थारु महिलाको पर्व जितियामा सार्वजनिक विदाको माग

कारी महतो/चितवन।
यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक छ । महिलाहरु गाउँको एक ठाउँमा जम्मा भई झमटा नृत्य गर्ने र अरु साँस्कृतिक नाचहरुको तयारी गर्ने गरिएको देखिन्छ । हरेक वर्ष आश्विन कृष्णपक्षको अष्टमी तिथिमा मनाउने जितिया पर्व यसवर्ष भने भदौ २८ गते परेको छ ।

सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाउने पर्वमा भने चितवनको शहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा अध्ययनरत रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवारकी सुस्मा चौधरी आफू जितिया मनाउन नपाउने बताईन । जितियाकै दिन सुस्माको स्नातक तह मानविकी प्रथम पर्वको पपुलेसन विषयको परीक्षा परेको छ । उनी भन्छिन् “हामीले मनाउने चाडपर्वहरुमा परीक्षा नराखिदिएको भए हुन्थ्यो, पढाई पनि नभैदिएको भए हुन्थ्यो, विदा भैदिएको भए हुन्थ्यो, तर हाम्रो कुरा कसैले सुन्दैनन्”

चितवनकै भुवानी शंकर बहुमुखी कलेजमा स्नातक तहको शिक्षा शास्त्र प्रथम वर्षमा अध्ययनरत खैरहनी नगरपालिका वडा नं. ७, मझुईकी दीपा चौधरीको पनि त्यस्तै गुनासो छ । जितियाकै दिन उनको इभ्यालुएसन अफ एजुकेशन विषयको परीक्षा परेको छ । उनी भन्छिन् “अरु सबै साथीहरु जितिया मनाउँछन् तर मैले यसपाली मनाउन नपाउने भएँ” परीक्षा बारे दीपाले भनिन् “मुस्लिम समुदायले मनाउने इदकै दिनमा पनि परीक्षा परेको थियो तर त्यसदिनको परीक्षा स¥यो तर हाम्रो चाहि के हुन्छ थाहा छैन”

दीपासँगै एउटै कक्षाकोठामा पढ्ने खैरहनी नगरपालिका वडा नं. ७, सुल्तानाकी अनुमा चौधरी र वडा नं. ९ बस्यौलीकी सरस्वती चौधरीको पीडा पनि उस्तै छ । वर्षदिनको चाडमै जितियामै परीक्षा राखिएकोले आफूहरु विभेदमा परेको उनीहरुले बताए । उनीहरुले भने “हाम्रो कक्षामा अधिकांश थारु विद्यार्थीहरु नै छन् त्यसमध्ये ३५ जना भन्दा बढी थारु महिला विद्यार्थीहरु नै छौं ।”

मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं. २ निवासी लक्ष्मी कुमारी मण्डल जितिया पर्व थारु समुदायकी मात्र पर्व नभई मधेसी महिलाहरुको पनि ठूलो चाड भएकोले यति धेरै जनसंख्याका जनताले मनाउने चाडपर्वलाई शासकवर्गहरुले जहिलेसुकै अपमान गरेको कुरा बताइन् । उनले भनिन् “तीजमा तीन दिनसम्म स्कुल क्याम्पसमा विदा हुँदा हामीले मनाउने पर्वमा परीक्षा राखिनु ठूलो विभेद हो ।”

थारु महिलाहरुका साथै मिथिलाञ्चलका सम्पूर्ण महिलाहरु जितिया पर्वमा श्रीमान् र छोराछोरीका लागि ब्रत बस्ने गरेको कुरा महोत्तरी जिल्ला निवासी अभिषेक कुमार झा बताउँछन् । यति ठूलो संख्याका महिलाहरुले मनाउने पर्वमा विभेद अझै कायम रहिरहँदा तराई मधेशमा अझै अधिकारसहितको लोकतन्त्र नआएको तराई मधेशका जनता बताउँछन् ।

जितिया पर्वमा थाविसद्वारा सार्वजनिक विदाको माग
थारु विद्यार्थी सभाको केन्द्रीय समितिले थारु समुदायले आफ्नो ऐतिहासिक र साँस्कृतिक पर्व जितियालाई उत्साहपूर्वक मनाउन पाउने अधिकारबाट बञ्चित गरिएकोमा नेपाल सरकारलाई ध्यानाकार्षण गराउँदै जितिया पर्वको अवसरमा सार्वजनिक विदाको घोषणा गर्न माग गरेको छ । केन्द्रीय अध्यक्ष संजय चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत यहि मिति २०७४ भदौ २८ गते परेको तराईवासीको महान पर्व जितियाकै दिन त्रिभुवन विश्वविद्यालयले बिए र बि एड प्रथम वर्षको परीक्षा राखेकोले त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकार्षण भएको थारु विद्यार्थी सभाले जनाएको छ ।

चितवनका निजी विद्यालयहरुले पनि हरेक वर्ष जितिया र पितृऔंसी (यमोसा) पर्वमा परीक्षा राख्ने गरेको छ । थारु अधिकारकर्मीहरुले हरेक वर्ष यस विषयमा कुरा उठाए पनि निजी विद्यालयहरुले पेलेरै भए पनि परीक्षा राख्ने गरेका छन् । भविष्यमा कुनै उच्छृङ्खल समूहले निजि विद्यालयहरुमा नराम्रो गतिविधि गरेको खण्डमा यसको जवाफदेहि को हुने कुरामा भने सरोकारवालाहरु अनभिज्ञ छन् ।

Leave a Reply

Your email address will not be published.