उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँग आचारसंहिता उल्लंघन गरेकाले किन कारबाही नगर्ने भन्दै २४ घण्टाभित्रमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारको पार्टीका नेता एवं कार्यकर्ताहरूले वीरगन्ज महानगरपालिकामा २०-२५ वटा गाडी र सयवटा भन्दा बढी मोटरसाइकलसमेतको र्याली निकाली निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा सूचना आएपछि आयोगले स्पष्टीकरण सोधेको प्रवक्ता नवराज ढकालले बताए ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत वीरगन्ज महानगरपालिकाका लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी रद्द गर्न नपर्ने कारण पनि पेस गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published.