विजय चौधरीका घनिष्ठ साथी नै ‘अपहरणकारी’

विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन्। १४ वर्ष भयो यी दुवैको घनिष्ठ मित्रताको। काठमाडौंको शान्ति शिक्षा माध्यामिक विद्यालयमा उनीहरू सँगसँगै पढे। चौधरी हार्डवेयरको व्यापारमा लागे भने विश्वकर्माले मार्बलसम्बन्धी काम गर्न थाले।

रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे। बुटवलका चौधरी काठमाडौं, नयाँबजारमा हार्डवेयर पसल चलाएर बसेका थिए। गत बिहीबारको घटनापछि भने दुवैको मित्रता टुंगिएको छ। एकअर्काबीच चौधरी पीडित भएका छन् विश्वकर्मा पीडक।

‘हामी दुवैको सम्बन्ध राम्रो थियो, मलाई पर्दा उसले, उसलाई पर्दा मैले सहयोग गर्थें,’ विश्वकर्मासँगको सम्बन्ध खुलाउँदै चौधरीले भने, ‘सातामा २ दिन सधैंजसो मेरो डेरामा आइरहन्थे उनी।’

गत बिहीबार विजयका पाँच वर्षीय छोरा विशाल अपहरणमा परे। प्रहरीको दबाबका कारण पाँच दिनपछि विशाल सकुशल मुक्त भए। विजयको घरमा खुसी फर्कियो। तर, पनन उनको मन अमिल्लिएको छ। किनकी आफ्ना छोराको अपहरण योजनामा उनै बाल्यकालदेखिका साथी विश्वकर्मा संलग्न भएको खुल्यो।

विशाललाई अपहरण गरी ५० लाख रुपैयाँ फिरौती असुल्ने योजनामा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली विश्वकर्माको खोजीमा छ। विश्वकर्मा परिवारसहित फरार छन्। ‘ऊ नै अपहरणकारी हो भनेर मनले मानेको छैन,’ चौधरीले भने, ‘तर अहिलेसम्म घटनामा ऊ नै संलग्न देखिएको छ।’

अपराध महाशाखा एसएसपी दिनेश अमात्यलेे बालक मुक्त भएपछि अपहरणमा संलग्नको खोजी जारी रहेको बताए। केही व्यक्तिको पहिचान भइसकेको तर उनीहरू पक्राउ नपरेकाले अहिले नै यसै हो भन्न सक्ने अवस्था नरहेको उनले बताए।

….

काठमाडौं, पकनाजोलस्थित सरस्वती विद्यालयमा पढाइ सकाएर बाहिरिने क्रममा विशाल एक परिचितको मोटरसाइकलमा चढेका थिए। तर, उनी त्यो दिन घर फर्किएनन्। बाबु विजय छोरालाई लिन स्कुल जाँदा पहिल्यै गइसकेको खुल्यो।

डेरामा फर्कंदा छोरा थिएनन्। अप्रिय घटनाको भयले उनको ओठमुख सुक्यो। तत्काल प्रहरीलाई खबर गरे। प्रहरीले विद्यालयको क्लोज सर्किट टेलिभिजनमा हेर्दा विशाल हाँसीखुसी मोटरसाइकलमा चढेर गएको देखियो।

यो दृश्यसँगै बालक परिचितसँग गएको त खुल्यो तर त्यो को हो खुलेन। तत्काल कसैले फिरौती नमागेकाले अपहरणमा परेको हो या अन्त कतै गएको भन्ने पनि यकिन हुन सकेन।

चौधरी परिवार छोरा हराएको तनावमा थियो। तानवले रक्तचाप बढेर विजय बेहोस हुँदा उनै विश्वकर्माले अर्का परिचितसँगै क्षेत्रपाटी अस्पताल लगेर उपचार गराएका थिए। बालक हराएको दिन विश्वकर्माले विजयको साथ छाडेनन्। प्रहरीमा उजुरी गर्न जाँदासमेत विश्वकर्मा विजयसँगै थिए।

शनिबार विजयलाई फोन आयो। फोनबाट ५० लाख रुपैयाँ फिरौती मागिएको थियो। अब बालक कतै चिनजानका व्यक्तिसँग छन् कि भन्ने आशा टुट्यो। अपहरणमा परेको पक्का भयो। फोन गर्नेको स्वर परिचित झै लागे पनि विजयलेे ठम्याउन सकेनन्।

प्रायः डेरामा आउजाउ गर्नेहरूबाटै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानमा विश्वकर्मा शंकामा परेका थिए। तर अपहरण भएको दिन उनी विजयसँगै भएकाले शंकाको सुविधा पाए ।

