भोट हाल्दै गच्छदारले भने- ‘चुनावमा सहभागी नहुनु राजपाको ठूलो भुल’

उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले मुलुकले अब समृद्दि र विकासको फड्को मार्ने बताएका छन्। गच्छदारले दोस्रो चरणको स्थानीय निकायको चुनाव सकिएको र अब तेस्रो चरणको पूरा भएर प्रान्त तथा केन्द्रको चुनाव सकिएपछि राजनीतिक स्थायीत्व पनि हुने बताए।

‘स्थानीय निकायको चुनावले संविधान कार्यान्वयनलाई सहजता बनाएको छ,’ बुधबार नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले सुनसरी दुहवी वडा नं. २ को नवीन शिक्षा निकेतन निमाविमा मतदानपछि पत्रकारसँग कुराकानी गदैं भने।

उनले राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय निकायको चुनावमा सहभागी नहुनु ठूलो भुल गरेको बताए । ‘अब हुने तेस्रो चरणको चुनावमा राजपा सहभागी हुनेछ,’ उनले भने, ‘राजपालाई चुनाबमा सहभागी गराउन सरकार हदैसम्म लचकता अपनाउने छ।’

राजपाले संविधानप्रति असन्तुष्ट जनाउँदै आएको प्रसंगमा गच्छदारले कुनै पनि देशमा संविधान बनेपछि एकैपटक सर्वस्वीकार्य नभएको र त्यसमा आवश्यकता अनुसार संसोधन र परिमार्जन हुने गरेको बताए। ‘संविधानको केही बुँदामा त अहिले पनि मेरो असहमति कायमै छ । असहमतिलाई सम्बोधन गदैं जानुपर्छ,’ गच्छदारले भने।

Leave a Reply

Your email address will not be published.