प्रदीप लेखी।
प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी आफ्ना बुबाजस्तै धर्मात्मा थिइन्। जब राजकुमारी तन्नेरी (जवान्) भइन् त्यसपछि राजाले उनका लागि राजकुमार खेज्न थाले। जब यो कुरा राजकुमारीले थाहा पाइन्, तुरुन्तै विवाह नगर्ने प्रस्ताव बबा समक्ष राखिन्। राजकुमारी मसवासीले भनिन्, ‘मलाई राजमहलभन्दा बाहिर कुटी बनाइदिनुस्। म त्यही कुट्टीमा बस्छु र भग्वानको जप, भजन, कीर्तन गरेर बस्छु।’ यो प्रस्ताव छोरीको मुखबाट राजाले सुन्दा सुरुमा आश्चर्यचकित भए। राजाले आफ्नी छोरीलाई धेरै सम्झाए। राजकुमारी मसवासीले हठ नछोडेपछि राजाले छोरीका लागि सबै व्यवस्था गरिदिए। त्यसपछि मसवासी आफ्नो कुटीमा बसेर सन्यासी जीवन बिताउन थालिन्।
मसवासी सधैं सूर्य उदाउनु अगावै अँध्यारोमै उठ्थिन् र नदीमा नुहाएर दैनिक पूजापाठमा लिन भएर बस्थिइन्। मसवासीले कुनै पुरुष मान्छेको मुखसम्म हेर्दैन थिइन्। यसरी नै समय वितिरहेको थियो। एक दिन संयोगबस मसवासी उठ्न ढिलो भयो जसका कारण उनी नदीबाट नुहाएर फर्किदाफर्किँदै सूर्य उदय भयो र सूर्यको प्रकाश मसवासीको शरीरमा पर्यो। मसवासी गर्भवत्ती भइन्। यो कुरा एक कान दुई कान मैदान हुँदै राजाको कानसम्म पुग्यो।
राजाले यो कुरा सुनेर दुःखित भए पनि उसको केही लागेन। मसवासीले एउटा सन्तानको जन्म दिइन्। बालक एक्दमै बिलक्ष्ण प्रतिभाको निस्किए। समय बित्दै गएपछि बालक पनि ठूलो हुँदै गयो। छिमेकीका अन्य बच्चासँगै ऊ पनि खेल्न थाल्यो। त्यो बालकले कुनै कुरामा अरु बच्चाहरुलाई जित्न दिँदैनथ्यो। त्यसैले सबैले उनलाई बिना बाउको छोरा जितुवा भनेर गाली गरेर बोलाउँथे। एक दिन सबै बच्चा जितुवालाई हराउने योजनाअनुसार अन्धा अन्धीको खेलको संरचना तयार गर्यो। जसको नियम थियो- आमाको नाम लिएर अन्धा अन्धीको घरमा छिर्ने र बुबाको नाम लिएर बाहिर निस्किने। त्यो खेलमा पनि जितुवाले भाग लिए। आफ्नो आमाको नाम लिएर त्यो घरमा छिर्यो तर उसलाई बुबाको नाम थाहा नभएकाले जितुवा घरबाट बाहिर निस्कन सकेन। ऊ घरमै थुनिए। सबै केटाहरु उसलाई हाँसोमा उडाए र भन्नथाले हेर न बिना बाउको छोरा अब घरभित्रै रहन्छ। केही साथीले जितुवाको घरमा गएर उसका आमा मसवासीलाई भने। कुरा सुन्नेवित्तिकै मसवासीलाई साह्रै दुःख लाग्यो। मसवासी कुदेर आफ्ना छोरा कहाँ पुगिन् र भनिन् तिम्रो बुबाको नाम सूर्य हो, त्यसपछि जितुवा बुबाको नाम लिएर त्यो घरबाट बाहिर निस्किए। तर जितुवा बुबा सूर्य हो भनेर कसैलाई विश्वास हुँदैन थियो। त्यसकारण जितुवा बुबालाई भेट्ने संकल्प गरे र यो प्रस्ताव आफ्ना आमा कहाँ राखे। तर आमाले जितुवालाई धेरै सम्झाए कि तिमी आफ्नो बुबानिर जान सक्दैनौं। तिमी गायौं भने जलेर भष्म हुनेछौं त्यसैले तिमी नजाउ।
जितुवा आफ्नो अड्डी छोडेन। ऊ एकदिन बुबालाई भेट्न निस्कियो। केही दिनको यात्रापश्चात् पनि जितुवा आफ्नो बुबालाई भेट्न नपाउँदा भौतारिन थाल्यो।
सूर्यले सोच्यो कि ऊ मकहाँ आइपुग्यो भने जलेर भष्म हुनेछ। त्यसैले सूर्य भग्वान मानवको भेषमा जितुवालाई दर्शन दियो। सोध्यो- ए बाबु तिमी कहाँ छौं र तिमी कहाँ जान लागेको? जितुवाले आफ्ना सबै बृतान्त सुनाए। त्यो मान्छेले उनलाई घर फर्किन आग्रह गर्योय। त्यहाँ गए जलेर भष्म हुने चेतावनी पनि दियो। तर जितुवाले आफ्नो अड्डी छोड्न तयार भएन। उसले म भन्यो बाबु म नै तिम्रो बुबा हो। म नै सूर्य हुँ। म तिम्रै लागि तिम्रै हठका कारण यहाँ आएको हुँ। अब फर्क घर जाउ। अनि जितुवाले भन्यो ठीकै छ म फर्कन्छु अनि घर पनि जान्छु तर मलाई कसले विश्वास गर्छ कि जितुवा आफ्नो बुबालाई भेटेर आएको हो? सूर्यले जितुवालाई आशिर्वाद दिँदै भन्यो- पृथ्वीलोकमा तिमीले सबैतिर हल्ला फिजाइदिनु कि अबदेखि कुनै विवाहित नयाँ दुलहीले आश्विन कृष्णपक्ष सप्तमी शनिबार नुहाएर पूजापाठ गरी (ल्याहा) अष्ठमीमा निराहार वर्त (उपास) र नवमी सोमबार पूजापाठ गरी वर्त तोडेर अन्न ग्रहन गर्नु (पारन)। अर्थात् शनिबार (खर दिन) जसले यो वर्त लिन्छ उसको जितिया सफल हुनुका साथै उसको फलिफाप हुनुका साथै उसका सन्तान वीर पराक्रमी, साहसी हुनेछ। आजदेखि तिम्रो नाम जितुवा होइन जित्महान हुनेछ।
जितुवाले आफ्नो बुबाको कुरामा बिश्वास गर्दै आफ्नो घर फर्कियो। उसले सबैतिर यो हल्ला फिजाइदियो। पछि जितिया शनिबार नै पर्न गयो र त्यो राज्यका सबै नवदुलही महिलाहरुले नियम र निष्ठापूर्वक जितिया वर्त गरे। तत्पश्चात् सबैको फलिफाप भएको किंबदन्ती छ। त्यसैले थारु समुदायका महिलाहरुले यो पर्व जितियाको रुपमा मनाउँदै आएका छन्।