परिचितबाट हुने अपहरणमा अपहरितको ज्यान जोखिममा पर्छ। त्यसैले प्रहरी तत्काल अपहरणकारीलाई पक्राउभन्दा बालक राखेको स्थान पहिचान गरी उद्धार या दबाब बढाएर अपहरणमुक्त गराउने रणनीतिमा केन्द्रित भयो।

फिरौती माग्न प्रयोग गरिएको फोनको लोकेसन काठमाडौंभित्रैको भएकाले प्रहरी अपहरणकारी उपत्यकामै रहेकोमा ढुक्क थियो। दबाब बढ्दा बालकलाई उपत्यकाबाहिर लैजान सक्ने भएकाले सबै नाकामा बालकको तस्बिरसहित सर्कुलर जारी भइसकेको थियो।

शुक्रबार बेलुका हिँडेका विश्वकर्मा शनिबार फर्किएनन्। आइतबार विजयले उनलाई फोन गरे। उनले म आउँछु भने तर आएनन्।

प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि बालकको अवस्था खुलेको थिएन। दुखद दुर्घटना हुने भयले प्रहरी र चौधरी परिवार दुवैको मन हुँडुलिएको थियो।

….

विजयको आइतबारको रात अनिँदो नै बित्यो। सोमबार बिहान ६ः१५ मा उनको मोबाइलको घन्टी बज्यो। फोनकर्ता प्रहरी थियो। एकाबिहानै आएको फोनबाट उनी झस्किए। ‘काँडाघारीको सडकमा तपाईंको छोरा फेला पर्‍यो।’ छोराको पीरले थलिएकी श्रीमतीलाई सुखद खबर सुनाइहाले उनले, ‘छोरा भेटियो रे।’

‘प्रहरीले दबाब बढाएपछि आत्तिएर अपहरणकारीले बालकलाई सडकमा ल्याएर छाडेका थिए,’ सोमबार अपराध महाशाखा प्रमुख दिनेश अमात्यले भनेका थिए, ‘बालक अपहरणमुक्त भएपछि घटनामा संलग्नको खोजी गरिरहेका छौं।’

प्रहरीले बालकको स्वास्थ्य परीक्षण गरायो। स्वस्थ थिए उनी। उनी विद्यालयको पोसाकमा थिएनन्। नयाँ लुगामा थिए। झोलामा पोसाक थियो, अनी चाउचाउ पनि। ‘अपहरण गरे पनि बालकलाई दुःख दिएका रहेनछन्,’ विलयले भने, ‘डेरामा राखेर खाना खुवाएछन्, राम्रोसँग राखेछन्। यसमा खुसी लाग्यो।’

‘केही शंकास्पद व्यक्तिको पहिचान गरेका छौं,’ एसएसपी अमात्यले भने, ‘अहिले सबै विवरण सार्वजनिक गर्नसक्ने अवस्थामा पुगिसकेका छैनौं।’ तर अनुसन्धानमा प्राप्त प्रमाण र तथ्यले भने अपहरणमा विश्वकर्माको संलग्नता पुष्टि गरिसकेको छ। पहिलो तथ्य उनी परिवारसहित फरार छन्। प्रहरीले अनुसन्धानका लागि विश्वकर्माका आफन्त तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। उनका भान्जा, भिनाजु र दिदीलाई हिरासतमा राखेर अनुसन्धान गर्दा भान्जा शंकास्पद देखिए। अन्य २ हिरासतमुक्त भइसकेका छन्।

दोस्रो तथ्य प्रहरी अनुसन्धानमा विजयसँग फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बर उनै विश्वकर्माको भएको खुलिसकेको छ। तेस्रो तथ्य प्रहरीले अपहरणमा प्रयोग भएको मोटरसाइकल फेला पारिसकेको छ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बालकको अपहरणमा प्रयोग भएको मोटरसाइकल उनले हाम्रो बजारडटकमबाट भाडामा ल्याएको खुलेको छ।

अपहरणकारीले विजयलाई फोन गरेर ‘तपाईंको छोराको अपहरण गर्ने उद्देश्य थिएन, झुक्किएको हो’ भनेर फोन गरे पनि घटनाक्रमले त्यसको पुष्टि गर्दैन। फेरि केही हुने हो कि भन्ने भयले छोरालाई विद्यालय पठाउन सकेका छैनन् विजयले। छोरा डेरामा सकुशल फर्किसकेका छन्। तर आफ्नै साथी अपहरणमा संलग्न भएको प्रश्नले विजयको मन हुँडलिन छाडेको छैन।

‘न मेरो जग्गा जमिन छ न ५० लाख पैसा दिनसक्ने आर्थिक अवस्था छ,’ विजयले भने, ‘यो सबै जानकारी भएको साथीले मेरो छोराको अपहरण किन गर्‍यो, छक्क परेको छु।’

केपी ढुंगाना/नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published.