विशाल चौधरीको अपहरण गरी ५० लाख फिरौती मागेको खुलासा

आपराधिक समूहले अभिभावकबाट ५० लाख असुल्न पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरीको अपहरण गरेको खुलेको छ। चौधरी परिवारसँग ५० लाख फिरौती रकम असुल्न आपराधिक समूहले क्षेत्रपाटीबाट बालकको अपहरण गरी काँडाघारीमा लगेर राखेका थिए।

प्रहरीले सोमबार बालकलाई अपहरणमुक्त गर्दै कुरुवा बसेका एकजनालाई पक्राउ गरेको छ। अपहरणका योजनाकार र संलग्न अन्य फरार रहेको भन्दै प्रहरीले अन्य विवरण सार्वजनिक गरेको छैन। ‘बालक सकुशल अपहरणमुक्त भएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले भने, ‘संलग्नहरूको खोजी भइरहेको छ, अन्य विवरण अनुसन्धान सकिएपछि सार्वजनिक गर्नेछौं।’

गत बिहीबार विद्यालयको पढाइ सकिएर बाहिरिने क्रममा विशाल अपहरणमा परेका थिए। उनलाई मोटरसाइकलमा आएका अपरिचितले लगेका थिए। पछि उनको बाबु विजय चौधरी उनलाई लिन विद्यालय जाँदा नभेटिएपछि परिवारले प्रहरीमा खबर गरेको थियो।

प्रहरीले विद्यालयको क्लोज सर्किट टेलिभिजनको दृश्य हेर्दा बालक हाँस्दै एक व्यक्तिसँग मोटरसाइकलमा चढेको देखिएपछि परिचितले नै उनलाई लगेको निष्कर्ष निकालेको थियो। बुटवलका चौधरी काठमाडौंमा किराना पसल चलाउँदै आएका थिए। उनी हराएको दोस्रो दिन चौधरी परिवारलाई फोनमार्फत ५० लाख फिरौतीको माग सुरु भएपछि उनी अपहरणमा परेको खुलेको थियो।

बालक अपहरणमा परेको खुलेपछि महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरले संयुक्त अनुसन्धान अगाडि बढाएको थियो। उनको अभिभावकसँग ५० लाख फिरौती मागेपछि प्रहरीले अभिभावकमार्फत अपहरणकारीमाथी दबाब बढाएका थिए। अभिभावकले आफ्नो आर्थिक क्षमता त्यत्रो नभएको भन्दै रकम घटाउन आग्रह गरेका थिए।

प्रहरीले फिरौती रकम माग्न प्रयोग भएको मोबाइल नम्बरका आधारमा लोकेसन पत्ता लगाएर खोजी तीव्र बनाएको थियो।
‘बालक अपहरणमा परेको पुष्टिसँगै उनको जीवनरक्षा र अपहरणमुक्त गर्नु निक्कै जोखिमपूर्ण थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘अपहरणकारी समूह नयाँ देखिएपछि चलाखीपूर्ण रूपमा दबाब बढाउँदा बालक अपहरणमुक्त भए।’

Leave a Reply

Your email address will not be published.