राजपा प्रवेश गर्दै लक्ष्मण थारुले भने- ‘टीकापुर घटनामा कांग्रेसी सरकार र बामदेवको ठूलो हात छ’

टीकापुर घटना अभियोगमा कैदी बनाइएका थरुहट नेता लक्ष्मण थारु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। चौधरीलाई राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले पार्टी प्रवेश गराएका थिए। फोरम लोकतान्त्रिकबाट धोका पाएर राजपा प्रवेश गरेको बताएपनि लक्ष्मण थारुले यसअघि नै जुलबाटै चिठी लेखेर विजय कुमार गच्छदार नेतृत्वको पार्टीबाट राजीनामा दिएका थिए।

कैलाली जिल्ला करागारमै पार्टी प्रवेश गरेका थारुले टीकापुर घटनामा तत्काली कांग्रेसी सरकार र बामदेवको ठूलो हात रहेकाे बताए। उनले टीकापुर घटनाका बेला आफू कोहलपुरको आमसभामा भएको र बाँकेकाे तत्कालीन सिडिओमार्फत् टीकापुर घटनाबारे थाहा पाएको बताए।

उनले भदौ ८ गतेको घटनामा डीएसपी विश्वराज खड्काको प्रत्यक्ष सहभागितामा निरु ट्रेडर्स र जनकराज चौधरीको घरमा आगो लगाइएको र सामान चोरिएको प्रमण आफूहरुसँग भएको बताए।

उनले मिडियाहरुप्रति आक्रोशित हुँदै भने, ‘मिडियाहरुले टीकापुर घटनाका हत्याराहरु, खुकुरी भाला रोप्नेहरु भन्दै हामीलाई बदनाम गरिरहेका छन्। खै कुन मिडिया हाउससँग हामीले हत्या गरेको प्रमाण छ? छैन भने हत्यारा किन भन्ने? अबका दिनमा पनि हत्यारा भनिए हामी अदालत जान्छौं।’

थरुहट आन्दोलनका अगुवा तथा थरुहट तराई पार्टी नेपालका अध्यक्षसमेत रहेका लक्ष्मण थारु ५ वर्षअघि फोरम लोकतान्त्रिक प्रवेश गरेका थिए। त्यतिबेला उनले थरुहट तराई पार्टी नै फोरम लोकतान्त्रिकसँग एकता भएको घोषणा गरेका थिए। तर पार्टीका अन्य पदाधिकारीहरु गोपाल दहितलगायतले त्यसको खण्डन गरेका थिए। पछि सो पार्टी भानुराम थारुले नेतृत्व गर्दै आएका थिए। पछि थरुहट तराई पार्टी पनि गच्छदार नेतृत्वको पार्टीसँगै एकता गरेको थियो।

Leave a Reply

Your email address will not be published.