युवा व्यवसायी सुरेन्द्र चौधरीले १४ करोडको होटल बनाउँदै

चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण प्रक्रियामा रहेको छ । 

नारायण नदी किनार क्षेत्रमा दशकट्ठा साढे १७ धुर जग्गामा ‘होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटलको निर्माणको काम सुरु भइसकेको छ । अहिले डिपिसीको काम भइरहेको होटल व्यवसायी चौधरीले जानकारी दिए । उनका अनुसार ३० वटा फुल एयरकन्डीसन सहितको सुविधा सम्पन्न कोठा, ३ सय क्षमता भएको सेमिनार हल, १ सय जना क्षमता भएको रेष्टुरेन्ट सहितको होटल निर्माण हुनेछ । होटल भित्रै स्वीमिङ पूल, फिट्नेस सेन्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ ।

यस्तै नारायणगढको पुलदेखि होटल सम्म दैनिक र्‍याफ्टिङको व्यवस्था, साईकिलीङ टुर, जीप सफारी, हात्ती सफारीलगायतको व्यवस्थापन गरिने हुँदा सोही अनुसारको संरचनाहरु निर्माण भइरहेका छन् । होटल परिसर भित्रै मनि एक्सचेन्ज काउण्टर, एटीएमको व्यवस्थापन हुने गरी होटलको संरचना तयार भइरहेका छन् ।

पाँच महिना भित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल संचालनमा ल्याउने तयारी भइरहेको छ । नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा स्थापीत हुन लागेको होटल ग्रीन भिल्ला संचालनमा आए कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । होटल परिसरमा व्यूटिफुल गार्डेन, योगा सेन्टर, भ्यू टावर समेत निर्माण हुँदैछ ।

पाँच महिना भित्र होटल संचालनमा ल्याउने तयारी अनुसार निर्माणको काम धमाधम भइरहेको व्यवसायी महतोले जानकारी दिए। यो योजना सुरु भएलगतै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम सुरु गर्ने तयारी छ । पश्चिम चितवनको पटिहानी स्थित राप्ती नदी किनार नजिकै होटल निर्माणकै लागि ४ विगहा १ कठ्ठा जग्गा खरिद गरिसकेका छन् ।

पश्चिम चितवनमा मात्रै करिब ६० करोडको लगानीमा होटल निर्माण गर्ने योजना छ । यो होटल पनि चितवनकै नमुना र सुविधा सम्पन्न होटल बनाउने पूर्व योजना अनुसार जग्गा खरिद गरिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.