पार्टी एकीकरणमा यसरी रोए गच्छदार [भिडियो]

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे ।

एकताको दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । देउवा र गच्छदारको बीचमा उभिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैको हात मिलाइदिएका थिए । एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको गच्छदारले बताए । उनले भने, ‘निःशर्त एकता घोषणा गरिएको छ ।’

कार्यक्रममा भावुक बनेका गच्छदारले एकताको विरोध ज-जसले गरे पनि कुनै परवाह नगर्ने बताए । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’ कांग्रेससँग पार्टी एकताको घोषणा कार्यक्रमका लागि प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहानैदेखि चहलपहल थियो । विगतमा कांग्रेसकै राजनीति गरेर मधेसकेन्दि्रत दल खोलेका गच्छदारलाई पुनः कांग्रेसमै फर्काउन पाउँदा कांग्रेस नेताहरु प्रफुल्ल मुद्रामा थिए । फोरम लोकतान्त्रिकका शीर्षनेताहरुको मुहार पनि हँसिलो थियो ।

पूर्वनिर्धारित समयभन्दा केही ढिलो एकता घोषणा कार्यक्रम सुरु भयो । मञ्चको अघिल्लो लहरमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको बीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका थिए ।

कार्यक्रममा देउवा र गच्छदारले एकतासम्वन्धी दस्तावेजमा हस्ताक्षर गरे । लगत्तै त्यसलाई सार्वजनिक गरियो । र, नेताहरुले एकअर्कासँग हात मिलाए । हात मिलाउन बीचमा उभिएर कांग्रेस नेता पौडेलले सघाए । विमलेन्द्र निधी र गच्छदारले त घ्वाप्लाक्कै अँगालो मारे ।

त्यसअघि कार्यक्रम सञ्चालन गरेका फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले एकताको दस्तावेज पढेर सुनाए । त्यतिबेलासम्म उत्साहजनक रहेको कार्यक्रमको माहोल जब गच्छदारको मन्तव्य सुरु भयो, तब एकाएक भावुक बन्यो ।

किनकि गच्छदार आफ्नो विगत सम्झिँदै कार्यक्रममै रोइदिए । गच्छदारले आँसु झार्दा कांग्रेसका अन्य नेताहरु पनि भावुक बने । गच्छदारले आँसु पुछे । पानी पिए र फेरि बोल्न सुरु गरे ।

तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले बालुवाटारस्थित प्रधानमन्त्री निवासमै आफूलाई पार्टी नत्याग्न सम्झाउँदा सम्झाउँदै पनि आफूले फोरम पार्टी खोलेको स्मरण गर्दै उनले भने, ‘उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ ।’

गच्छदारले थपे, ‘मैले विगतमा रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु । मलाई अहिले विरोधको कुनै पर्वाह छैन, हामी लोकतन्त्र जोगाउने अभियानमा छौं ।’

कम्युनिष्टहरुले लोकतन्त्र सिध्याउन लागेकाले कांग्रेससँग निशर्त पार्टी एकता गरेको गच्छदारले तर्क गरे । वाम गठवन्धनलाई चुनावमा बहुमत ल्याउन नदिने उदघोषसमेत उनले गरे । गच्छदारले अबको सरकार लोकतान्त्रिक गठबन्धनको बन्ने दाबीसमेत गरे ।

एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको जानकारी दिँदै गच्छदारले भने, ‘लोकतन्त्र जोगाउन निःशर्त एकता घोषणा गरिएको छ ।’

Leave a Reply

Your email address will not be published.