ त पूरा हुन्छ तर समाज मिडियाबाट टाढिँदै गएको हुन्छ । कतिपय अवस्थामा मिडिया नै दल वा समुदायको वर्चस्वको दाम्लोमा बाँधिएका हुन्छन् र त्यहा“ काम गर्ने पत्रकारको अवस्था ‘पानीका सामान्य जन्तुले गोहीसँग जोरी नखोज्ने’सरह हुन्छ ।
विमर्शको अर्को पाटो पनि छ । ल्याटिन अमेरिकी लेखक बोर्खेसको एउटा कथा छ, ‘फ्युन्स द मेमोरियस’ । कथाको नायकले अचानक एउटा यस्तो शक्ति प्राप्त गर्छ, जहा“ उसको स्मृतिपटलमा जीवनको शुरुवातदेखि आएका प्र्रत्येक शब्द, व्यहोरा, बिम्बको सम्झना आइरहन्छ । चेतनाको उद्भव विस्तार र ज्ञानको उर्लिँदो बाढीले उसलाई यति अन्तर्मुखी र रहस्यवादी बनाउँदै लग्छ कि अन्त्यमा ऊ मर्छ । नेपालका विभिन्न क्षेत्रमा भइराखेका आन्दोलनहरूको माध्यमबाट स्मृतिलाई ब्युँताउने काम भइराखेको छ, त्यसमा त्यस क्षेत्रमा क्रियाशील मिडिया र त्यसमा संलग्न जनशक्तिको एउटा हिस्सा त्यसको ‘बाहक’ बनेका छन् । कतै स्मृतिको शवसाधना वा जातीय गौरवको तथ्यहीन कल्पना त पस्किने गरिएको छैन भन्ने सवाल पनि विभिन्न कोणबाट उठ्ने गरेको छ ।
सूचना–खबर आगो पनि भइदिन्छ । त्यसैले त भनिन्छ, यसको शक्तिलाई बुझेर आदरका साथ उपयोग गर्न सक्नुपर्छ । हाम्रो सन्दर्भमा वर्चस्वशाली समूहको शक्तिलाई निरन्तरता दिने काममा रहेका मिडिया हुन् वा प्रतिरोधका स्वरलाई आकार दिने मिडिया होऊन्, रिक्तता दुवैतिर छ । यिनीहरूले आ–आफ्नो अनुुकूलको थिंक ट्यांकको नाममा यस्ता बौद्धिकहरूलाई प्रयोग गर्छन्, जसले माउसको क्लिक नै थिच्नु छ वा कन्ट्रोल कपी वा कन्ट्रोल पेस्टको बटन । थिंक ट्यांक एक प्रकारको यस्तो गिरोहजस्तो भएको छ, जो केवल निश्चित स्वार्थका लागि काम गरिरहेका हुन्छन् । कुनै पनि घटना दुवै पक्षले हेर्छन् र जसले जतिखेर मौका पाउँछन्, त्यतिखेर कैची चलाइदिन्छन् ।
समग्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कारणसम्म नपुगी यो समस्याको जग पत्ता लगाउन सकिँदैन । अर्थात् समग्र मुलुकको अवस्थालाई एकातिर पन्छाएर पत्रकारिता पेसाभित्रको समस्यालाई ‘विशेष’ ठानेर गरिने विश्लेषण अव्यवहारिक मात्र होइन, अर्थहीन पनि हुन जान्छ । तर पनि पत्रकारिता स्वयंले चाहे त्यो जुन क्षेत्र विशेषका होऊन्, तिनले आफ्नोबारे आफैं समीक्षा गर्नैपर्छ र यसलै मिडियालाई आफ्नो सकारात्मक नजरलाई पूरै ताकत, गम्भीरता र इमान्दारीपूर्वक राख्न थोरै भए पनि बल दिन्छ । पत्रकारितालाई जनताको आ“खा मानिन्छ, जसले सबैमाथि निगरानी राख्छ । कतिपय अवस्थामा आमनागरिकको आँखामा हालेर तिनलाई ब्युँझाउ“छ पनि । मूलतः पत्रकार समाजको चिन्तन प्रक्रियाको एउटा अनिवार्य तत्व हो, जसले समाजलाई दिशा र गति दिन महतवपूर्ण स्थान राख्छ । तर अधिकारवादीहरूको कोणबाट नेपाली मिडिया सिसाकै महलमा विराजमान देखिन्छ ।
अन्नपूर्ण टुडेबाट साभार